विद्यार्थी विदेशिएपछि क्याम्पस नै बन्द हुने स्थितिमा
ढोरपाटन । झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी न्यून बन्दै गएका हुन् । हरेक वर्ष विद्यार्थी संख्या घटेपछि क्याम्पसको अस्तित्व नै संकटमै पर्ने जोखिम बढेको छ । बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विसं २०७० सम्म विद्यार्थीको चाप थियो । दैनिक डेढ सयको हाराहारीमा क्याम्पस आएर पढ्ने विद्यार्थी हुन्थे तर अहिले भर्ना हुने ५० जना पनि छैनन् । बागलुङ बजार नजिकै रहेको पैयुँपाटा गाउँमा विसं २०४७ मा क्याम्पस स्थापना हुँदा गाउँका विद्यार्थीले सहज रूपमा उच्च शिक्षा हासिल गर्न पाएका थिए । पछि गाउँलेको बजार मोह र विद्यार्थीको बढ्दो विदेश पलायनका कारण क्याम्पस रित्तो बन्दै गएको हो । दिनप्रति दिन विद्यार्थीको संख्या घट्दै गएपछि क्याम्पस नै बन्द हुने जोखिम बढेको छ । क्याम्पसमा विद्यार्थीलाई निःशुल्क पढाउने वातावरण बनाए पनि संख्या बढ्न सकेको छैन । अहिले क्याम्पसमा गाउँका छोरी बुहारी मात्रैले परीक्षा दिने गरेका छन् । पुरुष विद्यार्थी निकै न्यून छन् । क्याम्पस अनुदान आयोगबाट आउने सहयोग र अक्षकोषबाट सञ्चालन भएको बलेवा बहुमुखी क्याम्पसका प्रमुख ज्ञानेन्द्रराज पन्तले बताए। हाल क्याम्पसमा एक पूर्णकालीन, नौ आंशिक प्राध्यापक र कर्मचारी कार्यरत रहेको उनको भनाइ छ । अनुदान आयोगबाट वार्षिक ११ लाख ९० हजार रुपैयाँ आउने र क्याम्पसको १ करोड ४५ लाख अक्षकोष रहेको हुँदा त्यसबाट क्याम्पस सञ्चालन गरिरहेको पन्त बताउँछन् । क्याम्पसमा दैनिक पढ्ने विद्यार्थी नहुने उनको भनाइ छ । क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायको पढाइ हुने उनी बताउँछन् । ‘दश वर्षअगाडि सम्म विद्यार्थीको सङ्ख्या राम्रै थियो, त्यसपछि हरेक वर्ष घट्दै गएको छ, बागलुङ बजार पनि नजिकै रहेको हुँदा कोही बजार जान्छन्, कोही पोखरा, काठमाडौँ गएर पढ्छन्, गाउँमा विद्यार्थीको सङ्ख्या निकै कम भएको हुँदा क्याम्पस पनि न्यून बन्दै गएको हो,’ क्याम्पस प्रमुख पन्तले भने, ‘केही वर्ष अगाडिसम्म विदेश जाने चलन कम थियो, अहिले १२ पास गर्न नपाउँदै विद्यार्थी सबै विदेशको तयारीमा लाग्छन्, त्यसले गर्दा गाउँका क्याम्पसमा विद्यार्थी निकै कम भए ।’ बागलुङ–१३ का अध्यक्ष नारायणप्रसाद शर्मा पौडेलले २०४७ सालमा गाउँका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षा दिलाउनका लागि आफूहरुले ठूलो संघर्ष गरेर क्याम्पस स्थापना गरेको तर अहिले बन्द हुने स्थितीमा पुगेको बताए । गाउँमा १२ पास भएर पढाइ छाडेकाहरूलाई पढ्नका लागि प्रोत्साहन गर्दै निःशुल्क पढ्ने वातावरण तय गर्दा पनि विद्यार्थी नबढेको उनको भनाइ छ ।
उच्च शिक्षा अध्ययनका लागि ६६ देशमा १ लाख १२ हजार विद्यार्थीलाई अनुमति
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि एक वर्षमा ६६ देशका लागि १ लाख १२ हजार बढी विद्यार्थीले अध्ययन अनुमति पत्र लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार २०८० साउन १ गतेदेखि २०८१ असार ३१ सम्ममा उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा बढी जापानका लागि अध्ययन अनुमतिपत्र लिएका छन् । जापानमा ३४ हजार ७ सय ३१ जनाले अनुमतिपत्र लिएका छन् । त्यसैगरी क्यानाडामा १५ हजार ९८२, अस्ट्रेलिया १४ हजार ३७२, बेलायत १३ हजार ३३९, अमेरिका ११ हजार २६१, दक्षिण कोरिया ६ हजार ८८९ जना विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएका छन् । बंगलादेशमा भने चार सय ४८ जनाले अनुमतिपत्र लिएका छन् । