थोरै विद्यार्थी लिन्छौं र १०० प्रतिशत सफल बनाउँछौं- राजन खड्का
नेपाली युवाहरु देशमा स्तरीय शिक्षाको अभाव देखाउँदै विदेशिने परम्पराले निरन्तरता पाइरहेको छ । देशमानै प्राविधिक र राम्रो शिक्षा उपलब्ध हुन नसक्दा युवा वर्ग अध्ययनका लागि विदेशिन बाध्य छन् । यसरी बाहिर गएर पढ्न चाहने विद्यार्थीहरुलाई परामर्श दिने र आवश्यक सहयोग गर्ने उद्देश्यका साथ आज विभिन्न कन्सल्टेन्सीहरुले सेवा विस्तार गरिरहेका छन् । तिनै कन्सल्टेन्सीहरु मध्येमा पर्दछ काठमाडौंको बागबजार स्थित ब्रेभ एजुकेशनल कन्सलटेन्सी पनि । यस कन्सल्टेन्सीले ९ वर्षदेखि जापान र अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदे आइरहेको छ । प्रस्तुत छ यसै कन्सल्टेन्सीका सञ्चालक तथा शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को कार्यसमिति सदस्य राजन खड्कासँग विकासन्युजका राजाराम न्यौपानेले गरेको कुराकानी :- राजन खड्का, सञ्चालक, ब्रेभ एजुकेशनल कन्सल्टेन्सी, बागबजार कन्सल्टेन्सी कस्तो खालको व्यवसाय हो ? यो सेवामुलक व्यवसाय हो । हामीले विद्यार्थीलाई विदेशमा अध्ययन गर्दा के हुन्छ, त्यहाँ गएर कसरी अध्ययन गर्ने, कस्ता खालका कोर्षहरु हुन्छन् र कति समयमा कोर्ष सकिन्छ भन्ने जस्ता कुरा बुझाउने हो । शैक्षिक परामर्शकर्ता भएको नाताले विद्यार्थीको शैक्षिक भविष्यको बारेमा उचित परामर्श दिने गर्दछौं । नेपाली विद्यार्थीहरु के कारणले विदेश अध्ययन गर्न जान्छन् ? नेपालमा राम्रो शिक्षाको व्यवस्था नभएर विदेश अध्ययन गर्न जाने गरेका छन । नेपालमै बसेर अध्ययन गर्दा रोजगारको अवसर पाइँदैन । कुनै पनि विषयमा मास्टर्स नै गरियो भने पनि सोर्षफोर्स विना काम पाउन गाह्रो छ । विद्यार्थीले पढ्न चाहेको कोर्सहरु पनि छैन । नेपालको शैक्षिक अवस्था पछाडी परेको कारणले नै विद्यार्थीहरु अध्ययनको लागि विदेशिने गरेका हुन् । नेपालमा पढ्ने कलेज नभएर नै नेपाली विदेश अध्ययन गर्न गएका हुन् ? नेपालमा हुँदै नभएको भन्ने त हैन । तर जति चाहिने हो त्यती छैन । नेपालमा पनि बिस्तारै त्यस्ता खालका कलेजहरु खुल्दै छन् । त्यसैगरी जति छने ती पनि सहरमा मात्रै केन्द्रित भएका छन् । विश्वमा बिक्ने खालको शिक्षामा पनि कमि छ । रोजगारी र सिपमुलक शिक्षाको पनि देशमा कमि छ । नेपालले विदेशमा विद्यार्थी पठाँउदा के पाउँछ ? नेपालबाट विद्यार्थी विदेशीएकोमा देशलाई घाटा छ । नेपालबाट अरबौं पैसा विदेशीइरहेको छ । देशका युवाहरुको श्रम अन्य देशले लुटिरहेका छन् । नेपालीहरुले बहिर गर्ने जति दुख नेपालमा गरेका भए देशमा आज धेरै परिवर्तन हुने थियो । अर्काे अर्थमा नेपालीहरुले विदेशमा गरेको अध्ययन, कामको अनुभव र सिपको प्रयोग यता आएर गरेमा देशको अवस्था चाँडै नै राम्रो बन्न सक्छ । नेपालबाट गएका विद्यार्थीहरु थोरै मात्र नेपाल आएको पाइन्छ । उतै बसेका विद्यार्थीहरुले के काम गर्छन् ? ग्रास लेबल, होटल, ड्राइभिंग, स्टोर र क्याफे लागायतका ठाउँमा काम गर्ने गरेका छन् । धेरै विद्यार्थी उतै नै