एनएलजी इन्स्योरेन्सले नयाँ सीईओ माग्यो, को को छन् दौडमा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नयाँ नियुक्ती प्रक्रिया अगाडि बढाएको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन, सीईओको योग्यता र प्रक्रिया पुरा गर्दै कम्पनीले भ्याकेन्सी (आवश्यकता) सम्बन्धि सूचना सार्वजनिक गरेको छ । व्यवस्थापन, अर्थशास्त्र, बीमा, वित्त, लेखा, वाणिज्य, कानुन वा गणित विषयमा मास्टर डिग्री हासिल गरेको वा व्याचलरसहित इन्जियियरिङ चार्टर्ड एकाउण्टेसी गरेको, बीमा कम्पनीमा भए पाँच वर्ष र बैंकमा भए कम्तिमा ८ वर्ष म्यानेजर भन्दा माथिको पदमा काम गरेको, बीमकको संस्थागत सुशासन निर्देशिका २०७३ अनुसार योग्य र ६० वर्ष ननाघेको व्यक्तिले प्रतिस्पर्धामा आवदेन गर्न सक्ने कम्पनीले जनाएको छ । इच्छुक व्यक्तिले चार वर्षको व्यवसायिक योजनासहित असार ३० गतेसम्म आवदेन गर्नु पर्नेछ । बीमा समितिले तोकेका प्रक्रिया अनुसार खुला प्रतिस्पर्धाबाट सीईओ छनौट गर्न लागेको र नयाँ नियुक्ती कम्पनी भित्र वा वाहिर दुबै क्षेत्रबाट हुन सक्ने कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले बताए । स्रोतका अनुसार प्रक्रिया पुरा गरेर सोही कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तलाई सीईओमा नियुक्त गर्ने मनस्थितिमा केही सञ्चालकहरु छन् भने केही सञ्चालक बाहिरबाट नयाँ व्यक्ति ल्याउने कसरतमा छन् । भ्याकेन्सी सार्वजनिक भएपछि यूटाईटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले एनएलजी इन्स्योरेन्सका सञ्चालक र निर्णयक प्रवद्र्धकहरुसँगको भेटगाटलाई तिब्र पारेका छन् । यूटाईटेड इन्स्योरेन्स कम्पनीमा नियुक्त हुँदा गरेको करार सम्झौता अनुसार कार्यसम्पादन नतिजा दिन नसकेका बरालले सो कम्पनीमा सञ्चालकहरुबाट आलोचना खेप्दै आएका छन् । बैकिङ कसुर लगायत विभिन्न सरकारबादी मुद्दा खेपिरहेका बरालका कारण कम्पनीको ब्राण्ड इमेजमा धक्का लागेको महसुश सो कम्पनीका सञ्चालकहरुले गर्दै आएका छन् । दुई कार्यकाल सीमाले हालको कम्पनीमा निरन्तरताको समस्या निकट पुगेका अरु कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले पनि एनएलजीको सिईओमा आवेदन गर्ने अनुमान गरिएको छ ।

एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले गौतमलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । गौतमले असार ११ गतेदेखि कम्पनीको जिम्मेवारी समाल्ने बताएका छन् । १७ वटा निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा पछाडि रहेको र अरु कम्पनीसँग प्रतिस्पर्धामा नरहेको यस कम्पनीलाई प्रतिस्पर्धी बनाउने गौतमले बताए । २६ वर्षसम्म बैकिङ पेशामा क्रियाशिल गौतमको लागि बीमा नितान्त नयाँ पेशा हो । ‘अनुभवको दृष्टिले बीमा मेरो लागि नितान्त नयाँ क्षेत्र हो । मनमा नयाँ कामप्रति उत्सुकता हुनुका साथै सफलता पूर्वक जिम्मेवारी निर्वाह गर्ने चुनौति पनि उत्तिकै छ’ गौतमले विकासन्युजसँग भने-समस्यामा परेको इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक सुधारमा पाएको सफलताले एभेरेष्ट इन्स्योरेन्स कम्पनी पनि सुधार गर्ने आँट र अठौत मसँग छ ।’ नेपाल ग्रिनलेज बैंकबाट बैकिङ पेशामा प्रवेश गरेका गौतमले हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, सनराईज बैंक, एनसीसी बैंक, एनआईसी एशिया हुुँदै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसीसी बैंकमा विलय भएपछि उनी एनसीसी बैंकमा डीजीएम थिए ।

हिमालयन जनरल इन्स्योरेन्सको बुक क्लोज असार १६ देखि

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको असार १६ देखि सेयर खरिद दर्ता बन्द हुने भएको छ ।हिमालयनले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि असार १६ देखि बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीले एक बराबर १.६६६७ कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । असार १६ गते अघिसम्म सेयर खरिद गर्नेहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।