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जानेमध्ये सबैभन्दा बढी जापानी भाषा अध्ययनका लागि ३३ हजार ६७९ जनाले अनुमतिपत्र लिएका छन् । विभिन्न देशमा व्यवस्थापन विषय अध्ययनका लागि २८ हजार आठ ९१, बिजनेस अध्ययनका लागि १० हजार २९, स्वास्थ्य शिक्षामा चार हजार १५९, सूचना प्रविधिमा पाँच हजार ९११, विज्ञानमा पाँच हजार ३८४, हस्पिटियालिटीमा २५ सय ४३, कम्प्युटर साइन्समा ४ हजार ९ सय ९२ अनुमतिपत्र लिएका छन् ।
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह : त्यहाँ रहेका साथीको सुरक्षा होस्
काठमाडौं । बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले सोमबार परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् । ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् । परराष्ट्र मन्त्रालयले आइतबारसम्म एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किसकेका जनाएको छ । आइतबार नेपाल फर्किएका ढाकास्थित विभिन्न कलेजमा चिकित्साशास्त्र विषयमा अध्ययनरत केही विद्यार्थीले आज परराष्ट्र मन्त्रालय पुगेर मन्त्री डा राणासँग भेट गरेका थिए । उनीहरुले आन्दोलनका कारण त्यहाँका विभिन्न कलेजमा अध्ययनरत नेपाली तथा विदेशी विद्यार्थीले असुरक्षित महसुस गरेको जानकारी गराएका थिए । हाल ढाका र त्यस वरपरका क्षेत्रमा इन्टरनेट तथा टेलिफोन सेवा समेत काटिएकाले आफ्ना परिवारसँग पनि सम्पर्क गर्न नसकिएको, आफू रहेका स्थानबाट बाहिर निस्कन नपाएको र त्यहाँ रहेका विद्यार्थी सम्पर्कविहीन हुँदा आत्तिएका उनीहरुले जानकारी गराए । उनीहरुले ढाकास्थित नेपाली दूतावासले त्यहाँ अप्ठेरोमा परेकाहरुका लागि सम्पर्क र समन्वय गरेको, नेपाल आउन चाहनेलाई आवश्यक सहयोग गरेको जानकारी दिँदै कलेजभित्रै रहेका विद्यार्थीलाई त्यस्तो कुनै असुरक्षाको अवस्था नभए पनि इन्टरनेट, फोन आदि नभएकाले आफ्ना परिवारसँग सम्पर्क गर्न नपाएर उनीहरु आत्तिएको बताए । हाल त्यहीँ रहेका आफ्ना नेपाली साथीहरुलाई सुरक्षित रहनका लागि पहल गर्न र आन्दोलनका कारण आफ्नो अध्ययनमा परेको असरलाई कम गर्नका लागि कूटनीतिक माध्यमबाट पहल गरिदिन विद्यार्थीहरुले मन्त्री डा राणासँग आग्रह गरेका छन् । अहिलेको जस्तो समस्या भोलि पनि आउन सक्ने भएकाले त्यहाँ रहेका सबै नेपालीको सम्पर्क एवं तथ्यांक ढाकास्थित नेपाली दूतावासले राख्ने र समय समयमा अप्ठेरो परेका बेला सहयोग गर्न सक्ने वातावरण निर्माण गरिदिन विद्यार्थीले आग्रह गरेका छन् । त्यस अवसरमा परराष्ट्रमन्त्री डा राणाले शान्तिपूर्ण अवस्था नभएसम्म नफर्किन सुझाव दिँदै नेपाल सरकारले त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षाका साथै उनीहरु घर आउन चाहेमा त्यसका लागि पनि आवश्यक सहयोग र समन्वय गरिरहेको जानकारी गराइन् । मन्त्रालयमा ‘हेल्प डेस्क’ राखेर र ढाकास्थित नेपाली दूतावासलाई सक्रिय बनाएर त्यहाँका नेपालीलाई आवश्यक सहयोगका लागि निर्देशन दिइएको जानकारी दिँदै उनले नेपाली विद्यार्थीको अध्ययनका सम्बन्धमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट गर्न सकिने सहयोग गर्ने उल्लेख गरिन् । सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा हाल बंगलादेशमा आन्दोलन जारी रहेको छ ।