कोरोना असर कन्सल्टेन्सीमाः वैदेशिक अध्ययन ठप्प

काठमाडौं । वैदेशिक अध्ययनको लागि विद्यार्थीलाई सहयोग गर्ने शैक्षिक परामर्शदाता संस्थाहरु संसारभरमा कोरोनाको प्रभावको कारण केही समय ठप्प हुने भएका छन् । संसारभर कोरोनाको संक्रमण बढेसँगै वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सरकारले अर्काे सुचना जारी नभएसम्म रोक लगाए पछि कन्सल्टेन्सीहरु ठप्प हुने भएका हुन् । सरकारले विद्यार्थीलाई सात देशको लागि रोक लगाएको भनेर भने पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च संक्रमण देशको रुपमा उल्लेख गरेपछि सबै देशहरुमा सरकारले वैदेशिक अध्ययन अनुमति पत्र रोक लगाएको हो । स्कोप कन्सल्टेन्सी सर्भिसेसका प्रबन्ध निर्देशक विक्रम केसी यो समय कन्सल्टेन्सीहरुको लागि अध्ययन र अनुसन्धान गर्न समय भएको बताउँछन् । अध्ययनको लागि विदेश जाने विद्यार्थीको संख्या करिब ठप्प भएकोले अन्य काममा समय दिइएको उनले बताए । ‘कोरोना सन्त्रासका कारण हरेक क्षेत्रमा असर देखिएको छ, तर यो समय बिजनेस भएन भनेर बस्नेभन्दा पनि महामारीबाट जोगिनु ठूलो कुरा हो, अझ हामीहरु त आफैमा अध्ययन गरिरहनु पर्ने क्षेत्रको संस्था भएकोले अध्ययन र अनुसन्धानमा समय दिइरहेका छौं,’ केसीले भने । प्लस टुको परीक्षापछि मात्र विदेश जाने विद्यार्थीको चाप बढ्ने गर्दछ । कन्सल्टेन्सी व्यवसाय सिजनल व्यवसाय भएकोले पनि यो समय शान्त रहने समय हो । कोरोनाले झन् शान्त बनाएको बुझ्नुपर्ने केसी बताउँछन् । जापानको लागि सबैभन्दा बढी विद्यार्थी अप्रिल महिनामा उड्ने गरेको साकुरा ईन्टरनेसनलका संचालक अनुज कुमार श्रेष्ठ बताउँछन् । तर, अहिले सरकारले कोरोनाको कारण वैदेशिक अध्ययन अनुमतिपत्र दिन रोक लगाएपछि कन्सल्टेन्सी क्षेत्र नै डामाडोल भएको छ । भिसा आइसकेका विद्यार्थी पनि कहिले उड्ने ठेगान नभएको उनले बताए । यद्यपि जापानले ३ महिना अध्यागमन पत्रलाई बढाएर ६ महिना बढाएको छ, जसले केही राहत भने दिएको श्रेष्ठले बताए । ‘वैदेशिक अध्ययन अनुमतिपत्र लिएर कलेजमा फी पठाएका विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन्, यहाँबाट धेरै अभिभावकले ऋण लिएर पठाएका हुन्छन् तर कहिले उड्ने ठेगान नहुँदा यहाँ व्याज मात्र बढ्ने र विद्यार्थी अभिभावकहरुले यसमा केही गर्न पनि नसक्ने अवस्था सिर्जना भएको छ,’ श्रेष्ठले भने । सरकारले कोरोना संक्रमणलाई लक्षित गर्दै एनओसी बन्द गरेको पाटोलाई प्रशंशायोग्य रहेको नेपाल शैक्षिक परामर्श संघका उपाध्यक्ष तथा अर्बिट ईन्स्टिच्युटका निर्देशक शेषराज भट्टराई बताउँछन् । ‘व्यवसाय हो, कहिले नाफा र कहिले घाटा हुन्छ तर यो अवस्थामा नाफा घाटाभन्दा पनि नागरिकको सुरक्षा देशको हितले प्राथमिकता पाउनु पर्छ,’ उपाध्यक्ष भट्टराईले भने ।

