प्रभु इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच क्यासलेस सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगद रहित(क्यासलेस) सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा नर्भिक हस्पिटलको तर्फबाट एक्ज्यूकेटिभ डाईरेक्टर राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले नर्भिक हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए पनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा पाउन सक्नेछन् ।

राष्ट्रिय बीमा कम्पनीको १३औं शाखा सुर्खेतमा, बुधबारदेखि सञ्चालनमा

सुर्खेत । राष्ट्रिय बीमा कम्पनीले आफ्नो १३औं शाखा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख दूर्गा केशर खनालले गरेका हुन् । बुधबार(भदाै २७ गते)बाट सञ्चालनमा अाउने उक्त शाखाले कृषि तथा पशुपंक्षि बीमा लगायत अन्य सबै प्रकारका निर्जीवन बीमा सेवा उपलब्ध गराउने छ । साथै, समग्र कर्णाली प्रदेशको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास लिएको कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले बताए । साथै, उक्त अवसरमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत डुङ्ग्रेश्वर गाउँपालिका -५ स्थीत पिपल चौतारा मा.वि.लाई आर्थिक सहयोग गर्ने र नारायण नगरपालिकासँग कृषि तथा पशु बीमा सहकार्य सहमति समेत गर्ने जनाएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । नवनियुक्त भट्टले आइतबार सञ्चालक समिति समक्ष सीईओ पदको सपथ ग्रह्रण गरेका छन् । उक्त सपथ ग्रह्रण गर्ने कार्यक्रममा सीईओ भट्टले आफुसँग रहेको कार्य अनुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिने प्रतिबद्धता जाहेर गरेका छन् । १९९८मा नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ् करियर शुरु गरेका भट्टसँग सहायक महाप्रबन्धकको पनि कार्य अनुभव रहेको छ । त्यसपछि भट्टले मेघा बैंकमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए । पछिल्लो समयमा भट्ट विभिन्न बैंक तथा वित्तीय संस्था लगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध रही आएका थिए । भट्टसँग रेमिट टु नेपाल प्रा.लिको सीईओ पदमा रही काम गरेको अनुभव समेत रहेको छ ।