एसइईको पुनर्योगका लागि आवेदन माग, छात्रवृत्तिका लागि साउन २० गते परीक्षा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ । साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन् । सोका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सकिनेछ । सोका लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरुलाई बोर्डले भनेको छ । कामपाले छात्रवृत्ति परीक्षा लिँदै यसैबीच काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ । महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०र८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फारम भर्न सूचनामा भनिएको छ । छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन हुनेछ । रासस
भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिइने
भक्तपुर । निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेका छ । विद्यालय तहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेको हिसानले सो घोषणा गरेको हो । भक्तपुर जिल्लाका प्याब्सनमा आवद्ध विद्यालयबाट एसइई उत्तीर्ण गरी जिल्लाभित्रकै हिसान आवद्ध स्कुल एवं कलेजमा कक्षा ११ भर्ना हुने ५० प्रतिशत छात्रवृत्ति अनिवार्यरुपमा दिने र विद्यार्थीको ग्रेड सिट हेरेर अझै थप छात्रवृत्ति दिने घोषणा गरिएको हो । प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ र हिसान भक्तपुर जिल्ला अध्यक्ष अनिल कसपालबीच शुक्रबार एक कार्यक्रममा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । चारबुँदे सम्झौतामा प्याब्सन सदस्य विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई हिसान सदस्य विद्यालय एवं कलेजले आवश्यक थप छुट सहुलियत प्रदान गर्ने भएको छ । त्यस्तै प्याब्सन र हिसान दुवै संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापन शिक्षकको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि हुने शैक्षिक कार्यक्रम सञ्चालन गर्दै जाने सम्झौता भएको छ । भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढ्ने वातावरण निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्तरुपमा कार्यक्रम गर्दै जाने सम्झौता भएको छ । सम्झौताका बारेमा जानकारी दिँदै हिसान भक्तपुरका अध्यक्ष कसपालले भने, ‘भक्तपुरका विद्यालयले हरेकवर्ष एसइईसम्ममा उच्च अङ्क ल्याएर विद्यार्थीलाई उत्तीर्ण गराइरहेका छन्, यहाँका विद्यालय एवं कलेज अब्बल छन्, उच्च शिक्षा अध्ययन गर्ने विद्यालय तथा कलेज पनि यहाँका उत्कृष्ट छन्, अब्बल छन्, त्यसैले प्याब्सन र हानको सहकार्यमा भक्तपुरका विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षासम्म भक्तपुरकै विद्यालय एवं कलेजमा अध्ययन गर्ने गराउने वातावरण गर्न सहकार्य सुरु गरेका हौं ।’ यसबारेमा प्याब्सन भक्तपुरका अध्यक्ष श्रेष्ठले निजी र सरकारी विद्यालयका शिक्षाका बारेमा कुनै विभेद नभएको भन्दै सरकारीमा राज्यको लगानी र निजीमा व्यक्तिको लगानीमा मात्रै भन्नता रहे पनि शिक्षा र परीक्षा सबैमा राज्यकै भएको बताए ।उनले भने, ‘शिक्षामा विभेद छैन, पाठ्यक्रम राज्यले बनाउँछ, शुल्क राज्यले नै तोक्छ, अहिले पनि स्थानीय सरकारले तोकेको मापदण्डभित्रै रहेर शुल्क लिइएको छ, प्रश्नपत्र निर्माणदेखि परीक्षा राज्यले नै सञ्चालन गर्छ, नतिजा राज्यले नै प्रकाशित गर्छ, अनि शिक्षामा कसरी विभेद हुन्छ ?’ मध्यपुर नगर प्याब्सनका अध्यक्ष निलेष आचार्य, हिसानका कोषाध्यक्ष दिनेश पाण्डे, सूर्यविनायक नगर प्याब्सन अध्यक्ष दिनेश मैनालीलगायतल भक्तपुरका अभिभावकले काठमाडौं, ललितपुरका विद्यालयलाई मात्रै उत्कृष्ट देखेको अवस्थामा भक्तपुरका विद्यालय कलेजले पनि आवश्यक संरचनामा सुधार गर्दै भक्तपुरमा पनि उत्कृष्ट विद्यालय छन् भन्ने सन्देश प्रचारात्मकरुपमा अभिभावकसम्म पुर्याउनुपर्ने औँल्याए । रासस
फेकन वार्षिक साधारणसभाको अन्तिम तयारीमा, बस्नेत र निरौला समूह प्रतिस्पर्धाको मैदानमा
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) आफ्नो १२औं वार्षिक साधारणसभाको अन्तिम तयारीमा जुटेको छ । भोलि शनिबार संस्थाको विधानअनुसार प्रजातान्त्रिक विधि पद्दतीअनुसार साधारणसभा हुने भएको हो । साधारणसभाबाट नयाँ निर्वाचित हुने पदाधिकारीका लागि हाल उपाध्यक्ष रहेका प्रज्वल बस्नेत र महासचिव राजु निरौलाले प्यानल बनाएर मैदानमा उत्रिएका छन् । केही व्यवसायीहरुले एउटै प्यानल बनाएर अगाडि बढ्नको लागि पहल गरेको भएपनि अब सो सम्भावना करिब टरेकोले दुवै पक्षका उम्मेदवारहरु मतदाता आ–आफूतर्फ आकर्षित गर्नको लागि मैदानमा खटिएका छन् । फेकनको आगामी नेतृत्वका लागि प्रज्वल बस्नेतको नेतृत्वको प्यानलबाट उपाध्यक्षमा हेमन्त राज दुलाल, अर्जुन कुमार बस्नेत र गगन विष्टले उम्मेदवारी दिएका छन् । महासचिवमा कोषाध्यक्ष अनिल शर्मा, सचिवमा अमित खड्का र आरसी केसी, कोषाध्यक्षमा दीपा लामिछाने र सहकोषाध्यक्षमा राजेश केसीले बस्नेतको प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् । बस्नेतको प्यानलबाट कार्यसमिति सदस्यमा कृष्ण भट्टराई, मदन उप्रेती, रेशम भट्टराई, निराजन सिवाकोटी, प्रज्वल खत्री, नरेस सेढाई र सन्तोष बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, राजु निरौलाको प्यानलबाट उपाध्यक्षमा दीपक सिलवाल, उमेश कुशुवार र अमितबाबु ढुंगानाले उम्मेदवारी दिएका छन् । निरौलाकै प्यानलबाट महसचिवमा छबिन्द्र ओझा, सचिवमा इन्द्रजित गौतम र पृथ्वीबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, कोषाध्यक्षमा दिपेन्द्र पोखरेल, ,सह–कोषाध्यक्षमा गौतम पुडासैनी र सदस्यहरुमा सन्जय बस्नेत, खगेन्द्र श्रेष्ठ, रोशन खरेल, मन्जु लामिछाने, एलिजा उप्रेती, महेश हमाल र राजु ढकालले पनि निरौलाको प्यानलबाट उम्मेदवारी दिएका छन् । दुबै समूहका उम्मेदवारहरु फेकनमा आबद्ध भएका व्यवासायीहरुबीचमा परिचित भएकाले प्रतिस्पर्धा उत्कर्षमा हुने देखिएको छ । यद्यपी, कतिपय पदाधिकारी तथा सदस्यहरुले भने व्यक्तिगत लोकप्रियताको आधारमा बढी मत ल्याउन सक्ने अनुमान पनि गरिएको छ । फेकन शैक्षिक परामर्शको क्षेत्रमा काम गर्ने व्यवसायीहरुको संस्था हो । साधारणसभामा एकसय ६१ जना मतदाता सहभागी हुने निश्चित भएको छ । तर, विगतमा सदस्य भएका र अन्तिम समयमा नवीकरणबाट छुटेका सदस्यहरुको हकमा सहमती भएमा अझैपनि नवीकरण हुनसक्ने जनाइएको छ । चुनावी मैदानमा उत्रिएका दुवै पक्षका उम्मेदवारहरुले शैक्षिक परामर्श व्यवसायीहरुकै हितमा अधिकतम् काम गर्ने जनाइरहेका छन् । दुवै प्यानलबाट उम्मेदवार भएका अधिकांश व्यक्तिहरु फेकनको स्थापनाकालदेखि नै संस्थामा आबद्ध भएर व्यवसायीहरुको हितमा काम गर्दै आएका छन् । त्यसैले, सामान्यतया उम्मेदवार देखि सदस्यहरुले मैत्रीपूर्ण ढंगले निर्वाचनको वातावरण बनाएको देखिन्छ । साधारणसभा शनिबार काठमाडौं गैरीधाराको एलिस रिसेप्सनमा हुने भएको छ ।