चितवन मेडिकल कलेजः प्रतिबद्धतासहित सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने

चितवन । चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ । सरकारसँग दुई बुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सिएमसी प्रशासनले छ बुँदे प्रतिबद्धतासहित विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित लेखा शाखामा एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । यही मङ्सिर १० मा सरकार र मेडिकल सञ्चालकबीच दुईबुँदे सहमति भएको थियो । सहमतिमा एमबिबिएस र बिडिएसका पछिल्ला दुई शैक्षिक सत्रमा लिएको अतिरिक्त शुल्क मङ्सिर ११ बाटै समायोजन गर्ने भनिएको थियो । शैक्षिक सत्र २०७२/७३ र २०७३/७४ सम्बन्धमा चिकित्सा शिक्षा आयोगले निर्णय गरेबमोजिम हुने भन्ने छ । यो सहमतिलाई आन्दोलनरत विद्यार्थीले भने अस्वीकार गरेका छन् । उनीहरू चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजन हुनुपर्ने अडानमा छन् । पहिलो वर्षका विद्यार्थीले वार्षिक परीक्षा नदिएपछि दोस्रो वर्षका विद्यार्थीले पनि परीक्षा नदिने घोषणा गरेका छन् । एमबिबिएस र बिडिएसको मात्रै नभएर अन्य शैक्षिक कार्यक्रमको बढी लिइएको शुल्क पनि फिर्ता वा समायोजन हुनुपर्ने विद्यार्थीले माग राख्दै आएका छन् । सिएमसीले अन्य स्नातक कार्यक्रम नर्सिङ, पब्लिक हेल्थ, बी फार्मेसी, बिएमएलटी, बिएमआइटीमा पनि तोकेकोभन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयले तोकेअनुसार नियमित वार्षिक परीक्षा शुल्क लिने र परीक्षा सञ्चालनका लागि लाग्ने अन्य अतिरिक्त शुल्क सम्बन्धित निकायले तोकेबमोजिम गरिनेछ ।” कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले भने, “सरकारसँग गरेको दुईबुँदे सहमतिभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रममा समेत शुल्क समायोजन गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ने चरणमा लैजाँदै छ ।” आन्दोलनका कार्यक्रम फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवं प्राज्ञिक क्रियाकलाप शुरु गराउन र विश्वविद्यालयका परीक्षामा सहभागी हुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजन प्रक्रियालाई सहयोग गर्न उनले अनुरोध गरेका छन् । रासस

सार्वजनिक शिक्षा सवलीकरण गर्ने तयारीमा सरकार: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताएका छन् । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले नेपालमा पहिलोपटक शिक्षा नीति बनाएर शिक्षा विधेयक ल्याउन लागेको जानकारी दिए । मन्त्री पोखरेलले सबै नागरिकलाई सीप सिकाउने तवरले कार्यक्रम ल्याउन लागेको चर्चा गर्दै शिक्षकले आफ्नो सक्षमताको विकास गरेर सीपमूलक ज्ञान प्रवाह गर्नुपर्ने बताए । उनले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राख्दै सरकारले १० वर्षमा शैक्षिक क्षेत्रमा सुधार ल्याइसक्ने दाबी गरे । मन्त्री पोखरेलले अङ्ग्रेजी भाषाको नाममा नेपाली भाषालाई कमजोर बनाउन नहुने तर्क गर्दै देशभरमा सरकारले पाँच हजार शिक्षक भर्ना गर्ने तयारीमा रहेको जानकारी दिए । “सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधान गर्न तीनै तहका सरकारको भूमिका अग्रणी छ”, मन्त्री पोखरेले भने, “दिगो विकासको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको सवलीकरण आवश्यक छ ।” उनले बुद्ध, सगरमाथा र पूर्वीय दर्शन बुझ्न र बुझाउन पनि शिक्षा नै माध्यम हुने उल्लेख गर्दै विसं २०८५ सम्ममा सबै नागरिकले आधारभूत शिक्षा लिइसक्ने गरी सरकार तयारीमा जुटेको जानकारी दिए । रासस

डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगित

डोल्पा । हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो । नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगन भएको हो । बिहानैदेखि लगातार भइरहेको हिमपातका कारण बढेको अत्याधिक चिसोका कारण विद्यार्थी परीक्षामा सामेल हुन सक्ने अवस्था नभएकाले आज हुने नगरपालिकाभित्रका आधारभूत र माध्यमिक तहकोे नेपाली विषयको परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र पर्ने केही विद्यालयमा हिमपातका कारण परीक्षा नै स्थगन गर्नुपर्ने भएकाले अन्य विद्यालयको परीक्षासमेत स्थगन गरिएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिएका छन् । प्रश्नपत्र एउटै भएकाले पनि अन्य विद्यालयमा परीक्षा सञ्चालन गर्न समस्या भएको बताउँदै मौसममा सुधार आएर हिउँ पग्लेपछि आइतबार नेपाली विषयको परीक्षा हुने उनले जानकारी दिए । भारी हिमपातका कारण बाटोघाटो थुनिएकाले टाढाटाढाका गाउँबाट विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्थासमेत नरहेको उनले बताए । “विद्यालयमै बाग्लो हिउँ जमेको छ, हिमपात जारी छ, अत्याधिक चिसोका कारण विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्था छैन, पुगेका विद्यार्थीले पनि लेख्नसक्ने अवस्था छैन”, लक्ष्मी मावि थरगाउँका विज्ञान शिक्षक हरिस जोशीले भने । उनले कुनै पनि हालतमा परीक्षा सञ्चालन गर्न नसकिने कुरा नगर शिक्षा शाखा, जिल्ला समन्वय समिति सबैलाई जानकारी गराएपछि परीक्षा स्थगन भएको बताएका हुन् । भारी हिमपातका कारण नगरपालिकाभित्र रहेका आधारभूत र माध्यामिक विद्यालयका करिब दुई हजार विद्यार्थीले नेपाली विषयको परीक्षा दिन पाएनन् । नगरपालिकामा बिहीबारदेखि मात्र आधारभूत माध्यमिक विद्यालयको वार्षिक परीक्षा शुरु भएको थियो । बिहीबार विद्यार्थीले अङ्ग्रजी विषय दिएका थिए । पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । रासस