पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा तोयानारायण पौडेलसहित १८ जनाको आवेदन
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन् । उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो । आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल छन् । उक्त विश्वविद्यालयको उपकुलपति छनोटको कार्यविधि अनुसार उम्मेदवारको आवेदन चाँचबुझ गरी अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अल्पसूची प्रकाशन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसअघि त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा ४३ जनाले आवेदन दिएकामा १४ जना अल्पसूचीमा परेकामध्ये तीन जनाको नाम सिफारिस समितिले प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस गरिसकेको छ । सिफारिस समितिको अध्यक्षता शिक्षामन्त्रीले गर्ने व्यवस्था छ ।
त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञासामा उनले भने, ‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।’ पत्रकारिताजगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले गत पुसमा भएको बालकुमारी घटनाका सम्बन्धमा प्राप्त प्रतिवेदन आफूले अध्ययन गरिरहेको जानकारी दिँदै त्यस विषयमा छिट्टै निर्णय लिइने बताए । उनले आफूले प्रधानमन्त्रीका रुपमा मुलुकलाई विश्वमाझ चिनाउन प्रयत्न गरेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणबाट विभिन्न मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनेको बताए । ‘संयुक्त राष्ट्र सङ्घको महासचिवको नेपाल भ्रमण तथा आफूले विभिन्न अन्तर्राष्ट्रिय फोरममा जनाएको सहभागिताबाट नेपालप्रति विश्व समुदायको ध्यान गएको छ’, उनले भने । आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उनले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताए । ‘लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ’, उनले भने । सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री दाहालले सरकारले थालनी गरेको अभियानमा सञ्चारजगत्बाट सहयोगको अपेक्षा गरिएको बताए । भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । रासस
पीएचडी गर्ने पहिलो मुस्लिम नारी, पढिन् संस्कृत विश्वविद्यालयमा हिन्दु वास्तुकला
काठमाडौं । तपाईंले मुस्लिम समुदायसँग संगत गर्नु भएको छ ? यदि संगत गर्नु भएको छ भने तपाईंलाई पक्कै थाहा होला कि मुस्लिम समुदायका छोरीहरूले शिक्षा पाइरहेका छन् वा छैनन् भनेर । यो समुदायका अधिकांश छोरीहरूले १५/१६ वर्षको उमेरमै विवाह गर्छन् । उनीहरूलाई मदरसाभन्दा बाहिरको शिक्षाको विषयमा प्रायः जानकारी हुँदैन । तर, त्यो समुदायको संकुचित घेराबाट बाहिर निस्कँदै हिन्दु वास्तुकलामा विद्यावारिधी (पीएचडी) गरिन् डा.तबस्सुम सिद्दिकीले । उनले विद्यावारिधी गर्नसम्म धेरै उतारचढाव, संघर्ष र सकसहरू भोग्नुपर्यो । एकछिन कल्पना गरौं त, मुस्लिम समुदायकी छोरी तबस्सुमले हिन्दु वास्तुकलामा विद्यावारिधीसम्मको पढाइ पुरा गर्न कति मिहिनेत गरिन् होला ? कति हण्डर-ठक्करहरू सामना गर्नुपर्यो होला ? तर, उनले ती सबै चुनौतीहरूलाई सामना गरिन् । एउटा दृढ अठोट लिँदै पढिन् । र, आज मुस्लिम समुदायमा विद्यावारिधी गर्ने पहिलो महिला बनिन् उनी । उनले विद्यावारिधीमा हिन्दु धर्म र संस्कारसँग जोडेर अध्ययन गरिन् । वि.