तालिम सञ्चालन गर्न काठमाडौं महानगरले एकैपटक २० वटा कलेजसँग हस्ताक्षर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले सरकारी र निजी गरेर २० वटा क्याम्पसहरुसँग सिपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका हुन् र महानगरपालिकाले चालु आर्थिक बर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ । यीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम एउटा हो । यो कार्यक्रममा रोजगारमूलक सिप विकास तालिम सञ्चालन हुन्छन् । यस्ता विविध विधाका तालिम सञ्चालन गर्न सम्झौता भएको हो । सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराइनेछ । १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने कार्यक्रमको लक्ष्य हो । सम्झौताबमोजिम कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्नेछ । तालिमको संयोजन र सहजीकरण महानगरपालिकाबाट खटाइएका तालिम संयोजकहरुले गर्नेछन् । सम्झौता अवसरमा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘रोजगारीका लागि सिप विकास तालिम चाहिनेहरु लक्षित वर्ग भएकोले रोजगारी वा आयमूलक काममा आवद्धता यसको नतिजा हो । महानगरको योजनामा सामाजिक उत्तरदायित्व वहन गर्दै कलेजहरुसँगै हुनु सुखद कुरा हो ।’ सहकार्यबाट परिणाम प्राप्त गर्न सहज हुने बताउँदै उनले, कार्यक्रमको सुखद थालनी नतिजामा देखिनुपर्ने धारणा राखिन् । सिपमूलक तालिम लिनका लागि अहिलेसम्म करिब १० हजार व्यक्तिको आवेदन प्राप्त भइसकेको छ । सूचना प्रविधिमा आधारित तालिममा धेरै व्यक्तिहरुको चासो छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले कार्यक्रमका बारेमा प्रस्तुतिकरण गर्दै भने, ‘६९.७ प्रतिशत पुरुष र ३०.३ प्रतिशत महिला आवदेकमध्ये ४७.९ प्रतिशत बागमती प्रदेशबाट हुनुहुन्छ । यस्तै मधेश प्रदेशबाट १२.१, कोशी प्रदेशबाट १२ प्रतिशत, सुदुरपश्चिमबाट ८.५ प्रतिशत हुनुहुन्छ । उहाँहरुमध्ये पनि ८०.६ प्रतिशत बागमती प्रदेशमा बसोबास गरिरहनुभएको छ ।’ १२ कक्षा उत्तीर्ण शैक्षिक योग्यता भएका आवेदकको संख्या सबैभन्दा धेरै ४८.२ प्रतिशत छ । निरक्षर ३० प्रतिशत, एसईई वा एसएलसी उत्तीर्ण ९.८ प्रतिशत, स्नातकोत्तर ८.३ प्रतिशत छन् । २४.१ प्रतिशतले यसअघि नै तालिम लिइसकेका छन् भने ७५.९ प्रतिशतले कुनै तालिम लिएका छैनन् । तालिम लिनेमध्ये १ बर्षभन्दा धेरै तालिम गरिसक्नुभएका आवेदकको संख्या १५.५ प्रतिशत छ । १८.९ प्रतिशतले १ महिनाभन्दा कम अवधिको, १९.१ प्रतिशतले ३ महिनादेखि १ वर्षसम्मको, ९.५ प्रतिशतले ६ महिनादेखि १ बर्षसम्मको तालिम लिनुभएको झाले जानकारी दिए । विभागका निमित्त प्रमुख कोइरालाका अनुसार महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबासी तथा करदाता समेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा प्राथमिक लक्षित वर्ग छन् । बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्तिलाई सबैलाई तालिमको अवसर प्रदान गरिनेछ । महानगरपालिकाभित्र १०५ वटा व्यवस्थापन र १२५ वटा प्राविधिक धारका क्याम्पसको नामावली प्राप्त भएको छ । कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी भन्नुहुन्छ, ‘तालिम सञ्चालन गर्नु अघि हामीले उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरिसकेका छौँ । यसपछि उद्योग क्षेत्रमा चाहिने आवश्यक जनशक्तिको पहिचानका लागि सरोकारवालासँग छलफल गर्नेछौँँ ।’ महानगरपालिकासँग शैक्षिक संघसंस्थाहरुले अनुसन्धानमूलक, ढाँचा निर्माणलगायत विविध क्षेत्रमा सहकार्यं गर्न सकिन्छ । हामी यसका लागि उत्साहित छौँ । इञ्जिनियरिङ् अध्ययन संस्थान, थापाथलीको अनुसन्धान तथा विकास एकाइ प्रमुख प्रदिप अधिकारीले भने, ‘नविनतम सोचलाई सामाजिक रुपमा अभ्यस्त गराउन हामीजस्ता शैक्षिक संस्थाहरुले योगदान दिन सक्छौँ ।’ तालिम लिन कसरी फाराम भर्ने ? चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको यो कार्यक्रममा सहभागी हुन गएको असोज २२ गते सार्वजनिक सूचनाबाट इच्छुक व्यक्तिहरुलाई फाराम भर्न आव्हान गरिएको छ । अनलाइन फाराममा आफूले तालिम लिन चाहेको विधा छान्न सकिन्छ । अनलाइनमा पहुँच नहुनेका लागि अन्य विधाका तालिम लिन वडा कार्यालयमा गएर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ । फाराममा इच्छुक व्यक्तिले नाम थर, शैक्षिक योग्यता, हाल सम्लग्न पेशा, तालिम लिएको भए विवरण, अनुभव कुन क्षेत्रमा छ, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि वा कर्मचारीको परिवार हो कि होइन, ल्याण्डफिल साइट प्रभावित क्षेत्रको बासिन्दा हो कि होइन, महानगरपालिकामा स्थायी बसोबास गर्नुहुन्छ कि हुन्न, महिलाहरुका हकमा एकल हो कि होइन, जस्ता विवरण भर्नुपर्छ । शारीरिक अपाङ्गता छ भने कस्तो खालको अवस्था हो जस्ता विवरण, फारामबाट माग गरिएका छन् । फाराम भर्नेले यी बिधामध्ये आफूलाई रुचि लागेको क्षेत्रलाई १ त्यसपछिको रुचिको क्षेत्रलाई क्रमशः २, ३, ४ र ५ नम्बर दिनुपर्नेछ । तालिमका विधाहरु १) प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ् तथा सीसीटिभी क्यामरा जडान तथा मर्मत तालिम २) सफ्टवेयर डिभलपमेन्ट तालिम ३) प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम ४) सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम ५) कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम ६) व्युटी पार्लर तथा सैलुन तालिम ७) मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम ८) लाइट भेहिकल मेन्टिनेन्स तालिम ९) कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम १०) हस्तकला तथा मूर्तिकला तालिम ११) आकाशे पानी संकलन तथा रिजर्व वोरिङ् तालिम १२) सरसफाइ तथा माली तालिम १३) कौसी खेती (भर्टिकल फार्मिङ्) तालिम १४) हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर) तालिम १५) फास्टफुड/चाइनिज र इन्डियन कुक तालिम १६) बारिस्ता/बेकरी तालिम १७) बार ट्रेण्डिङ्/वेटर/वेट्रिस तालिम १८) होम एप्लाइन्सेस मर्मत तालिम १९) अनलाइन रोजगार (जब) तालिम २०) सम्पदा निर्माण तथा मर्मत तालिम २१) प्रोसेसनल अकान्टिङ् तालिम २२) रिसेप्सनिष्ट तथा क्यासियर तालिम २३) मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम २४) ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ् २५) एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम २६) टुटिस्ट गाइड तालिम २७) सेक्युरिटी गार्ड तालिम २८) स्पा तथा थेरापी तालिम २९) लघु उद्यम विकास सहजकर्ता तालिम ३०) जुत्ता बनाउने तालिम ३१) सहकारी व्यवस्थापक तालिम ३२) गरगहना बनाउने तालिम ३३) विभिन्न खेलकुदका लागि ३४) साइबर सेक्युरिटी ३५) अन्य तालिमका लागि तालिममा भाग लिन चाहनेहरुले वडा कार्यालयमा सम्पर्क गरेर वा अनलाइन फारामबाट आवेदन दिन सक्नेछन् ।

‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा ह्वाइट हाउस कलेजले सहकार्य गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा काठमाडौं पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशल कजेजले सहकार्य गर्ने भएको छ । काठमाडौं महानगरपालिकासँग द्विपक्षीय सम्झौता गर्दै महानगरपालिकाले सञ्चालन गर्ने ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमसँग सम्बन्धित विभिन्न तालिम गराउने र दक्ष जनशक्ति उपलब्ध गराउने भएको हो । महानगरले गौरवको कार्यक्रमको रुपमा सञ्चालन गरिरहेको ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत कलेजले सफ्टवेर डेभलपमेन्ट, कन्ट्रक्सन लेवर तथा मिस्त्री, रेन वाटर हार्वेस्ट तथा रिभर, फास्ट फूड चाइनिज इन्डियन कुक, कौसी, वारिष्टा, बार टेन्डर वेटर, होम एप्लाएन्स तथा मर्मत, प्रोफेसनल अकाउन्टिङ, डिजिटल मार्केटिङ, मार्बल फिटर र एल्मुनियम युपीभीसी फेब्रीकेसन सम्बन्धी तालिम प्रदान गर्ने सम्झौता भएको छ । साथै, साइबर सेक्युरिटी, प्लान्ट टिस्यु कल्चर र अर्गानिक फर्टिलाइजर सम्बन्धी तालिम प्रदान गर्ने सम्झौता भएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले बताएका छन् । सम्झौता अनुसार कलेजले तालिमको लागि प्राविधिक सामग्री, जनशक्ति र स्थान उपलब्ध गराउने छ । सो सहकार्य तीन वर्षसम्म हुने सम्झौतामा उल्लेख गरिएको छ । काठमाडौं महानगरले ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमका लागि १२ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबारसम्म महानगरले सञ्चालन गर्ने विभिन्न तालिमका लागि ७ हजार बढीले आवेदन गरेको जनाइएको छ ।

शिक्षामन्त्रीको पहिलो निर्णय : विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने व्यवस्था हटाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्रपार्टीबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेकी नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले पदवहाली गरेकी छन् । पदवहाली गर्दै मन्त्री श्रेष्ठले मुलकको शिक्षा क्षेत्रमा प्रतिबद्ध भएर काम गर्ने बताएकी छन् । उनले सबैभन्दा पहिले सबै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहउपकुलपतिमा शिक्षामन्त्री पदेन रहने व्यवस्थालाई हटाउने निर्णय गरेकी छन् । उनले त्यो ठाउँमा शिक्षा विज्ञलाई राख्ने बताइन् । उनले गुणस्तरीय शिक्षा दिलाउन र विश्वविद्यालयमा हुने राजनीति निषेध गर्ने गरी कानुनको मस्यौदा बनाउन कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणका विरुद्ध संसददेखि सार्वजनिक मञ्चमा आफ्ना धारणा व्यक्त गर्दै आएकी थिइन् । शिक्षा क्षेत्रमा जारी अति राजनीतिकरणलाई कानुनी प्रावधानबाटै निरुत्साहित गर्न जरुरी रहेको भन्दै उनले पहिलो निर्णय पदेन पदका आवरणमा हुने राजनीतिकरण हटाउने बताएकी छिन् । उनले गरेको निर्णयमा भनिएको छ – नेपाली युवालाई नेपालमै गुणस्तरीय प्रदान गर्न त्रिभुवन विश्वविद्यालय लगायत संघीय कानुनअन्र्तगत स्थापना तथा सञ्चालनमा रहेको मौजुदा १३ वटा विश्वविद्यालयमध्ये ११ वटा विश्वविद्यालयमा रहेको कुलपति तथा सहकुलपतिको व्यवस्थालाई समसामयिक रूपमा परिमार्जन गर्दै विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्वबाट हुने गरी कानुनी प्रबन्ध गर्न आवश्यक भएकोले मौजुदा विश्वविद्यालय सम्बन्धि ऐन तथा उच्च शिक्षा सम्बन्धी कानुनमा सोहीबमोजिम सुधार गर्न आवश्यक व्यवस्थाका लागि प्रारम्भिक काम कारबाही अगाडि बढाइने छ । आफ्नो प्राथमिकता बारेमा कर्मचारीसँग बसेर छलफल गरेपछि बल्ल स्पष्ट खाका बनाउने उनले बताइन् । बुधबार अबेर राष्ट्रपति भवनमा सपथ ग्रहण गरेर सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पदभार ग्रहण गर्न आएकी श्रेष्ठलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।