देश परिवर्तनका लागि शिक्षा क्षेत्रको परिवर्तन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देश परिवर्तनका लागि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् । परिवर्तन अभियान नेपालले आज काठमाडौंको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण परीक्षार्थी र विद्यालयलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उनले नेपालको शिक्षा क्षेत्रलाई नयाँ तरिकाबाट सुरुआत गर्न जरुरी रहेको बताएका हुन् । ‘मुलुक परिवर्तन गर्न शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्छ, नयाँ तवरले अगाडि बढ्नुपर्छ’, उनले भने । उनले आफ्नो रुचिअनुसारको विषय पढेमात्र सफलता हासिल हुने भएकाले सोहीअनुसार अगाडि बढ्न विद्यार्थीलाई आग्रहसमेत गरे । उनले भविष्यको नेतृत्व पनि अहिलेको पुस्ता भएको भन्दै राजनीतिमा युवा सहभागिता अनिवार्य भएको बताए। तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले शिक्षा क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रम अघि सारेको बताए । हरेक परिवर्तन शिक्षामार्फत नै हुन सम्भव हुने उनको भनाइ छ । नगरप्रमुख महर्जनले पछिल्लो समय तारकेश्वरले शिक्षा क्षेत्रमा बजेट वृद्धि गरेको उल्लेख गरे । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौं महानगरपालिका वडा नं १६ का सभापति मुकुन्द रिजालले बेरोजगार युवालाई सीपसहितको शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको बताए । विद्यार्थीलाई देशभित्रकै योग्य जनशक्ति बन्न सक्ने गरी उच्च शिक्षा अध्ययन गर्न उनले सुझावसमेत दिए । परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टले परिवर्तन अभियान नेपाल शिक्षा, स्वास्थ्यसहित सामाजिक र जनसरोकारका विषयमा निरन्तर क्रियाशील भइरहने बताए । कार्यक्रममा तारकेश्वर नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयबाट ‘जिपिए ४’ ल्याउने विद्यार्थी र त्यस क्षेत्रका झन्डै ९० विद्यालयलाई सम्मान गरिएको थियो । यसवर्ष तारकेश्वर नगरपालिकाबाट दुई हजार आठ परीक्षार्थी एसइई परीक्षामा सहभागी थिए । परिवर्तन अभियान नेपालका सदस्य माधव शर्माले हामीले खोजेको परिवर्तन के हो र अबको शिक्षा प्रणाली कस्तो बनाउने भन्नेबारे बहस आवश्यक रहेको बताएका थिए ।

पोखराका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढ्यो

पोखरा । पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरुको आकर्षण बढेको हो । पायक पर्ने स्थानमा रोजेको प्राविधिक विषयमा पठनपाठन हुन थालेपछि उनीहरु औधि खुशी भएका हुन् । साथै पछिल्लो समय सामुदायिक विद्यालयमा सञ्चालन गरिएका यस्ता पढाइ वरदान सावित भएका छन् । शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्राविधिक विषयको पढाइ सञ्चालन भएपछि सामुदायिक विद्यालयमा करिब सात प्रतिशत विद्यार्थी सङ्ख्यामा वृद्धि भएको पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सोमनाथ भण्डारीले जानकारी दिए । उनका अनुसार महानगरमा नेपाल सरकारकोतर्पmबाट शुक्रराज मावि पुम्दी भुम्दीमा भेटेनरी, महेन्द्र मावि भलामामा कृषि, बह्मरुपा मावि राजाकोचौतारोमा कम्प्युटर साइन्स, जनप्रिय मावि सिमलचौरमा सिइभिल इन्जिनियरिङ अम्वीका मावि सुइखेत हेमजामा कम्प्युटर साइन्स पढाइ भइरहेको छ । त्यसैगरी सिटिइभिटीअन्तर्गत जानकी मावि महतगौडामा वन विज्ञान, सरस्वतीटीका मावि सिभिल इन्जिनियरिङ र आनन्दज्योति मावि बेगनासमा कृषि विषयका पढाइ सञ्चालन गर्दे आएको उनको भनाई छ । ‘विद्यार्थी, शिक्षक र अभिभावको त्रिकोणात्मक प्रयास एवम् सरोकारवाला निकायको प्रभावकारी अनुगमनले शैक्षिक गुणस्तरमा वृद्धि भएकोछ’, उनले भने, ‘महानगरअन्तर्गतका अमरसिंह, छोरेपाटन, जनचेतना, सितलादेवी लगायतका एक दर्जनभन्दा बढी विद्यालयमा वार्षिकरुपमा भर्नादरमा अत्यधिक चाप बढेको छ ।’ सुविधान सम्पन्न भौतिक पूवाधार निर्माण भएर पनि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्ने क्रम बढेपछि महानगरले प्राविधिक विषयमा पहल गर्दै आवश्यक भौतिक संरचना एवं प्रयोगशाला स्थापना सहयोग गर्दै आएको उनले बताए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत महानगरका विभिन्न २१ वटा विद्यालयमा पाँचदेखि ५० लाखसम्मका भौतिक संरचना निर्माण भइरहेको बताउँदै प्रमुख भण्डारीले भन्नुभयो, शैक्षिक क्षेत्रमा भएको सुधारका कारण संस्थागत विद्यालयबाट वार्षिक ठूलो सङ्ख्यामा विद्यार्थी सामुदायिक विद्यालय भर्ना हुने गरेको तथ्याङ्कमा उल्लेख छ । जानकी माविमा वन विज्ञानको पढाइ ऐतिहासिक एवं धार्मिक क्षेत्र ढुङ्गेसाँघु ९महतगौडा० जानकी माध्यमिक विद्यालयमा तीन वर्षे वन विज्ञानको पढाइ सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत वर्षदेखि उक्त पढाइका कक्षा सञ्चालन गरिएको हो । उक्त विषयमा पढाइ सञ्चालन गर्ने जिल्लाकै पहिलो जानकी माविमा हाल १६ जना विद्यार्थी र आठ जना शिक्षक शिक्षिक अध्ययन अध्यापनरत रहेको वन विज्ञान संयोजक शङ्कर भण्डारीले जानकारी दिए। उनका अनुसार विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रभावकारी र गुणस्तर बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजारको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरि सञ्चालनमा आएको छ । तीन वर्षे डिप्लोमा तहको उक्त पढाइको लागि प्रतिविद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको बताउँदै उनले भने, ‘विद्यार्थीले उक्त रकममध्ये पहिलो वर्ष ४० प्रतिशत र दोश्रो र तेस्रो वर्षमा ३०÷३० प्रतिशतका दरले शुल्क बुझाउनुपर्नेछ ।’ विद्यालयले वन विज्ञान विषयमा लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई बहुप्राविधिक शिक्षालय एवं पोखरा महानगर, सिटिइभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रवृत्तिको व्यवस्था भएको उनले जानकारी दिए । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ । वन विज्ञान विषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको विद्यालयको खेल मैदानमा सुविधा सम्पन्न पक्की भवन निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ५० लाखको लागतमा निर्माणाधीन चारकोठे उक्त भवनमा वन विज्ञानका दोस्रो र तेस्रो वर्षका कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ । विद्यालयमा हाल तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयले कमाउँदै पढ्दै कार्यक्रमअन्तर्गत बाँसका विभिन्न सामग्री बनाउने सीप प्रदान गर्दै आएको छ । विद्यार्थीका कलिला हात र सीप उपयोग गदैै बाँसबाट बनेका सामग्री घरमा सजावट एवं उपहारका लागि बिक्री वितरण गरिँदै आएका छन् ।

विद्यार्थीले बोर्डिङ्ग छोडेर रोज्छन् यी सामुदायिक विद्यालय

तस्बिर : कालिका मानवज्ञान विद्यालयमार्फत् काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार गत शैक्षिक सत्रमा एउटै सामुदायिक विद्यालयमा ३ हजार दुई सय ६३ देखि ७ हजार छ सय ११ जनासम्म विद्यार्थीले भर्ना भएर अध्ययन गरेका थिए । ठूलो संख्याका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेको अवस्थामा केही विद्यालयमा भने क्षमता भन्दा बढी विद्यार्थी भर्ना हुने अवस्था रहेको तथ्यांकले देखाएको छ । किन आकर्षण छ ? कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवलमा गत शैक्षिक सत्रमा नेपाल भरीकै सामुदायिक विद्यालयहरुमध्ये सबैभन्दा धेरै ७६११ जना विद्यार्थीले अध्ययन गरे । शिशु कक्षादेखि कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा कक्षा ११ र १२ मा धेरै विद्यार्थीको आकर्षण भएको देखिन्छ । चालु शैक्षिक सत्रमा सो विद्यालयमा कक्षा १ देखि १० सम्म सात सय जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने भर्खरै सम्पन्न कक्षा ११ र १२ को परीक्षामा क्रमशः एक हजार ६४५ र एक हजार ५३९ जना विद्यार्थीले अध्ययन गरेका थिए । धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेलामा कालिका मानवज्ञानमा विद्यार्थी संख्या बढ्नुमा अव्वल उत्प्रेरित शिक्षक र विद्यार्थी