चापागाइँले छोडे राष्ट्र बैंक, बुधबारदेखि बीमा समितिको ४ बर्षे कमाण्ड सम्हाल्ने
काठमाडौं, २६ पुस । बीमा समितिका नव नियुक्त अध्यक्ष चिरञ्जीवी चापागाइँले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । उनले मंगलबारदेखि लागु हुनेगरि नेपाल राष्ट्र बैंकको सम्पुर्ण जिम्मेवारी छाडेका हुन् । बीमा समितिको चार बर्षे कार्यभार सम्हाले लगत्तै सोही दिन चापागाइँले सरोकारवाला निकायहरुसँग छलफल कार्यक्रम आयोजना गरेका छन् । चापागाईलाई पुस १४ गते बसेको मन्त्रिपरिषद बैठकले बीमा समितिको अध्यक्ष नियुक्त गरेको थियो । चापागाइँले नेपाल राष्ट्र बैंकको पोखरा शाखाका प्रमुख थिए । बाग्लुङमा जन्मेका चापागाइँले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पछि पूर्वाञ्चाल विश्वविद्यालयबाट एक्जिक्यूटिभ एमबीए (दोस्रो) सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।
सेवा र लाभांश दुबै हिसावले सगरमाथा इन्स्योरेन्स कम्पनी सबैभन्दा बलियो कम्पनी हो
चङ्की कुँवर क्षेत्री – प्रमुख कार्यकारी अधिकृत, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड चङ्की कुँवर क्षेत्रीले सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको ६ महिना भएको छ । शंकरदेव क्याम्पसबाट विकम र एस इन्स्टीच्यूट अफ म्यानेजमेन्टबाट इएमबीए गर्नुभएका क्षेत्री विगत २१ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले सगरमाथा इन्स्योरेन्समा करिव १७ वर्ष काम गरिसक्नु भएको छ । उहाँले कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी समालेपछि कम्पनीको विजनेश बढेको देखिन्छ । चालु आर्थिक वर्षको प्रथम ५ महिनमा कम्पनीको बिजनेश करिव ४० प्रतिशत बढेको छ । कम्पनी वित्तीय अवस्था, सेवा विस्तार र लगानीकर्तालाई दिन सक्ने सम्भावित प्रतिफलको विषयमा केन्द्रीत भएर विकासन्युजले उहाँसँग विकास वहस गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था कस्तो छ ? समग्रमा भन्नु भर्दा सगरमाथा इन्स्योरेन्स कम्पनी पहिला पनि स्ट्रोङ (सबल) कम्पनी हो र अहिले पनि स्ट्रोङ छ । कम्पनीले सेयरधनीलाई १२६ प्रतिशतसम्म लाभांश दिएको इतिहास छ । भूकम्पले हाम्रा ग्राहकलाई ठूलो क्षति पुग्यो । ठूलो कम्पनीको धेरै ग्राहक हुनु र विनासकारी भूकम्पपछि सबैभन्दा बढी बीमा दावी आउनु स्वभाविक थियो । अप्ठ्यारो अवस्थामा हामीले उहाँहरुको सेवा गर्ने मौका पायौ । अहिलेसम्म बीमा दावीको ९५ प्रतिशत भुक्तानी गरिसकेका छौं । १ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी भुक्तानी गसिसक्यौ । अब करिव ५ प्रतिशत बाँकी छ । त्यो पनि खासखरी अर्पाटमेन्टहरुको छ । उनीहरुले पहिलो किस्ता लगिसकेका छन् । मर्मत सम्पन्न भएपछि अन्तिम किस्ता भुक्तानी हुन बाँकी हो । भूकम्प पीडित ग्राहकलाई १ अर्ब ३० करोड दावी भुक्तानी गर्दा पनि कम्पनीले गत वर्ष २५ प्रतिशत बोनस सेयर दियो । यो वर्ष २३ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजादै छौं । अहिलेसम्ममा सेयरधनीलाई सबैभन्दा बढी लाभांश दिने कम्पनी सगरमाथा हो । दावी भुक्तानीमा पनि सबैभन्दा बढी सगरमाथा सबैभन्दा अगाडि छ । त्यसैले ग्राहकलाई दिने सेवा र कम्पनीका सेयरधनीलाई दिने लाभांश दुबै हिसावले हामी बलियो कम्पनी हौ । बीमा बजारमा प्रतिस्पर्धा चर्को छ । कतिपय मामिलामा अस्वस्थ्य प्रतिस्पर्धा छ । तर हामी स्वच्छ प्रतिस्पर्धा गरिरहेको छौ । गत आर्थिक वर्षको १ अर्ब ११ करोड प्रिमियम संकलन गरेका थियौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रिमियम संकलन ४० प्रतिशतले वृद्धि भएको छ । हाल कम्पनीको चुक्ता पुुँजी ४४ करोड १२ लाख रुपैयाँ छ । यस पटक बोनस सेयर वितरणपछि चुक्ता पुँजी करिव ५४ करोड रुपैयाँ हुन्छ । चालू आर्थिक वर्षको मंसिरसम्मको प्रिमियम वृद्धिदर ४० प्रतिशत रहेको छ तर अग्नी बीमा तर्फ प्रिमियम बृद्धिदर १३ प्रतिशत मात्र देखिन्छ । भूकम्प पछि अग्नी बीमा झन बढ्नु पर्ने होइन ? हाम्रो अनुमान अनुसार पनि त्यो बढेको छैन । नेपालीहरुको आफ्नै प्रेडिक्सन हुन थालेको छ । भूकम्पले हल्लाउन छाड्यो । अब यति बर्ष भूकम्प आँदैन भनेर आफै पूर्वानुमान गर्न थाले । अर्को महत्वपूर्ण कुरा के हो भने यात्रु र तेस्रो पक्षको बीमा बराबर भयो । त्यसले मोटर बीमा बढायो । साथै गाडी आयात बढेको छ । त्यसले पनि मोटर बीमाबाट प्रिमियम बढी उठेको छ । एक करोडको घरको प्रमियम १० हजार हुन्छ भने एक करोडको गाडीको प्रमियम डेढ लाख हुन्छ । कुल बीमा बजारको ५० प्रतिशतको हाराहारीमा मोटर नै हुने गरेको छ । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आर्थिक वर्ष २०७२/७३ मा कम्पनीको नाफा १७५ प्रतिशतले बढेको देखिन्छ । भूकम्प र नाकाबन्दीले अर्थतन्त्र थलिएको र आर्थिक वृद्धि १ प्रतिशतभन्दा कम रहेको समयावधिमा उच्चदरको नाफा कसरी भयो ? आर्थिक वर्ष २०७१/७२मा भूकम्प गयो । भूकम्प पीडितबाट दावी उच्च भएकोले सो वर्षको नाफाबाट हामीले सात करोड प्रोभिजनमा राखेको थियो । त्यसैले सो आर्थिक वर्षको नाफा कम देखियो । आर्थिक वर्ष २०७१/७२ नाफा कम देखिएकोले आर्थिक वर्ष २०७२/७३मा नाफा वृद्धि उच्च देखिएको हो । चालु आर्थिक वर्षमा कम्पनीले कति नाफा आर्जन गर्ला ? यो वर्ष एक अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्ने लक्ष्य छ । गत वर्षको तुलनमा ३५ प्रतिशतको बृद्धि हुन्छ भन्ने हो । अनुमान अनुसारको वृद्धि भइरहेको पनि छ । ठूलो दुर्घटना भएन भने र ठूलो दावी परेन भने सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई दिने लाभांश २० प्रतिशत भन्दा कम हुँदैन, बढी नै हुन्छ । पुँजी बढेको छ, नाफा पनि बढेको छ । पुँजी वृद्धि धेरै भयो भने प्रति सेयर आम्दानी घट्न सक्छ । तर कम्पनीको नाफा निरन्तर वृद्धि गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं । कम्पनीको चुक्ता पुँजी वृद्धिबारे के योजना छ ? चुक्ता पुँजी अहिले ४४ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि करिब ५४ करोड रुपैयाँ हुन्छ । कम्पनीले लगातार विगत तीन वर्ष बोनस सेयर वितरण गरेर चुक्ता पुँजी बढाउँदै आएको छ । यस वर्षको साधारणसभामा थप नयाँ सेयर निश्काशन (एफपीओ) गर्ने प्रस्ताव गरेको छ । तर कति सेयर निष्काशन गर्ने भनेर सुनिश्चित गरिएको छैन । मर्जरमा जाने हो कि पनि भन्ने छ । एफपीओको प्रस्ताव ल्याउनु भएको छ, कति कित्ता सेयर निष्काशन गर्न लागेको हो ? कित्ता कति भनेर अहिले तय भैसकेको छैन । कस्तो खालको र कति भन्ने विषय बोर्डले निर्णय गर्छ । कम्पनीको संयुक्त लगानीकर्ता, बीमा समिति, धितोपत्र बोर्डसँग सहमति लिनुपर्छ । बीमा समितिले पुँजी कति तोक्छ, त्यो पनि हेर्नुपर्छ । अहिले साधारणसभाबाट निर्णय गरिराख्यो भने पछि प्रक्रिया अगाडि बढाउने सजिलो हुन्छ । यतिबेला चुक्ता पुँजी कति बनाउने भनेर बीमा कम्पनीहरु अन्यौलमा परेका हुन् ? निर्जीबन बीमा कम्पनीको लागि पहिला चुक्ता पुँजी तीन करोड रुपैयाँ तोकिएको थियो । पछि बढाएर पाँच करोड, १० करोड हुँदै अहिले २५ करोड रुपैयाँ पुर्याउनु पर्ने निर्णय बीमा समितिले गर्यो । यतिबेला सगरमाथा इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी करिव ५५ करोड भईसक्यो । अब बीमा समितिले कस्तो नीति लिन्छ भन्नेमा हाम्रो ध्यान गएको छ । वहसमा १ अर्बदेखि ५ अर्ब सम्मको कुरा छ । तर अहिलेसम्म निश्चित छैन । ४/५ अर्बको कुरा आयो भने मर्जतर्फ पनि ध्यान दिनुपर्छ । सबैले ध्यान दिनु पर्ने विषय के हो भने पुँजी बढाएर मात्र बीमा बजार विस्तार हुन्छ कि हुँदैन ? पुँजी थोरै हुँदैमा बीमा कम्पनी डुब्छ भन्ने सोच गलत हो । थोरै पुँजी भएपनि बीमा कम्पनी डुब्दैन भन्ने कुरा नेपाल मै प्रमाणित भईसक्यो २०७२ सालको विकासकारी भूकम्पपछि । भूकम्प जाँदा सगरमाथाको चुक्ता पुँजी ३४ करोड थियो । हामीले भूकम्पबाट क्षति पुर्याएका ग्राहकलाई १ अर्ब ३० करोड भुक्तानी गरिसक्यौ । बीमामा जोखिम सेयर हुनैपर्छ । पुनर्बीमा गर्ने पर्छ । धेरै पुँजी हुँदैमा सबै जोखिम कम्पनीले लिएर बस्न सक्दैन । अहिले पनि बीमा बजारमा अस्वस्थ्य प्रतिस्पर्धा छ । बजारमा स्वस्थ्य प्रतिस्पर्धा हुने, बीमाबारे जनचेतना बढाउने, पहुँच बढाउनेतर्फ जोड दिन जरुरी छ । तपाईले भनेजस्तै अस्वस्थ प्रतिस्पर्धा कहाँ र कसरी भईराखेको छ ? बजारमा उदार चढाव आउने, प्राइसमा उदारचढाव आउने गरेको छ । कम्पनीहरुबीच गुणस्तरीय सेवामा भन्दा बीमा शुल्कमा प्रतिस्पर्धा हुने गरेको छ । कम्पनीहरुबीच कसले बढी प्रिमियम संकलन गर्ने भन्नेमा प्रतिस्पर्धा छ । बीमा समितिलाई यो कुरा थाहा छ । बीमा शुल्क बीमा समितिले तोकेको छ । तर त्यहाँ प्राइस कटिङ छ । मेरो भनाई प्राइसमा होइन, क्वालिटीमा प्रतिस्पर्धा जरुरी छ । मूल्यमा प्रतिस्पर्धाले उपभोक्तालाई त लाभ नै हुन्छ नि, हैन ? त्यस्तो लाभ क्षणिक हुनसक्छ । नेपालको बीमा नेपालको सीमाभित्र सीमित हुँदैन । पुर्नवीमा मार्फत एशिया, यूरोप, अमेरिका, अफ्रिका लगायत विश्व बजारमा जोखिम सेयर हुन्छ । पुनर्बीमा कम्पनी नेपालमा किन आउँछ ? नाफाको लागि हो । नेपालको बजारमा जब पुनर्बीमा कम्पनीले नोक्सान देख्छ, उसले रेट बढाउँछ । त्यसको मार फेरी हामीलाई नै पर्ने हो, हाम्रा ग्राहकलाई नै पर्ने हो । पुनर्बीमा कम्पनीले नेपालमा बीमा गर्दिन भनेको दिन हामीले के गर्ने ? नेपालमा माओवादी द्वन्द्व चर्केको र संकटकाल लागू भएको बेलामा पुनर्बीमा कम्पनीहरुले नेपालमा काम गर्दिन भनेर घोषणा नै गरे । हामीले आकष्मिक बीमा कोष गठन गर्नुपर्यो । नयाँ सम्झौता गर्नुपर्यो । अस्वास्थ प्रतिष्पर्धाले भोलि अर्को जोखिम निम्तिन सक्छ । सगरमाथा इन्स्योरेन्स प्राइस कटिङको प्रतिस्पर्धामा छैन ? ट्यारिफमा चाहिँ गर्दै गर्दैनौं । ननट्यारिफमा अलिअलि छुट हुन्छ । ननट्यारिफमा पनि एउटा गाइडलाइन हुन्छ । त्यो गाइडलाइन भन्दा तल जाने काम चाहिँ गर्दैनौ । बजारमा कस्तो भयो भने ननट्यारिफ तर्फ ‘वाई वान गेट वान’ भयो । यसले बीमा बजारलाई फाइना गर्दैन । सगरमाथाले आफ्ना ग्राहकलाई दिएको विशेष सेवा के हो ? बीमा पोलिसी जारी गर्ने, प्रिमियम संकलन गर्ने जस्ता नियमित सेवा सबैले गर्छन । बीमा कम्पनीले गर्नु पर्ने मुख्य काम भनेको दावी पर्दा भुक्तानी प्रक्रिया कति सहज छ, कति छिटो छ, नियम अनुसार दावी रकम पायो कि पाएन भन्ने हो । ग्राहकलाई असहज अवस्था पर्दा कसले सहज ढंगबाट सेवा दिन्छ भन्ने हो । हामीले ग्राहकको सेवालाई छिटो र छरितो बनाउँन ‘भिआईपी अन दी स्पोर्ट’ सेवा दिएका छौं । त्यसको छुट्टै डिपार्टमेन्टसमेत खोलेर काम गरेका छौं । यसको प्रभाव धेरै राम्रो भएको छ । ग्राहकले नै महसुस गर्न सक्ने गरि सगरमाथाबाट छिटो सेवा दिएका छौं । अहिले हाम्रा ग्राहकबाट माउथ टु माउथ सगरमाथा इन्स्योरेन्सको प्रमोशन हुन थालेको छ । बीमामा नयाँ अध्यक्ष नियुक्ती भएको छ । समितिबाट कम्पनीले नयाँ अपेक्षा के गरेको छ ? बीमा समितिबाट हामीले गर्ने अपेक्षा भनेको सहज बातावरण हो । बजारमा स्वच्छ प्रतिस्पर्धाको बातावरण बन्नु पर्छ । बजारको व्यवस्थित विकासका लागि नियमन, संस्थागत सुशासन जरुरी छ । नयाँ अध्यक्ष राष्ट्र बैंकमा काम गरेको अनुभवी मान्छे हुनुहुन्छ । पक्कै पनि उहाँको कार्यकालमा धेरै राम्रो हुने अपेक्षा गरेका छौं । कसरी हुन्छ यो क्षेत्रको बढावा गर्ने काम हुनुपर्छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीमा चार जना नयाँ सञ्चालक, अध्यक्षमा विमल वाग्ले चयन
काठमाडौं, २० पुस । एनएलजी इन्स्योरेन्स कम्पनीमा चार जना नयाँ सञ्चालक नियुक्त भएका छन् । साथै कम्पनीको अध्यक्ष पनि परिवर्तन भएको छ । पूर्वसचिव विमलप्रसाद वाग्ले, राष्ट्रिय वाणिज्य बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र सोही कम्पनीका नायव महाप्रबन्धक सुरेशप्रसाद खत्री सञ्चालक समितिमा नियुक्त भएका छन् । स्रोतका अनुसार उनीहरु चारै जनाले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट एनएलजीमा प्रतिनिधित्व गरेका हुन् । सञ्चालक समितिको अध्यक्ष विमलप्रसाद वाग्ले भएका छन् । काठमाडौंको अनामनगरस्थित सिद्धार्थ डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको जग्गा खरिद प्रक्रियामा जटिलता देखिएको र २ करोड १६ लाख बैनामा विवाद भएको समयमा कम्पनीको सञ्चालक समितिमा ‘हेभि वेटेट’ व्यक्तिको प्रतिनिधित्व भएको छ । अर्थमन्त्रालयको संस्थान समन्वय महाशाखाका लामो समय रहँदा करिव दुई दर्जन सरकारी संस्थानको बोर्डमा रहेर काम गरेको वाग्लेलाई कम्पनीको अध्यक्ष बनाइको छ । उनीले लामो समय बीमा समितिको बोर्डमा समेत रहेर काम गरेका छन् । सचिवबाट अवकाश पाएपछि वाग्ले सार्वजनिक संस्थान निर्देशन बोर्डमा अध्यक्ष भएका थिए ।