पशु बिमाबाट करिब ९ करोड राजस्व सङ्कलन

दोलखा । पशुको बिमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब चार हजार पशुको बिमा गरिएको छ । पशु पालनमा किसानको आकर्षण बढ्दै गएको र माघ महिनामा मात्रै तीन सय ८१ पशुको बिमा गरिएको छ । जसको बिमित रकम एक करोड १५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । पशु बिमा ऐन, २०६८ आएपछि दोलखामा २०७१ सालबाट पशु बिमा सेवा शुरु भएको थियो । आफ्नो हेलचेक्र्याइँ बाहेकका कुनै कारण आफूले पालेका पशुको मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति बिमा कम्पनीले प्रदान गर्ने भएपछि पशु बिमातर्फ किसानको आकर्षण बढेको कार्यालयका प्राविधिक कमल पराजुलीले जानकारी दिए । जिल्लामा सरकारी इजाजत प्राप्त प्रिमियर इन्सुरेन्स कम्पनीले पशु बिमा गरेका हुन् । रासस

राष्ट्रिय बिमा संस्थानले बिमाङ्कीय मूल्याङ्कन नियमित गर्ने

काठमाडौं । राष्ट्रिय बिमा संस्थानले जीवन बिमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बिमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ । संस्थानको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती)का अवसरमा बुधबार आयोजित कार्यक्रममा संस्थानले सन् २००७ देखिको बिमाङ्कीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको हो । बिमाङ्कनबाट बिमा व्यवसाय (जीवन, निर्जीवन र पुनःबिमा)मा बिमालेख तयार गर्न, बिमा शुल्क निर्धारण गर्न, बिमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन, बिमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्याङ्कनजस्ता सूचकको विश्लेषणबाट भावी कार्यदिशा लिन सहयोग पुग्नेछ । संस्थानका प्रशासक अस्वीनीकुमार ठाकुरले लेखा अद्यावधिक तथा लेखापरीक्षण गराइसकेको र यस कार्यलाई विज्ञ परामर्शदाताको सहयोगमा अभियानका साथ अगाडि बढाइएको जानकारी दिए । उनले भने, “विगत केही वर्षदेखि मौजुदा रहेको लेखापरीक्षण सम्बन्धी कार्यसम्पन्न गराउनेतर्फ विश्वास दिलाउँछु ।” संस्थानको व्यवसाय प्रवद्र्धनका लागि सशक्त माध्यमका रुपमा कार्यरत अभिकर्ता सेवा शर्त र सुविधामा समयसापेक्ष सुधार गरी आवश्यक व्यवस्था गर्ने प्रयासलाई निरन्तररुपमा अगाडि बढाउने संस्थानले जनाएको छ । संस्थानको बक्यौता रहेको लेखापरीक्षण सम्पन्न गर्न संस्थान लागिपरेको ठाकुरले जानकारी दिए । संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पुँजी कोषबाट निर्दिष्ठ क्षेत्रमा १५ अर्ब रुपैयाँ लगानी गरेको छ । अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा डा पुन्यप्रसाद रेग्मीले बिमा व्यवसायको विकासमा संस्थानको भूमिका अग्रणी रहेको उल्लेख गर्दै जीवन बिमामार्फत बाहिरिँदै आएको रकमलाई नियन्त्रण गर्नुपर्ने बताए । राष्ट्रिय बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले संस्थानले विगतको छविलाई समीक्षा गरी संस्थालाई पुनःजीवन दिन इमान्दारिताका साथ अगाडि बढ्न र ग्राहकसँगको विश्वासलाई अक्षुण राख्न सुझाव दिए । कार्यक्रममा संस्थानमा २० वर्षदेखि अभिछिन्न रुपमा काम गर्दै आएका कर्मचारीलाई दीर्ग सेवा पदक तथा कदरपत्र र बढी व्यवसाय गर्ने अभिकर्तालाई पुरस्कार दिएर प्रशंसा गरियो । त्यसैगरी संस्थानको स्थापनाकालको संस्थान सञ्चालक समितिका अधयक्ष डा खाेमराज खरेल, कर्मचारी कुवेरप्रसाद शर्मा, सिद्धिमान बस्न्यात, इन्द्रप्रसाद कर्माचार्य र रघु पन्तलाई सम्मान गरियो । रासस

एसियन लाइफले २१ प्रतिशत लाभांश दिने, ५० प्रतिशत हकप्रद पनि

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले २१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र एक दशमलब शुन्य ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । त्यस्तै कम्पनीले बोनस सेयर जारी गरेपछि हुने चुक्ता पूँजीको २ बराबर एक अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ । यी दुबै निर्णयलाई बीमा समितिको अनुमति लिएर आगामी साधारण सभामा पेश गरिनेछ । साधारण सभाले पारित गरेपछि लगानी कर्ताले सो मात्रामा लाभांश र हकप्रद सेयर प्राप्त गर्नेछन् ।