सं. २०७३ सालमा नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना भएर २०८० सालमा ‘हिन्दु वास्तुकला र मुस्लिम वास्तुकलाबीचको समानता र असमानता’ विषयमा विद्यावारिधी गरेकी हुन् । अहिले उनी काठमाडौंका विभिन्न कलेजमा वास्तुकला सम्बन्धी अध्यापन गराउँदै आएकी छन् । ‘मेरो रुचि नै वास्तुकलामा थियो, शिक्षामा कुनै धर्म हुँदैन, अध्ययन जुनसुकै विषयमा जोसुकैले पनि गर्न सक्छ भन्ने सोच स्थापित गर्नका लागि हिन्दु वास्तुकलामा पीएचडी गरेकी हुँ,’ पीएचडीमा हिन्दु वास्तुकलामा थेसिस लेख्नुको कारण खुलाउँदै उनले भनिन् । तबस्सुमको घर बाँकेको नेपालगञ्ज हो । उनको परिवार पहिल्यैदेखि शिक्षित थियो । उनका हजुरबुबा मुशी अब्दुल गनी कानुन व्यवसायी । बुवा डा. सलाउद्दीन अख्तर सिद्दिकी पूर्वन्यायाधीश । परिवारमा सबैजना पढेलेखेका भएकोले पनि उनलाई शिक्षामा अगाडि बढ्न सहयोग पुग्यो । छोरीलाई यहाँसम्म पुर्याउन उनका बुबालाई पनि कम्ता चुनौती थिएन । छोरीलाई बुर्काभित्र सीमित राख्नुपर्छ, स्कुल पठाउनु हुँदैन, सानैमा बिहे गरिदिनुपर्छ भन्ने समाजमा उनका बुबाले पढ्नुपर्छ भनेर छोरीलाई प्रोत्साहन गरेकै कारण आज तबस्सुम समाजमा उदाहरणीय पात्र बनिन् । नेपालगञ्जमा पढ्नका लागि राम्रो वातावरण नभएकै कारण तबस्सुम सानैमा भारत गइन् । भारतको उत्तराखण्डमा रहेको नैनीतालमा होस्टेलमा बसेर पढिन् । नेपालगञ्जको गर्मीमा बस्ने बानी परेकी उनलाई उत्तराखण्डको चिसो फापेन । र, पुनः पढ्नका लागि नेपालगञ्जमै फर्किइन् । वि.सं. २०५२ सालमा एसएलसी (हालको एसईई) पास गरेपछि नेपालगञ्जमा रहेको महेन्द्र माबिबाट उनले विज्ञान विषय लिएर प्लसटुमा भर्ना भइन् । तबस्सुमलाई नक्सा कोर्न मन पर्थ्याे । उनको चाहाना थियो इन्जिनियर बन्ने । प्लसटुपछि इन्जिनियर पढ्ने योजना थियो । त्यहीबेला उनले कल्चरएक्सचेन्ज कार्यक्रमबाट छात्रवृत्ति पाइन् । पाकिस्तानमा पढाइ तबस्सुम वि.सं. २०५६ मा पाकिस्तान गइन् । त्यहाँ लाहोरमा रहेको नेश्नल कलेज अफ आर्टसमा ब्याचलर इन आर्किटेक्चर पढिन् । यो कोर्स पुरा गर्न उनलाई पाँच वर्ष समय लाग्यो । त्यसपछि उनले इन्टेरियर डिजाइनसम्बन्धी स्नातकोत्तर गरिन् । त्यहाँ पढिसकेपछि उनी ७ वर्षपछि नेपाल फर्किन् । पाकिस्तानमा पढे पनि उनले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचिन् । तर, उनी नेपाल फर्किँदा देशमा द्वन्द्व चलिरहेको थियो । नेपाल आएर पनि बस्न नमिल्ने अवस्था बन्यो । उनी फर्केर फेरि भारतको लखनउ गइन् । त्यहाँ उनले एउटा कलेजमा लेक्चरको रूपमा काम गरिन् । उनलाई भारतमाभन्दा आफ्नै देशमा आएर काम गर्न मन थियो । र, वि.