त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि हुने
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । “अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।” उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने बताए । पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ । नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिए । चारवर्षे शैक्षिक कार्यक्रमलाई ४८ महिनामा सकाउने लक्ष्य पनिकाको रहेको छ । अहिले ती चारवर्षे शैक्षिक कार्यक्रम ४५ देखि ४६ महिनामा सकिने गरेका छन् । धेरै विद्यार्थी भएको तहमा भर्चुअल परीक्षा असम्भव परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणाली परीक्षाको खाका सहितको प्रतिवेदन सम्बन्धित डिन कार्यालयले बुझाएपछि कसरी परीक्षा गर्ने भन्नेबारे छलफल हुने बताए । “सेमेष्टर परीक्षाका बारेमा भर्चुअल माध्यमबाट परीक्षा लिने भन्ने कुरा पनि चलेको छ”, उनले भने, “तर कति सम्भव हुन्छ डिन कार्यालयले बुझाएको प्रतिवेदन बुझाएपछि गर्ने वा नगर्ने भन्ने हुन्छ ।” उनले सेमेष्टर प्रणालीका पनि धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव नभएको बताए ।
व्याचलरकाे ४ वर्षे काेर्स अब ६ महिनामा, वार्षिक १ कराेडकाे जागिर पनि
काठमाडौं । गुगलले भर्खरै उच्च शिक्षा र रोजगारीसँग सम्बन्धित निकै ठूलो घोषणा गरेको छ । गुगलले आफ्नै प्रोफेसनल कोर्सलाई ल्याउने तयारी गरेको घोषणा गरेको छ । यसले उच्च शिक्षाको भविष्यलाई नै परिवर्तन गर्न सक्ने देखिन्छ । ‘गुगल करियर सर्टिफिकेट’ नाम दिईएको यस कोर्सेले मानिसहरुलाई काममा चाहिने सीपहरु सिकाई तत्काल काम खोज्नलाई मद्दत गर्नेछ । गुगलले पराम्परागत विश्वविद्यालयको ४ वर्षे व्याचलर डिग्रीलाई तोड्दै यसलाई ६ महिनामा पूरा हुने कोर्स बनाएको छ । ट्विटरमा गुगलको गोल्कल अफेयरका वरिष्ठ उपाध्याक्ष केन्ट वालकर लेख्छन्, ‘धेरै अमेरिकीहरुको पहुँचमा कलेज डिग्री छैन र आफू आर्थिक रुपमा सक्षम हुनलाई ४ वर्षे कलेज डिग्रीको सर्टिफिकेट आवश्यक छैन । हामीलाई अमेरिकाको सुधार र निर्माण गर्नको लागि सबैले सजिलै सबैको पहुँचमा पुग्ने रोजगारका तालिम र अनलाईन कक्षाहरु संचालन गर्नुृपर्छ ।’ उनी ट्विटरामा थप लेख्छन्, ‘हामी यी सबै व्यक्तिहरुलाई ४ वर्ष कलेज डिग्रीको बराबर सिकाउनेछौं ।’ गुगलले सो कोर्सेको लागि कति शुल्क लाग्छ भनेर नखुलाए पनि गुगलद्धारा संचालित यस्तै कोर्सको लागि भने यसले प्रत्येक महिना एकजना विद्यार्थीसँग ४९ डलर लिइरहेको छ, जुन नेपाली ५ हजार ७ सय ८२ पर्न जान्छ । त्यसैलाई आधार मानेर शुल्कको हिसाब गर्ने हो भने ६ महिनामा यस कोर्से गर्नको लागि ३ सय डलरभन्दा कम अर्थात नेपाली ३५ हजारको हारहारिमा यो कोर्स पुरा हुने देखिन्छ । ४ वर्षे काेर्ष पढ्न विद्यार्थीले कितावमा खर्च गर्ने रकम भन्दा कममा ६ महिनाकाे काेर्स पढ्ने अवसर सिर्जना भएकाे छ । गुगलले यस नयाँ कोर्सको लागि १ लाख बराबरको छात्रवृति पनि छुट्टयाउने बताएको छ । सर्टिफिकेट लिउ र काम निश्चित उच्च शिक्षाको सबैभन्दा बढि आलोचना भएको पक्ष भनेको विद्यार्थीहरुलाई