नेपाल बङ्गलादेश बैंकले दियो दुर्घटना बीमाको ५ लाख रुपैयाँको भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले भैँसेपाटी शाखाका ग्राहक स्व. सुकुमाया लामाको बीमा रकम ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले उक्त क्षतिपुर्ति रकमको चेक मृतकका छोराहरु मनोजकुमार लामा, रमेशकुमार लामा र सुवर्ण लामालाई हस्तान्तरण गरेको हो । बैंकका नायव महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठद्वारा एक समारोह बिच हस्तान्तरण गरेका हुन् । बैंकले आफ्ना बचत खातावालाहरुलाई दुर्घटना बीमा सुविधा दिंदै आएको छ । उक्त सुविधा अन्र्तगत खातावालहरुको दुर्घटनामा मृत्यु भएमा खातामा भएको मौजदातको दोब्बर अथवा बढीमा ५ लाख रुपैयाँसम्म रकम क्षतिपुर्ति वापत भुक्तानी गरिने जनाएको छ । यस प्रकारको सुविधा आगामी दिनहरुमा पनि निरन्तरता दिंदै जाने बैंकले जनाएको छ ।

एनएलजी इन्स्योरेन्सका सञ्चालक सञ्जय बहादुर शाहाले दिए राजीनामा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका सञ्चालक सञ्जय बहादुर शाहाले राजीनामा दिएका छन् । कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शाहाको राजीनामा स्वीकृत गरेको जानकारी दिइएको छ ।

बीमा कम्पनीहरुबीच पुँजी बढाउने प्रतिस्पर्धा, एशियन लाईफले २ अर्ब पुर्याउने

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले स्वेच्छिक रुपमा पुँजी वृद्धिलाई प्राथमिकता दिएका छन् । त्यसै क्रममा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले पुँजी २ अर्ब रुपैयाँ बनाउने निर्णय गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ६७ करोड १३ लाख रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्दैछ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी करिव ८० करोड ५६ लाख रुपैयाँ हुन्छ । बोनस सेयर वितरणपछि कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्काशन गर्दैछ । हकप्रद सेयर निश्काशनपछि चुक्ता पुँजी एक अर्ब २० करोड नाघ्ने छ । व्यवसाय बढेको र बीमा समितिले तोकेको सल्भेन्सी रेसियो भित्र रहेर व्यवसाय विस्तार गर्न पुँजी वृद्धि गर्दै जानुपर्ने आवश्यकता रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले बताए । कम्पनीले चैत्र १७ गते साधारणसभा गर्दैछ । उक्त साधारणसभामा कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव लैजादैछ ।