वित्तीय क्विज प्रतियोगिता शनिबार हुने

काठमाडौं । प्रभु क्यापिटलको आयोजनामा यही शनीबार अन्तर कलेज वित्तीय क्विज प्रतियोगिता-२०२२ आयोजना हुने भएको छ । विश्व वित्तिय सप्ताहअन्तर्गत प्रभु क्यापिटल लिमिटेडले पहिलो पटक वित्तीय क्विज प्रतियोगिता आयोजना गर्ने भएको हो । क्यापिटलले काठमाडौं उपत्यकाभित्र रहेका १५ वटा विजनेश कलेजहरूमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी गराउने तयारी गरेको छ । क्विज प्रतियोगिता यही चैत्र १२ गते शनिबार बिहान १० बजेबाट सिंहदरबार प्लाजास्थित स्काई दरबार ब्यांकेटमा आयोजना हुनेछ । प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । त्यस्तै दोस्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । तेस्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिने प्रभु क्यापिटलले जनाएको छ ।

सेञ्चुरी बैंकद्वारा काभ्रेका विद्यार्थीहरूलाई वित्तीय साक्षरता तालिम

काभ्रे । सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाले ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । नमोबुद्व नगरपालिका-१ श्यामपाटीमा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त वित्तीय साक्षरता कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीसहित ६४ जनाको सहभागिता थियो । ‘ग्लोबल मनि विक’ हरेक मुलुकका किशोर/किशोरी तथा युवामा वित्तीय शिक्षाको महत्त्वको बारेमा जागरण ल्याउने उद्येश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक अभियान हो । यो सप्ताह सन् २०१२ देखि प्रत्येक वर्षको मार्च २१ देखि २७ सम्म मनाइदै आएको छ । हाल सेन्चुरी बैंकले १२९ शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २६ वटा शाखारहित बैंकिङ र ११३ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

समाजसेवी दीनबन्धु गोयलद्वारा १० लाखको छात्रवृत्ति कोष स्थापना

मोरङ । विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माविमा १० लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । विद्यालयमा मङ्गलबार आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा उहाँले उक्त घोषणा गरेका हुन् । यसअघि सोही विद्यालयमा गोयलले चार लाखको सुमनदेवी गोयल छात्रवृत्ति कोष स्थापना गरेका थिए । कार्यक्रममा संरक्षक गोयल र दाता मनोज गोयलले सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोषबाट कक्षा ९ देखि १२ सम्मका प्रथम, द्वितीय र तृतीय हुने २२ छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरे । विद्यालयले अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक स्रोतबाट १५ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । कक्षा ६ देखि ११ सम्मका छात्रछात्रालाई ११ हजारका दरले छात्रवृत्ति प्रदान गर्न कोष स्थापना गरिएको उनले जानकारी दिए । गोयलले सोही विद्यालयमा अध्ययन गरेकी बुहारी सुमनदेवीको स्मृतिमा उक्त छात्रवृत्ति घोषणा गरेका हुन् ।