बस्ने सपना बोकेर गएका हुन्छन् । उनिहरुले उतैको पिआर लिने गरेका छन् । नेपालबाट गएका विद्यार्थीहरुले नेपालको भन्दा त्यहाँको सबै कुरा राम्रो देख्ने गरेका छन् । नेपालले पनि त्यस्ता विद्यार्थीहरुलाई नेपाल फर्कने वातावरण निर्माण गरेको पाइँदैन । नेपाल आउँदा उसले जिरो बाट नै सुरु गर्नु पर्छ । तपाइँको विचारमा हाल नेपालमा कति कन्सल्टेन्सीहरु सञ्चालनमा होलान् ? मेरो विचारमा शिक्षा मन्त्रालयमा दर्ता भएका २ हजार जति कन्सल्टेन्सीहरु छन् । दर्ता बिना पनि सञ्चालन भएका धेरै छन् । त्यसमा कुनै दर्ताको प्रक्रियामा पनि छन् । यसरी हेर्दा नेपालमा हाल २५ सयको हाराहारीमा कन्सल्टेन्सीहरु हुनुपर्छ । सरकारले समय समयमा अनुगमन गर्ने गर्छ नि, किन होला ? आजभोलि पनि सञ्चार माध्यमहरुमा कन्सल्टेन्सीहरुलाई छापा मारेको कुरा आहिरहेको छ । गलत नियतले खोलेको कन्सल्टेन्सीहरुलाई छापा मारिरहनु पर्छ । राम्रो काम गर्ने हाम्रोजस्ता कन्सल्टेन्सीहरु पनि ति कन्सलटेन्सीहरुको कारणले गर्दा बदनाम हुन पुगेको छ । नेपालबाट सीमापारी अध्ययन गर्न जाने विद्यार्थीहरु कुन वर्गका छन् ? पहिले उच्च र मध्यम वर्गका विद्यार्थीहरु मात्र अध्ययनका लागि विदेश जाने गरेका थिए । अहिले त्यसमा निम्न वर्गका पनि थपिएका छन् । यो कन्सल्टेन्सीले विद्यार्थीलाई जापान र अष्ट्रेलिया पठाउँछ भन्नुभयो । नेपाली विद्यार्थीका लागि जापान र अष्ट्रेलिया कस्तो गन्तव्य हो ? जापान र अष्ट्रेलिया अहिले सबै विद्यार्थीको क्रेज बनेको छ । अन्य देशको तुलनामा यी देशहरु बढि सुरक्षित भएकोले गर्दा पनि यस्तो भएको हो । त्यसैगरी त्यहाँ पढाइ सकेर प्राप्त हुने सर्टिफिकेट पनि संसारभर मान्यता पाइने भएकोले गर्दा पनि नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया र जापान राम्रो गन्तव्य हो भन्ने मलाई लाग्छ । नेपालबाट धेरै विद्यार्थीहरु पढ्न जाने देश कुन कुन हुन् ? पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट धेरै विद्यार्थी अष्ट्रेलिया गइरहेका छन् । अष्ट्रेलिया बाहेक जापान, अमेरिका, जर्मनी, डेनमार्क, चीन, भारत, जापान लगायतका देशमा पनि गएका पाइन्छन् । विद्यार्थीले विदेश अध्ययन गर्न जाँदा के बुझनु पर्छ? अरुको देखासिकीमा विदेश अध्ययन गर्न जानुभन्दा पनि विद्यार्थीले आफू जाने देशको बारेमा राम्रोसँग बुझेर मात्र जानु पर्छ । त्यहाँ गएर कुन र कस्तो कोर्ष पढ्ने र ति कोर्षहरु कति समयमा सकिन्छ भन्ने जस्ता कुराहरु बुझनु पर्छ । त्यहाँको नीति कस्तो छ, कति काम गर्न पाइन्छ जस्ता कुराहरु पनि विद्यार्थी आफैंले बुझ्न जरुरी छ । त्यसमा परामर्शदाताले कस्तो भूमिका खेल्नुपर्छ ? हामीले पढ्न जाने विद्यार्थीलाई त्यहाँको सबै सत्य तथ्य जानकारी इमान्दारिताका साथ दिनुपर्छ । पैसा कमाउने उद्देश्यले मात्र परामर्शको काम गर्नु हुँदैन । विद्यार्थीको भविष्यप्रति पनि जिम्मेवार बन्नुपर्छ । विद्यार्थीको आर्थिक र शैक्षिक अवस्था हेरेर सोही अनुसारको शिक्षण संस्थाको छनौट गरिदिनु पर्छ । जापान र अष्ट्रेलिया पढेपछिको अवसरका बारेमा पनि स्पष्ट पारिदिनुपर्छ ।