केन्द्रित सिकाइ मुख्य रहेको प्रधानाध्यापक दिनेश थापा बताउँछन् । उनका अनुसार विद्यालयले परिवेश अनुसारको सिकाइ, विद्यार्थी केन्द्रित सिकाइ, अभिभावकको सुझावलाई पालना, साझा योजना, दण्डरहित शिक्षा, अब्बल नतिजा, विद्यार्थीमा अनुशासन र सर्वसुलभ शिक्षाको कारणले विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो । ‘विद्यालयमा विद्यार्थीको मुख्य आकर्षण भनेको शिक्षक नै हो, अब्बल शिक्षक र उत्प्ररित शिक्षकका कारणले नै विद्यार्थीलाई राम्रो शिक्षा दिन सकिन्छ’, उनले भने, एउटै प्रअले विद्यालयमा राम्रो शिक्षा दिन सक्दैन तर, प्रअ र व्यवस्थापनले शिक्षकलाई उत्प्रेरणा जगाउने काम गर्न सक्छन् ।’ विश्वनिकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर काठमाडौंमा गत शैक्षिक सत्रमा चार हजार एकसय ७८ जना विद्यार्थीले अध्ययन गरेका थिए । जसमध्ये कक्षा ११ मा एक हजार दुई सय र कक्षा १२ मा एक हजार एकसय जना विद्यार्थीले अध्ययन गरेका थिए । काठमाडौंमा शिक्षा क्षेत्रमा सरकारी तथा सामुदायिक विद्यालयको भन्दा निजी विद्यालयको बर्चस्व रहेको छ । आफ्नो विद्यालयमा विद्यार्थीको आकर्षण राम्रो हुनुमा केही विशिष्ट विशेषता रहेको प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन् । ‘हामीले सामुहिक रुपमा काम गर्छौं, यहाँ पढाउने शिक्षक तथा कर्मचारीमध्ये ९० प्रतिशतले आफ्ना छोराछोरीलाई यहीँ पढाउनुहुन्छ, पढाइमा नवीनतम् विधिको प्रयोग गर्छौं, जीवनउपयोगी सिप पढाउँछौं, अभिभावकलाई नै विद्यार्थीको उत्तरपुस्तिका दिन्छौं’, उनले भने । उनले शिक्षक कर्मचारीहरुलाई आफ्ना छोराछोरीलाई आफ्नै विद्यालयमा पढाउँदा अन्य अभिभावकहरुमा विश्वास समेत पैदा हुने प्रधानाध्यापक कँडेलले बताए । उनका अनुसार कक्षा ११र१२ मा आगामी शैक्षिक सत्रमा थप विद्यार्थी थपिने सम्भावना रहेको छ । सुकुना माध्यमिक विद्यालय मोरङमा चालु शैक्षिक सत्रको कक्षा दशसम्म दुई हजार सात सय विद्यार्थीले अध्ययन गर्छन् । वैशाखमा भएको परीक्षामा छ सय ५० जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । त्यस्तै अब कक्षा ११ मा आठ सय भन्दा धेरै विद्यार्थी भर्ना हुने अनुमान रहेको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए । विशेषगरी पछिल्लो समयमा विद्यालय तहमा व्यवस्था गरिएको अंग्रेजी भाषा शिक्षा, भौतिक संरचनामा सुधार र प्रविधिमैत्री अध्यापनले गर्दा विद्यार्थीको संख्यामा वृद्धि भएको प्रअ गौतमले बताए । कक्षा ११ मा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानून, होटल व्यवस्थापन, कम्प्युटर विज्ञान, व्यवसाय अध्ययन र शिक्षा विषयमा पढाइ हुने गर्छ । नर्स अध्ययन गर्ने बाहेकका विद्यार्थी बाहिर जाने अवस्था नरहेको प्रअ गौतम बताउँछन् । त्यस्तै, भक्तपुरको बागेश्वरी माध्यमिक विद्यालयमा अहिले कक्षा १० सम्म दुई हजार चारसय विद्यार्थीहरुले भर्ना भएर अध्ययन गरिरहेका छन् भने कक्षा ११ मा अध्ययन गर्नको लागि ११ सय भन्दा धेरै विद्यार्थीहरुले आवदेन गरेका छन् । विद्यालयको क्षमता आठ सय मात्रै भएकाले शनिबार प्रवेश परीक्षा गराएर विद्यार्थी भर्ना गर्ने कायक्रम रहेको प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले बताए । उनका अनुसार विद्यालयले पढाइको गुणस्तरमा सुधार गरेका कारण नै पढ्न आउने विद्यार्थीको संख्या बढेको हो । पछिल्लो समयमा विद्यार्थीको रोजाइ बनेको अंग्रेजी भाषामा विद्यालयले पढ्ने व्यवस्था मिलाएको छ । प्रअ धन्छाका अनुसार अतिरिक्त क्रियाकलाप र विद्यार्थी केन्द्रित अध्यापन विधिलाई विद्यालयले प्राथमिकता दिएको छ । जसको लागि शिक्षकहरुलाई स्थानीय तह र विद्यालयले तालिम पनि दिने गरेका छन् । संख्यात्मक रुपमा धेरै विद्यार्थीको आकर्षण रहेका अन्य नमूना विद्यालयहरुमा पनि मुख्यतः ती विद्यालयहरुले अपनाएको व्यवस्थापनमा आधुनिकता, पारदर्शिता र गुणस्तरीयता नै भएको पाइन्छ । जसले गर्दा निजी विद्यालयहरुसँग प्रतिस्पर्धा गरेर पनि सामुदायिक विद्यालयहरु अव्वल हुन पुगेका छन् ।