यसले कार्यस्थलमा चाहिने वास्तविक सीपहरु सिकाउँदैन र विद्यार्थीहरु वर्षौसम्म कलेजमा बुझाएकाे पैसाकाे ऋण तिरेर बस्नुपर्ने अवस्था हुन्छ । तर, गुगलको अनुसार यो कोर्स पढ्नको लागि कलेजमा पर्ने १ प्रतिशत पनि शुल्क पर्दैन र विद्यार्थी काम गर्न सक्षम हुनेछ । गुगल करियर सर्टिफिकेट लिएपछि जागिर निश्चित भएकाे गुगलले जनाएकाे छ । गुगल करियर सर्टिफिकेट लिएपछि पाइने कामकाे मध्यम तहकाे तलव पनि गुगलले घाेषणा गरेकाे छ । प्राेजेक्ट म्यानेजरले वार्षिक ९३ हजार अमेरिकी डलर पाउने छ । जुन नेपाली रूपैयाँमा वार्षिक १ कराेड १० लाख रूपैयाँ भन्दा बढी हुन्छ । त्यस्तै, यूएक्स डिजाइनरले वार्षिक ७५ हजार र डाटा विश्लेषण गर्नेले वार्सिक ६६ हजार अमेरिकी डलर पाउन सक्ने छ । ‘गुगल करियर सर्टिफिकेट लिएकाे भए पुग्छ ।अरू कुनै डिग्ग्री वा अनुभव खाेजिनै छैन’ गुगलले जनाएकाे छ । गुगल, वालमार्ट, बेष्ट वाइ, इन्टेल, बैंक अफ अमेरिका, हुलु लगायत कम्पनीकाे जागिर पाउन सकिने उसले जनाएकाे छ । यस बाहेकका क्षेत्रमा राेजगारी खाेज्न पनि गुगलले मद्दत गर्ने गुगलले जनाएकाे छ । यसअघि २०१८ मा गुगलले संचालनमा ल्याएको गुगल आईटी सर्टिफिकेट प्रोग्राम पनि एक निकै चर्चित अनलाईन कोर्स हाे । जसबाट हजाराैले राेजगारी पाएकाे र कमाइ वृद्धि गरेकाे उसकाे भनाइ छ ।
शुक्रबारदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिने
कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो । कोभिड–१९ का कारण भर्चुअल कक्षा सञ्चालन भएको र सोहीअनुरुप अनलाइनबाट परीक्षा लिन थालिएको विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिए । “हामीले मध्यपश्चिम विश्वविद्यालय डिजिटल, भर्चुअल तथा वैकल्पिक शिक्षण सञ्चालन नीति दिशानिर्देश २०२० तयार गरेका छौं,” उनले भने, “कोभिडको सङ्कटमा यस प्रणालीले परीक्षार्थीलाई परीक्षा दिन सहज हुनेछ ।” सबै परीक्षार्थीहरुलालाई ढुक्कका साथ परीक्षा दिन अपिल गर्दै उनले परीक्षार्थीहरुले भने तोकिएको समयमा उत्तर उपलब्ध गराउनुपर्ने जनाए । परीक्षा भने शुक्रबार बिहान ८ः०० बजे शुरु हुनेछ । प्रा।डा।उपकुलपति सिंहले अनलाइन प्रणालीबाट परीक्षा गर्नेबारे गत साउन १९ गतेको निर्णय भएको थियो । मध्यपश्मिाञ्चल विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङकाय केन्दीय क्याम्पसका प्रमुख तेजबिक्रम बस्नेतले कर्णालीको भौगोलिक अवस्थालाई ध्यानमा राखेर अनलाइन परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कोभिड–१९ को सङ्कटमा विद्यार्थीलाई सहजता प्रदान गर्न यो सुविधा दिइएको जनाउँदैँ उनले कम्प्युटर नजान्नेहरुका लागि अफलाइन परीक्षाको समेत व्यवस्था गरिएको बताए । उनीहरुले भने हातैले लेखेर फोटो खिचेर वा स्क्यान गरेर पठाउनुपर्ने क्याम्पस प्रमुख बस्नेतको भनाइ थियो । लोकवार्ता विज्ञान विभागका प्रमुख खगेन्द्र अधिकारीले अनलाइन परीक्षाले कर्णालीका भौगालिक रुपले विकट जिल्लाका विद्यार्थीहरुलाई बढी न्याय भएको बताए । यस परीक्षाले कोभिड–१९ ले धकेलिएको सेमेटष्टरको उपयोग भएको र शिक्षामा वैकल्पिक प्रणालीको प्रयोग भएको जनाइएको छ ।