एसइई परीक्षाको नतिजा एक साताभित्र
भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिए । उनले भने-“नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छौँ, कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गछौँ ।” यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । रासस
३ बर्षभित्र ‘साक्षर कर्णाली प्रदेश’ घोषणा गरिने, २ करोड बजेट विनियोजन
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी ३ वर्षभित्र ‘साक्षर कर्णाली प्रदेश’ घोषणा गर्ने अभियानलाई लक्ष्यबिन्दुमा पु¥याउने नीति लिएको छ । साक्षरताको हिसाबले ५८.२५ प्रतिशत रहेको विद्यमान अवस्थाबाट पूर्ण साक्षर कर्णाली प्रदेश बनाउन सरकारले यो नीति लिएको हो । देशकै औसत साक्षरता दर ६५.९५ प्रतिशत भइरहेका बेला कर्णालीको साक्षरता दर ८ प्रतिशतभन्दा तल छ । सरकारले यही कुरालाई गम्भीरताका साथ लिएर नीतिगत लक्ष्यलाई सफल तुल्याउन अनौपचारिक शिक्षा एवं साक्षरता अभियानसम्बन्धी कार्यक्रमका लागि स्थानीय तहसँगको समन्वयमा कार्य मोडालिटी तथा कार्यपद्धति निर्माणगरी कार्यान्वयन गरिने बजेटमा उल्लेख गरेको छ । यसका लागि प्रदेश सरकारले २ करोड रुपैयाँ बजेटको विनियोजन गरेको छ । विद्यालय नजाने तथा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, विद्यार्थी सिकाइ उपलब्धि अभिवृद्धि गर्न, बालबालिकालाई ‘विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ’ भन्ने राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन सरकारले स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्ने नीति तय गरेको छ । विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई नियमित पठनपाठनको व्यवस्थापन गर्ने स्थानीय तहलाई प्रोत्साहन गर्ने भन्दै सरकारले यसका लागि १ करोड ७० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । त्यसैगरी, सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच वृद्धि गर्न ‘छोरी–बुहारी प्राविधिक शिक्षा छात्रवृत्ति’ कार्यक्रम लागूगर्ने नीति लिएको छ । दलित, विपन्न, द्वन्द्वपीडित, दुर्गम क्षेत्रका विद्यार्थीका लागि समेत प्राविधिक शिक्षामा पहँुच वृद्धि गर्न थप छात्रवृत्ति कार्यक्रमको व्यवस्था गरेर प्रदेश सरकारले १ करोड ५० लाख रुपैया बजेट विनियोजन गरेको छ । सरकारले आव २०७५÷०७६ मा छ हजार युवालाई छोटो अवधिको सीप विकास तालीम कार्यक्रम सञ्चालन गर्ने र सहभागी छनोट गर्दा महिला, एकल महिला, द्वन्द्व प्रभावित तथा दलित समुदायलाई प्राथमिकता दिने व्यवस्था गरेको छ । यसका लागि भनेर सशर्त अनुदानबाट सरकारले १० करोड ३० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । त्यस्तै, प्रदेश सरकारले विद्यालय तहको शैक्षिक गुणस्तर र भौतिक विकासका लागि निर्वाचन क्षेत्रलाई आधार बनाएर विद्यालय पूर्वाधार सुधार कार्यक्रम सञ्चालन गर्न २१ करोड रुपैयाँ बजेट छुट्याएको छ । रासस