सरकार उच्च सतर्कता अपनाउँदै, विद्यालय परीक्षा गराउँदै

काठमाडौं । कोरोनाले विश्वभर त्रास फैलाइरहेको अवस्थामा नेपाल सरकारले पनि उच्च सर्तकता अपनाउन सुरु गरेको छ । सिरकाले भिडभाड तथा मानिस जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ । बुधबार विश्व स्वास्थ्य संगठनले पनि कोरोनालाई महामारीको रुपमा संज्ञा दिइसकेको छ । सरकारले कोरोनसँग लड्नको लागि उच्च सर्तकता अपनाउँदै गर्दा विद्यालयहरु भने धमाधम परीक्षा चलाउने तर्फ अगाडि बढिरहेका छन् । परीक्षाको समय अधिकांश विद्यार्थीको लागि त्रासको विषय हो । एकतर्फ भाइरसको त्रास फैलिरहेको समयमा परिक्षाको त्रासले कतै विद्यार्थीको नतिजामा त समस्या पार्दैन त ? अहिले अभिभावक पनि त्रसित बनेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शमाले अहिलेको समयमा हामीहरु त्यति त्रसित हुनुपर्ने अवस्था नभएको बताए । ‘हामी सचेत पक्कै हुनुपर्छ तर त्रसित भने हुनुहुँदैन, अहिलेसम्म कुनै पनि परीक्षा रद्द नर्गन निधो हामीले गरेका छा’, उनले भने । भाइरसले कति लामो समयसम्म असर गर्ने हो भन्ने एकिन नभएको र परीक्षा कतिसम्म सार्ने र विद्यालय कतिसम्म बन्द गर्ने भन्ने तय हुन नसकेकोले समयमा नै परीक्षाहरु सकेर विद्यालयहरु बन्द गर्नु सबैभन्दा उत्तम उपाय भएको शर्माको भनाइ छ । यो समयमा सबैभन्दा उत्तम उपाय विद्यार्थीलाई सही काउन्सिलिङ रहेको र त्यसको लागि मन्त्रालयले विद्यालयहरुलाई पत्रचार गरिसकेको शर्माले जानकारी दिए । मन्त्रालयले बिहिबार सबै विद्यालयहरुलाई कक्षा ९ सम्मको सबै परीक्षा चैत ५ गतेसम्म पुरा गर्न निर्देशन दिएको थियो । चैत ६ गते देखि एसईई परिक्षा रहेकोले आफुहरुले भिडभाड कम गर्नलाई ९ सम्मको परिक्षा सिध्याउनलाई निर्देशन दिएको शर्माले बताए । कक्षा १२ सम्म देशभर ४५ लाख भन्दा बढि विद्यार्थी रहेका छन् जुसमा सबैभन्दा बढि कक्षा १ मा ५ लाख विद्याथी छन् । समयमा परिक्षा नसकिँदा समयमा नतिजा नआउने र समयमा नतिजा नआउँदा नयाँ भर्नामा समस्या ल्याउने र थप तनाव सृजना हुने त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डिन कृष्ण प्रसाद गौतम बताउँछन् । स्नातक तहमा हाल नेपालभर ३ लाख विद्यार्थी अध्ययन गरिरहेका छन् ।

अब त्रिविकाे सर्टिफिकेटमा सेक्युरिटी फिचर, नक्कली र सक्कली सजिलै छुटिने

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । ट्रान्सक्रिप्ट लिन विद्यार्थीले अब ५ गुणासम्म बढी शुल्क तिर्नु पर्ने भएको छ। प्रवीणता प्रमाणपत्र तहको लागि २ हजार, स्नातकका लागि २ हजार २ सय, स्नातकोत्तर तह र एमफिलका लागि २ हजार ५ सय र विद्यावारिधिका लागि ३ हजार तोकिएको जानकारी परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। अहिले त्रिविले स्नातक तहलाई ४ सय ५० र स्नातकोत्तर तहका लागि ५ सय शुल्क लिँइदै आएको छ। बाक्लो गाता (फोल्डर)मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने नयाँ ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताए। नक्कली ट्रानस्क्रिप्ट लिने क्रम बढेकाले त्यसलाई रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने जानकारी दिएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का नियन्त्रक जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी सोसम्बन्धी प्रक्रिया सुरु गरिएको जानकारी दिए। उनका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ। त्यसको  बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ। त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ। ‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो।’ पानीमा नभिज्ने र नच्यातिने विशेषता नयाँ ट्रान्सक्रिप्टमा हुने जनाइएको छ। सबैलाई एउटै किसिमको दिइने ती ट्रान्सक्रिप्टको बाहिरी गाता भने पाँच किसिमका हुनेछन्। अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन्। अन्य सङ्कायभन्दा चिकित्सा र इञ्जिनियरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन्। सबैलाई समान खालको दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो। नियन्त्रक जोशीले विसं २०७७ बाट परीक्षा दिने विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी दिए। ‘त्यसको ढाँचा तयारी गरिएको छ,’उनले भने, ‘अब केही दिनमा बोलपत्र आह्वान गर्ने तयारीमा छौं।’ ट्रान्सक्रिप्टमा सम्बन्धित विद्यार्थीको फोटोसमेत राखिनेछ। विसं २०१६ मा स्थापित त्रिविले विसं २०५४ बाट मात्र छापेर ट्रान्सक्रिप्ट दिन थालेको हो। पनिकाले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट राखेर दिनेछ। यसैगरी त्रिविले चैत १५ गतेदेखि अब सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले अब सबै सङ्कायको फाराम भरेको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको परीक्षा नियन्त्रक जोशीको भनाइ छ। त्रिविले विसं २०७५ बाट त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली लागू गरेर मानविकी र शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिँदै आएको छ।