सं. २०७० मा फेरि नेपाल आइन् । उनलाई नेपाल आएर म आर्किटेक्ट हुँ भनेर कसरी चिनाउने भन्ने लाग्यो । उनी काठमाडौंको पुल्चोक इन्जिनियर कलेजमा काम गर्न थालिन् । त्यसपछि उनले पुल्चोक र हिमालयन कलेजमा फ्याकल्टी मेम्बरका रूपमा काम गरिन् । त्यसपछि उनलाई विद्यार्थीलाई पढाएर मात्र नभइ यो बाहेक केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसपछि सुरु गरिन् पीएचडीको पढाइ स्वदेश तथा विदेश गएर अध्ययनसँगै काम गरिसकेपछि उनलाई फेरि पढ्न मन लाग्यो । उनले पीएचडी गर्ने सोच बनाइन् । पीएचडी त गर्ने तर कहाँबाट ? कसरी ? उनले विश्वविद्यालय खोजिन् । अन्ततः नेपाल संस्कृत विश्वविद्यालय छनोट गरिन् । ‘मैले अध्ययनको लागि छनोट गरेको विषय संस्कृतमै थियो, त्यसको जानकारी लिनको लागि पनि मैले यो विश्वविद्यालय रोजेँ,’ बुबाले पनि त्यही विश्वविद्यालयबाट विद्यावारिधी गर्नु भएको थियो,’ उनले अनुभव सुनाइन् । उनले हिन्दु वास्तुकलामा विद्यावारिधी गरे पनि थेसिस अंग्रेजी भाषामा लेखेकी छन् । ‘अन्तर्राष्ट्रियस्तरमा सबैले नेपाली र संस्कृत भाषा बुझ्दैनन्, सबैलाई बुझ्न सहज होस् भनेर अंग्रेजीमा थेसिस लेखेकी हुँ,’ उनले भनिन् । ‘संस्कृत विश्वविद्यालय हिन्दुहरूका लागि मात्र हो भन्ने मान्यता छ । तर, त्यो होइन,’ उनी भन्छिन्, ‘यही भ्रम चिर्नको लागि पनि मैले यो विश्वविद्यालयबाट विद्यावारिधी गरेकी हुँ, शिक्षामा कुनै धर्म र समुदाय हुँदैन, जसले पनि पढ्न सक्छन् भन्ने उदाहरण पनि मैले दिएँ ।’ सात वर्ष लगाएर उनले विद्यावारिधी पास गरेकी हुन् । बुझाइ फरक, यर्थाथता समान उनले पाकिस्तानमा पनि १५० शैय्याको हिन्दु वास्तुमा आधारित अस्पतालको डिजाइन गरेकी थिइन् । वास्तुकला उपयोग गर्दा सुख समृद्धि आउँछ भने किन अस्पतालको डिजाइन नगर्ने भन्ने बुझाइ उनको थियो । स्नातकपछि स्नातकोत्तर पढ्दा हिन्दु र मुस्लिम वास्तुकलामा तुलनात्मक अध्ययन किन नगर्ने भन्ने पनि उनलाई लाग्यो । ‘अहिले जति अध्ययन भएको छ, त्यो हिन्दु वास्तुकला र बुद्ध वास्तुकलामा मात्र भएको छ,’ उनी भन्छिन्, ‘नेपालमा स्लामिक वास्तुकलाको बारेमा अध्ययन भएको थिएन, मलाई यही विषयमा अध्ययन गर्न मन लाग्यो र मैले तुलनात्मक अध्ययन गरेँ,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् । अध्ययनको क्रममा उनले दुवै धर्मका वास्तुकलामा धेरै समानता पाइन् । ‘हिन्दु वास्तुकला मठमन्दिरसँग जोडिन्छ भने स्लामिक भन्ने बित्तिकै मस्जिदसँग जोडिन्छ’ उनी भन्छिन्, ‘यी दुवै विषय धर्मसँग सम्बन्धित छन् र दुवै दिशानिर्देशक छन् ।’ कुनैपनि मन्दिर बनाउँदा दिशा हेरेर निर्माण गरिन्छ भने पुजाआजा गर्दापनि दिशा नै हेरिन्छ । दुवै धर्मका वास्तुकलामा धेरै समानता भेटिएको उनको भनाइ छ । हिन्दु वास्तुकलामा वास्तुशास्त्रको प्रभाव छ । घरमा पुजा गर्दा कुन दिशामा कुन कोठा राख्ने निर्धारण गरिएको हुन्छ । हिन्दुमा पुजा कोठालाई नर्थ साइडमा राखिन्छ भने स्लाममा कोठाको दिशा निर्देशन हुँदैन । अहिले जति पनि समुदायका वास्तुकलाको अध्ययन भएको छ फरक-फरक भएको छ । तुलानात्मक भएको छैन । तबस्सुमले यी दुवैमा अध्ययन गरेकी छन् । हिन्दु वास्तुकलामा पाटीपौवा, मठ, मन्दिर, धर्मशाला हुन्छ भने स्लाममा पनि मुसाफिर खाना र आँगन लगायत हुन्छन् । उनले मान्छेको बुझाइ फरक भए पनि हिन्दु र स्लामिकका अधिकांश विषयहरू समान पाइएको धारणा राखिन् । अनुसन्धानको त्यो भोगाइ यो विषयमा अध्ययन गर्न उनलाई पक्कै सजिलो थिएन । स्लामिक वास्तुकलामा अध्ययन गर्न उनलाई गाह्रो भएन । तर, हिन्दु वास्तुकलामा अध्ययन गर्दा समस्या भयो । ‘म फरक समुदायको विद्यार्थी, मलाई भित्र छिर्न दिइँदैन भन्ने थाहा थियो, उनले भनिन्, ‘मैले हिन्दु वास्तुकलाको खोजका लागि किताबहरूबाटै अध्ययन गर्नुपर्याे ।’ उनले विभिन्न बेदहरू पनि अध्ययन गर्नुपर्यो । ती बेदहरू ट्रान्सलेट गर्न विज्ञ कहाँ जानुपर्याे । यस्तो गर्दा उनलाई धेरै ठाउँ घुम्नुपर्याे । अनलाइनबाट पनि उनले धेरै विज्ञलाई खोजिन् । वास्तुकलाको बारेमा अध्ययन गर्नको लागि उनले विज्ञसँग धेरै भेट्नुपर्यो । उसो त स्लामिक वास्तुकलाबारे खोजी गर्न पनि त्यति सहज थिएन । यो विषयका विज्ञताहरू विदेतिर बढी थिए । उनी यसमा अध्ययन गर्न भारत, मलेसिया, साउदी कतार अरब पुगिन् । यसमा हिन्दु समुदायका विज्ञहरूले पनि सहयोग गरेको बताइन् । ‘मैले मिहिनेत पनि धेरै गर्नुपर्याे, मिहिनेत गरेजस्तो फल पनि पाएँ, खुसी पनि छुँ,’ मुस्कुराउँदै उनले भनिन् । बुबाको ढाडसले मिलेको सफलता तबस्सुमका ६ जना भाइबहिनी । उनी सबैभन्दा जेठी । उनका भाइबहिनी पनि डाक्टर, इन्जिनियर छन् । तबस्सुमले विवाह गरेकी छैनन् । उनलाई अब मन मिल्ने मान्छे पाए बिहे गर्न मन छ । ‘म यहाँसम्म पुगेँ, आफ्नै खुट्टामा उभिएकी छु । तर, आमालाई अहिले पनि मेरो चिन्ता छ, किनकी मेरो विवाह भएको छैन, बुबाले भने विवाह गर वा नगर तर पढ भन्नु भएको थियो, उहाँको त्यो प्रोत्साहनले नै आज म यो ठाउँमा पुगें,’ अनुभव सुनाउँदै उनले भनिन् । मुस्लिम समुदाय भन्ने बित्तिकै धेरै जसोको आँखामा बुर्काभित्र रहेका महिलाको तस्बिर आउँछ । तर, तबस्सुमले कहिल्यै पनि बुर्का लगाएर हिँड्नु परेन । उनलाई बुर्काको अनुभव पनि छैन । ‘म मेरो संस्कृतिलाई सम्मान गर्छु । तर, म कस्तो समाजमा हुर्किरहेकी छु त्यो हेरेर बुर्का लगाउने नलगाउनेमा निर्भर रहन्छ,’ उनी भन्छिन्, ‘यसको मतलब बुर्का हटाउनै पर्छ भन्ने पक्षमा म छैन ।’ ‘बुर्का लगाए पनि नलगाए पनि महिलाले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ,’ उनी भन्छिन्, ‘म साउँदी अरबमा भइदिएको भए बुर्का भित्रै रहन्थे होला । तर, म नेपालमा छु, म बसेको समाजमा सबै बुर्का बिना हिँडिरहेका छन् भने म किन अलग्गै देखिनुपर्यो ।’ कुनै पनि हिंसाबाट जोगिन शिक्षा अनिवार्य चाहिन्छ । अहिले पनि मुस्लिम समुदायमा छोरीलाई पढाउन हुँदैन भन्ने बुझाइ छ । कतिपयले घरभित्रै राखेर पढाउने चलन पनि छ । तर, उनी अब छोरीहरू बाहिर निस्केर स्वतन्त्रतापूर्वक पढ्नु पर्ने उनी बताउँछिन् । तबस्सुमलाई पढ्न नपाएका मुस्लिम समुदायका छोरीहरूलाई अगाडि बढाउन मन छ । ‘छोरीले कसैको साहरामा बाँच्न नपरोस्, ऊ आत्मनिर्भर बन्न सकोस्, यसका लागि शिक्षा चाहिन्छ, माइतीमा दाजुभाई र विवाहपछि श्रीमानको भरमा कुनै पनि छोरीलाई बाँच्नु नपरोस्, यो अन्त्य हुन सक्यो भने महिलामाथि हुने हिंसाको पनि अन्त्य हुन्छ, अब मलाई यो क्षेत्रमा पनि काम गर्ने मन छ,’ उनले आफ्नो आगामी योजना सुनाउँदै भनिन् ।