एलआईसी नेपालले नेपाल पुर्नबीमा कम्पनीसंग गर्यो शतप्रतिशत पुर्नबीमा
काठमाडौं । भारतीयको समेत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी)ले नेपाल पुर्नबीमा कम्पनी लिमिटेडमा शत्प्रतिशत पुर्नबीमा गरेको छ । दुबै कम्पनीबीच पुर्नबीमा गर्ने विषयमा आइतबार सम्झौता भएको छ । चालु आर्थिक वर्षदेखि नेपालमा कुल आर्जन भएको बीमा शुल्कको २० प्रतिशत स्वदेशमै पुर्नबीमा गर्नुपर्ने व्यवस्थाअनुसार सम्झौता भएको हो । पुर्नबीमा वापतको रकम विदेश जान नदिनका लागि पुर्नबीमा कम्पनी स्थापना गरिएको हो । सरकारको नीतिअनुसार शत्प्रतिशत पुर्नबीमा नेपालमै गरिएको एलआईसीका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बताए । एलआईसीले जोखिम र महाविपत्तिको शत्प्रतिशत पुर्नबीमा गरेको उनले जानकारी दिए । कम्पनीसंग शत्प्रतिशत पुर्नबीमा गर्ने एलआईसी छैठौ कम्पनी भएको छ । यसअघि सुर्या लाइफ, गुराँश लाइफ, सानिमा लाइफ, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थासंग शत्प्रतिशत पुर्नबीमा सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले जानकारी दिए । कम्पनीले २८ मुलुकमा बीमा तथा पुर्नबीमा कम्पनीसंग व्यवसाय गरी बीमा शुल्क आर्जन गर्दै आएको छ । गत आर्थिक वर्षमा ४ अर्ब रुपैयाँ बराबरको पुर्नबीमा व्यवसाय गरेको नेपाल पुर्नबीमा कम्पनीले यो वर्ष ३ अर्ब बढाएर ७ अर्ब पुर्याउने लक्ष्य लिएको छ ।
प्रभु इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखा कार्यालयहरुबाट सजिलै प्रभु इन्स्योरेन्सको बीमा सेवा लिन सक्नेछन् ।
अब गरिमा विकास बैंकबाटै एभरेष्टको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब गरिमा विकास बैंक लिमिटेडबाटै एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा सेवा पाइने भएको छ । बुधबार दुर्इ संस्थाबीच भएकाे बैंकास्याेरेन्स सेवा प्रदान गर्ने सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त सेवा पाउने भएका हुन् । उक्त सम्झौता पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेष्ट इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गाैतमले हस्ताक्षर गरेका छन् । सो सेवा अन्तर्गत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा गरिमा विकास बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।