रिलायबल नेपाल लाइफको नाफा ५१.७० प्रतिशत बढ्यो, साढे ११ अर्ब रुपैयाँ पुग्यो जीवन बीमा कोषको आकार
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ५१.७० प्रतिशत बढेर ३५ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत पुससम्म कम्पनीको खुद बीमाशुल्क आर्जन २६.५९ प्रतिशत बढेर २ अर्ब २१ करोड ८७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २८.३५ प्रतिशत बढेर २ अर्ब १० करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुससम्ममा कम्पनीले १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ४ अर्ब ८५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ भने २ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ कुल खर्च गरेको थियो । गत वर्षको पुससम्ममा कम्पनीले २ अर्ब ४१ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब १८ करोड १९ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँ रहेको छ । कमपनीको जीवन बीमा कोषको आकार ११ अर्ब ५३ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषको आकार ८ अर्ब ४९ करोड २७ लाख रुपैयाँ थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँबाट बढेर १५.१० रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६.६६ रुपैयाँ रहेको छ ।
नेपाल बीमक संघको अध्यक्षमा क्षेत्री र महासचिवमा पन्त सर्वसम्मत
काठमाडौं । नेपाल बीमक संघमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । शुक्रबार संघको कार्यसमिति चयन सर्वसम्मत भएको हो । संघमा कार्यसमितिका लागि सबैको एक्लो उम्मेदवार परेसँगै सर्वसम्मत चयन भएको हो । अध्यक्षका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्री र महासचिव पदमा एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तको सर्वसम्मत चयन भएका हुन् । यसैगरी, उपाध्यक्षमा नेको इन्स्योरेन्सका सीईओ अशोककुमार खड्का, कोषाध्यक्षमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ युगेशभक्त बादे श्रेष्ठ चयन भएका हुन् । संघको कार्यसमितिमा नयाँ सदस्यमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठ, द ओरिएन्टल इन्स्योरेन्सका सीईओ टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चयन भएका हुन् । संघको कार्यसमितिको कार्यकाल २ वर्षको हुने छ ।
बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’ सार्वजनिक
काठमाडौं । क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री समय सार्वजनिक गरेको छ। सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ। त्यसमा एउटा सामान्य व्यापारीको परिवारको छोरी १२ कक्षाको नतिजापछि उच्च शिक्षाका लागि विदेशिने ध्याउन्नमा हुन्छिन्। उनको भिसादेखि लिएर शिक्षासम्मको खर्चको जोहो गर्नका लागि अभिभावकलाई धौधौ पर्छ। केही समययता देखिएको आर्थिक शिथिलताले बैंकको कर्जा सेवा, व्यापारदेखि लिएर आपसी व्यवहारसम्ममा पारेको प्रभावलाई झल्काउँदै अप्ठेरो परेका बेला कर्जा वा सापटी हात पार्न असहज भएको अवस्थालाई मर्मस्पर्शी ढंगबाट झल्काइएको छ। सापटीका लागि अनेक प्रयास गर्दा पनि केही उपाय नलागेपछि अन्ततः ७ महिनाको पर्खाइपछि ती व्यापारीले छोरीको उच्च शिक्षाका लागि बैंकबाट शैक्षिक कर्जा पाउँछन् र छोरीलाई विदेश पठाउने सपना साकार पार्न सहज हुन्छ। छोरी विदेशिने भएपछि खुसी साट्न खाना खाने निम्तोमा आएको छोरीको साथीको अभिभावकले छोरी जन्मिएलगत्तै जीवन बीमा गरिदिएकाले उच्च शिक्षाका लागि चाहिने पैसाको जोहो गर्न कुनै तनाव नभएको सुनाउँदा ती व्यापारी पिता समय छँदै आफूले जीवन बीमा नगरेकोमा पछुतो मान्छन्। ढिलै भए पनि उनी जीवनको उत्तराद्र्धका लागि पनि जीवन बीमा चाहिन्छ भन्ने निष्कर्षसँगै बीमा गर्न तत्पर हुन्छन्। यो श्रव्यदृश्य सामग्रीले छोराछोरीको उच्च शिक्षाका लागि नेपालको निम्न मध्यम वर्गीय परिवारका अभिभावकले भोग्नुपरिरहेको साझा समस्या र चुनौतीको प्रतिनिधित्व गर्ने प्रयास गरेको छ। जीवन बीमालाई लिएर आमनागरिकमा अझै पनि विद्यमान अज्ञानता, आर्थिक रुपमा सम्पन्न भए पनि भविष्यका लागि आवश्यक पर्ने पैसाको जोहोका लागि समय रहँदै बचत, लगानी गर्नुपर्छ भन्ने चेतना र अभ्यासको पनि अभाव रहेको परिवेशलाई दर्शाइएको छ। क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशवप्रसाद भण्डारीले बीमाको सचेतनाका माध्यमबाटै संकटको समयमा काँध थापिदिने विश्वासिलो सहयात्री बीमाको सुरक्षा छातामुनि सबैलाई समेट्न सम्भव हुने बताए । यो सामग्रीको पटकथा लेखन तथा निर्देशन रोमियो गुरुङको रहेको छ भने छायांकन ईश्वर बल्लभ उप्रेतीले गरेका हुन्। भण्डारीको परिकल्पनामा बनेको यस पटकथाको व्यवस्थापन आकाश कुँवर गरेका हुन्। विशेष सिलवाल र पुष्कर महत्वनको संगीत तथा सन्तोष दवाडी र रोमियो गुरुङको सम्पादनमा रहेको छ। यस श्रव्यदृश्य सामग्रीमा सन्दीप डंगोल, निरु खड्का, रोशिका पौडेल, राधा गिरी, प्रभाष लिम्बू र ईश्वर बल्लभ उप्रेतीको अभिनय रहेको छ। विशेष भूमिकामा कृष्ण मल्ल देखिएका छन्।