शिखर इन्स्योरेन्सको ६० प्रतिशत बोनस शेयर पारित, शेयर पुँजीको १० प्रतिशत नयाँ सेयर निष्काशन गर्ने

काठमाडौं, ८ पुस । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत बोनस शेयर तथा ३.१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । शुक्रबार सम्पन्न कम्पनीको १२ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । शिखर इन्स्योरेन्सले पारित गरेको ६० प्रतिशत बोनस शेयर बीमा कम्पनीहरुमध्ये हालसम्मकै उच्च रहेको छ । कम्पनीको साधारणसभाले बोनस शेयर वितरण पश्चात संस्थापक शेयर ६० प्रतिशत कायम हुने गरी साधारण शेयरको नयाँ निष्काशन गर्ने निर्णय पनि गरेको छ । सो साधारण सभाले आगामी चार वर्षको लागि सर्वसाधारण शेयर धनीकातर्फबाट दिनेशबज्र बज्राचार्यलाई चयन गरेको छ । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा २०० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो भने चालु आर्थिक वर्षमा हालसम्म १२० करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको कम्पनीले जनाएको छ ।

अध्यक्षको प्रतिस्पर्धाबाट फत्तबहादुर केसी बाहिरिए, पुनः नियुक्ती नहुने भएपछि कर्मचारीसँग लिए बिदा

काठमाडौं, ४ पुस । बीमा समितिको अध्यक्षमा तेस्रो कार्यकालको लागि लविङ गर्दै आएका बर्तमान अध्यक्ष फत्तबहादुर केसी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनलाई प्रधानमन्त्री प्रचन्डका प्रशासकीय सचिव नारायण दाहालले समेत भेट गर्न नदिएपछि उनी निरास हुँदै दाैढबाट बाहिरीएका हुन् । आफू पुनः नियुक्ति नहुने पक्का भएपछि अध्यक्ष केसीले आईतबार सबै बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई समितिमा बोलाएर आफ्नो कार्यकालमा गरेका राम्रो कामको चर्चा गरेका थिए । त्यस्तै कर्मचारीहरुसँग पनि आफू बीमा समितिबाट विदा लिन लागेको जानकारी गराएका छन् । ८ वर्षसम्म समितिमा अध्यक्ष भएका केसी पुस ७ गतेबाट विदा हुँदैछन् । समितिको अध्यक्ष बन्ने लविङका लागि करिव डेढ दर्जन व्यक्ति अर्थमन्त्रालय पुगेका छन् । समितिको अध्यक्ष बन्न रविन्द्र घिमिरे, केवी बस्नेत, रणबहादुर श्रेष्ठ, केशव भट्टराई,  ऋषिराम गौतम, चिरञ्जीवि चापागार्इ, विजयबहादुर शाह, जनार्दन आचार्य, कृष्णप्रसाद आचार्य, श्रीमान् कार्की, रमेशकुमार भट्टराई, अश्विनीकुमार ठाकुर,  केशव दुवाडी, चिरायु भण्डारी, नरेन्द्र सिंह लगायत शक्ति केन्द्रमा  लविङ गर्दै गरिरहेका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको १८ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर पारित

काठमाडौं, १ पुस । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७२/०७३को नाफाबाट सेयरधनीलाई १८ दशमलब १८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार सम्पन्न २८ औं वार्षिक साधरणसभाले सो मात्रामा बोनस दिने प्रस्तावलाई पारित गरेको छ । उक्त बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ३९ करोड रुपैयाँ पुग्ने छ । सभाले उक्त बोनस पश्चात कायम हुन आउने चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै, सभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।