तीन विश्वविद्यालय उपकुलपतिविहीन

काठमाडौं । तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । यसअघि नियुक्त हुनुभएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंह रहेका छन् । उनीहरूलाई चार वर्षअघि तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले २०७६ साल फागुन १९ गते उपकुलपति नियुक्त गरेका थिए। यी विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा मन्त्रालयले प्रक्रिया आरम्भ गरे पनि हाललाई स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस समिति गठन गरेर माघको अन्तिम साता सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान प्रक्रिया हालका लागि स्थगित गरिएको छ । प्रक्रिया स्थगित गर्नुको कारणबारे समितिले केही पनि खुलाएको छैन । माघ अन्तिम साता नै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको आवेदन आह्वान गर्दा १८ जनाले सोचपत्रसहित चारवर्षे कार्ययोजना बुझाएका छन् । उनीहरूले आवेदन साथ पेस गरेको योजना तथा सोचपत्रको अध्ययन भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । गोरखापत्रबाट ।

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई आज सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकूल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताए । ‘गुरूकूल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार, संस्कृतिको संरक्षण, सम्वद्र्धन, आफ्नो देशका तीर्थस्थलको महिमा र गरिमालाई आमजनसमुदायमा बुझाउन तल्लीन रहेका छन्’, प्रधानमन्त्री दाहालले भने, ‘२० वर्ष अगाडि मुक्तिनाथजस्तो तत्कालीन दुर्गम स्थानमा स्वास्थ्य सेवाश्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्वपूर्ण छ ।’ प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जबसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तबसम्म समाजले शान्तिको श्वास फेर्न नसक्ने प्रधानमन्त्रीले बताए । उनले भने, ‘गौतमबुद्धको देशमा जन्मेका हामी शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुपर्छ ।’

सामुदायिक विद्यालयका भवन राम्रा बने, विद्यार्थीको आकर्षण बढेन

रामेछप । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम हुन थालेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । रामेछापका ८७ माध्यमिक विद्यालयको नयाँ भवन बनेका थिए । ती विद्यालयमा विद्यार्थीको सङ्ख्या दिनानुदिन घट्दै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । शैक्षिक गुणस्तर नहुनु, जनसङ्ख्या वृद्धिदर न्यून हुनु र सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप हुनु लगायतका कारणले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुका मुख्य कारण भएको जिल्ला शिक्षा तथा समन्वय एकाइ रामेछापका प्रमुख भरतबहादुर भट्टराईले बताए । यसअघि जिल्लामा चार सयभन्दा बढी विद्यालय भए पनि विद्यार्थी कम भएकै कारण समायोजन भएर तीन सय ६० को सङ्ख्यामा झारिएका थिए । तर अझै विद्यार्थीको अभावमा ती विद्यालय एकअर्कामा समायोजन भई घट्ने अवस्था रहेको छ । यस्ता विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै जान लागेपछि सुधारको प्रयासका लागि जिल्ला शिक्षा समन्वय एकाइ, विभिन्न पालिकामार्फत हुने गरेका तालिम, गोष्ठी, अन्तक्र्रिया एवं छलफलले पनि खासै काम गर्न सकेको छैन । पूर्वशिक्षक गुञ्जबहादुर श्रेष्ठले सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने र गाउँमा समानुपतिक विकास नहुनुनै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जाने गरेको बताए । जिल्लामा पाँच नमूना माध्यमिक विद्यालय छन् एकरदुई वटाबाहेक ती विद्यालयले पनि खासै गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थी आकर्षण गर्न सकेका छैनन् । मुलुक सङ्घीय संरचनामा गएसँगै तत्कालीन जिल्ला शिक्षा कार्यालयले अनुगमन तथा नियमन गर्ने गरेका सबै विद्यालयसँग सम्बन्धित काम पालिकास्तरीय शिक्षा शाखाले गर्न थालेपछि भने अझै शैक्षिक गुणस्तर खस्कँदै गएको जनाइएको छ । माध्यमिक तहसम्म निःशुल्क शिक्षा भने पनि सामुदायिक विद्यालयले पनि जथाभावी विभिन्न बहानामा शुल्क असुल्ने गरेको र घरमा रहेका आफूजस्ता अभिभावक सौखिन भएका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या नबढेको अभिभावक शान्ति प्रकाश दाहालले जानकारी दिए । सबै तहका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउने खालको दक्ष शिक्षक नहुनु, शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने विद्यालयमा नपढाउनु, शिक्षक नियुक्ति गर्दा अनुभवी र दक्ष एवं राम्रा शिक्षकलाई भन्दा हाम्रा (आफ्ना, आफन्त) शिक्षकलाई प्रक्रिया मिलाएर नियुक्ति गर्ने गलत अभ्यास बढेको जनाइएको छ । अभिभावक सञ्जय वाग्लेले शिक्षक सेवा आयोगबाट आधारभूत वा माध्यमिक तह पास गरेर आएका शिक्षकमध्ये पनि पहुँचवालालाई मात्र आफ्नो पालिकामा ल्याउन पहल गर्नु नै शैक्षिक गुणस्तर खस्कनु र विद्यार्थीको सङ्ख्या घट्नुका कारण भएको उनले बताए । यसो त कक्षा १ देखि १२, सम्म निःशुल्क पाठ्यपुस्तक, ५ कक्षासम्म दिवा खाजाको व्यवस्था, टोलटोलबाट विद्यार्थी ल्याउन विद्यालयमा बसलगायतका सुविधा पनि नभएको भने होइत तर यी सुविधा हुँदाहुँदै पनि विद्यार्थीको सामुदायिक विद्यालयमा आकर्षण बढ्न सकेको छैन । संस्थागत विद्यालयसँग नमूना माविको रुपमा रहेको मन्थली मावि मन्थली र मावि डहुलेभन्दा बाहेकका अन्य माध्यमिक विद्यालयले गुणस्तरमा भने प्रतिस्पर्धा गर्न सकेका छैनन् । त्यही कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न नसकेको हो । आफूले पढाउने विद्यालयमा आफ्ना बालबालिका अधिकांश शिक्षकले नपढाउने गरेकाले पनि शैक्षिक गुणस्तर खस्केको अभिभावकको आरोप छ । दक्ष तथा अनुभवी एवं युवापुस्ताका शिक्षकलाई नयाँ नियुक्ति दिने र २० वर्ष वा सोभन्दा बढी समयसम्म शिक्षण गरेका शिक्षकलाई पेन्सन दिनुपर्ने अभिभावक नारायणबाबु बस्नेतले बताए ।