एनबी इन्स्योरेन्सको १८औं र १९ औं साधारणसभा सम्पन्न, १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय

काठमाडौं, १७ मंसिर । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको १८औं र १९औं बार्षिक साधारणसभा शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर, काठमाण्डौंमा सम्पन्न भएको छ । साधारण सभाले एक शेयर बराबर एक शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त अनुपातमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताए । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ । नेपाली बीमा बजारमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले अल्पकालिन र दीर्घकालिन रणनीति बनाउंदै कम्पनीलाई आगामी पांच बर्ष भित्र एक उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने र शेयरधनीहरुलाई उचित मुनाफा दिने लक्ष्यका साथ कम्पनी अगाडि बढेको अध्यक्ष पौडेलले साधारणसभालाई जानकारी दिए । राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमालाई अगाडि बढाउने क्रममा कम्पनीले जनकपुर, बर्दिवास, ओखलढुéा र सोलुखुम्बुको सल्लेरीमा शाखा कार्यालय खोलिसकिएको छ भने देशको कुना कुनासम्म बीमा पहुंच विस्तार गर्दै लाने रणनीति रहेको उनले बताए । सभामा अध्यक्षले कम्पनीले चालु आ.ब.को प्रथम त्रैमाससम्ममा १६ करोड २२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको, १ करोड २० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराउंदै २०७३ मंसिर १६ गतेसम्म कम्पनीले करिब २४ करोड बीमाशुल्क आर्जन गरेको र ३२ करोड विभिन्न बैंक तथा वित्तीय कम्पनीहरुको मुद्दतीमा लगानी गरेको पनि जानकारी गराए । साधारण सभामा संचालक समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कम्पनीले देशभर १७ वटा शाखा कार्यालय, ५ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३० स्थानबाट बीमा सेवा प्रदान गरिरहेको, बन्द रहेका शाखाहरुको पुनःसंचालन गर्दै शाखा सञ्जाल विस्तार तथा आवश्यक जनशक्तीहरुको व्यवस्थापनमा जोड दिई रहेको जानकारी गराए ।

शिखर इन्स्योरेन्सले १० प्रतिशत एफपीओ जारी गर्ने, सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउने

काठमाडौं, १६ मंसिर । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा थप नयाँ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत र प्रवद्र्धकको सेयर हिस्सा ६० प्रतिशत बनाउने गरी नयाँ सेयर निष्काशन गर्न लागेको जनाएको छ । हाल कम्पनीको सेयर पुँजी ५० करोड ९९ लाख रुपैयाँ छ । त्यसमा सर्वसाधारण समूहको सेयर ३० प्रतिशत र प्रवद्र्धकको सेयर ७० प्रतिशत रहेको छ । बीमा समितिको चाहाना, पुँजी बढाउदै कम्पनीलाई बलियो बनाउने उदेश्य र सर्वसाधारण समूहको सहभागिता बढाउने उदेश्यले सर्वसाधारण समूहको सेयर हिस्सा १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको कम्पनीका अध्यक्ष विकास राणाले विकासन्युजलाई बताए । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो । नयाँ सेयर निश्काशन गर्दा प्रतिकित्ता १४०० देखि १५०० रुपैयाँसम्म प्रिमियम मूल्य निर्धारण हुन सक्ने उनले बताए । ‘मूल्य निर्धारण गर्दा ३/४ वटा प्राविधिक पक्ष पनि हेर्नुपर्छ, नेपाल धितोपत्र बोर्डको पनि सहमति लिनु पर्छ । हाम्रो मूल्याङकनमा प्रतिकित्ता १४०० देखि १५०० रुपैयाँसम्म प्रिमियम मूल्य निर्धारण हुनसक्छ’ राणाले भने । कम्पनीको १२ औ वार्षिक साधारणसभा पुस ८ गते गर्ने निर्णय गरेको छ । कम्पनीले सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ । बाेनस सेयर जारी गरेपछि एफपीअाे जारी गरिने अध्यक्ष राणाले बताए ।

बाली तथा पंक्षी बीमा गर्नेको संख्या ८८ प्रतिशतले वृद्धि

काठमाडौं, १४ मंसिर । बाली तथा पंक्षी बीमा अघिल्लो वर्षको तुलनामा ८८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७१/७२ मा ३ अर्व १८ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र बाली तथा पंक्षी बीमा भएकोमा आर्थिक वर्ष २०७२/७३ मा ५ अर्व ९९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७२/७३ को बजेट मार्फत बाली तथा पक्षी बीमामा सरकारले ७५ प्रतिशत अनुदान दिने घोषणा गरी कार्यान्वयनमा ल्याएपछि बाली तथा पंक्षी बीमातर्फ कृषकहरु आकर्षित भएका हुन् । विमा समितिका उप–निर्देशक कुन्दन सापकोटाले पछिल्लो समयमा बाली तथा पंक्षी बीमा  गर्नेहरुको संख्यामा वृद्धि भएको बताए । सरकारले आर्थिक वर्ष २०७२/७३ मा मात्र बाली तथा पंक्षी बीमातर्फ २० करोड ७५ लाख ३१ हजार रुपैयाँ अनुदान दिएको छ । उनका अनुसार बाली तथा पंक्षी विमामा सरकारले अनुदान दिन थालेपछि बीमा गराउनेहरुको संख्या बढेको हो । चालु आर्थिक वर्षमा पनि बीमा  गराउनेहरु बढीरहेको बताए । आर्थिक वर्ष २०७२/७३ मा बाली बीमा  ४३ करोड ८७ लाख रुपैयाँ भएकोमा सरकारले एक करोड ६२ लाख ६५ हजार रुपैयाँ अनुदान दिएको छ । त्यस्तै माछाको बीमा  २९ करोड ५८ हजार रुपैयाँ भएको थियो त्यसमध्ये ४७ लाख ५९ हजार रुपैयाँ सरकारले अनुदान दिएको छ । त्यस्तै ४ अर्व ७० करोड बराबरको पशु बीमा भएकोमा १७ करोड ४७ लाख रुपैयाँ अनुदान दिएको छ । त्यस्तै पंक्षीतर्फ ५६ करोड ४४ लाख ९० हजार बराबरको बीमा भएकोमा एक करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको रकम सरकारले अनुदान दिएको छ ।