७ तल्ले अत्याधुनिक भवन बनाउँदै बीमा समिति, ८० करोड लागत
काठमाडौं । नियामक निकायमध्ये सबै भन्दा अत्याधुनिक भवन बीमा समितिले बनाउने भएको छ । समितिले ८० करोडको लागतमा ७ तले अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । सो भवन बिभिन्न नियामक निकायहरु बस्दै आएको हालसम्मकै अत्याधुनिक हुनेछ । कुपण्डोलस्थिल समितिको वर्तमान भवनको पछाडी समितिको नयाँ भवन निर्माण हुनेछ । त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ संस्थानको कन्सल्टेन्सी सर्भिसेजले बीमा समितिको नयाँ भवनको डिजाइन तयार पारेको हो । एक तल्ला अण्डर ग्राउण्ड पार्किङ, भुई तल्लामा क्याण्टिनका साथै तालिम हल, पहिलो तल्लामा अन्तराष्ट्रियस्तरको सम्मेलन स्थल र दोश्रो देखि छैठौं तल्लासम्म समितिको कार्यालय रहनेछ । सातौ तल्लामा भने बीमा क्षेत्रमा काम गर्ने स्वदेशी तथा विदेशी कन्सल्टेन्सीहरुका लागि छुट्याइनेछ । बीमा समितिका निमिक्त कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार ललितपुर महानगरपालिकामा नक्सा पासका लागि पठाईको छ । नक्सा पास भए लगत्तै विद्युतिय ठेक्का( ई बिडिङ) गरिनेछ । ३ रोपनी क्षेत्रफलमा बन्ने भवन आगामी साढे ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य तय भएको छ । समितिको नयाँ भवन ४६८६.३२ वर्गमिटर क्षेत्रफलको हुनेछ । समितिले केहि बर्ष अघि नेपाल बैंकसँग ४८ करोड रुपैंयाँमा ९ रोपानी जमिन खरिद गरेको थियो । सोही जमिनको ३ रोपनीमा नयाँ भवन बन्नेछ । नयाँ भवन निर्माण भएपछि नियामक निकायहरुमध्ये समिति सबै भन्दा अत्याधुनिक भवनमा सर्नेछ ।
स्वायत्तता जोगाउन बीमा समिति संघर्षमा, बीमा क्षेत्रको विकास र सुशासन मै चुनाैति
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले समितिको स्वायत्तता जोगाउन संघर्ष गर्ने घोषणा गरेका छन् । बीमा समिति कर्मचारी युनियनको दशैं शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक २०७५ मा समितिको स्वायत्तता खोसिएको बताएका हुन् । उनले खोसिएको स्वायत्तता जोगाउन कर्मचारी युनियनले समेत सहयोग गर्नुपर्ने धारणा राखे छन् । ‘अर्थमन्त्रालयले संसदमा पठाएको बिधेयक देख्नु भएकै छ, सानो सानो काम गर्न पनि मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ, समितिको स्वायत्तता पुरै खोसेको छ, अब हामीले स्वायत्तता फर्काउन एकिकृत पहल गर्नु पर्नेछ, संघर्ष गर्नुपर्नेछ’, अध्यक्ष चापागाईँले भने । उनले बीमा समितिप्रति अर्थमन्त्रालय अनुदार देखिएको संकेत समेत गरेका थिए । बीमा ऐन २०४९ ले दिएको अधिकार समेत खोसेको चापागाईँले आरोप लगाए । ‘हामीले हाल प्राप्त गरिएको भन्दा पनि धेरै स्वायत्तता खोजेका थियौं तर बिधेयकले अहिलेका अधिकार समेत घटाएको छ, यसले बीमा क्षेत्रको विकास र सुशासनमै कमी आउन सक्छ’, अध्यक्ष चापागाईँले भने । उनले बीमा समितिको नियामकिय क्षमतामा उल्लेख्य सुधार भैरहेको, बीमा क्षेत्रको वृद्धि विकासमा पनि बढोत्तरी भएको बताएका थिए । ‘अहिले बीमा क्षेत्रको वृद्धि विकासले एउटा गति लिएको छ, हामी त्यसको उचित नियमनको प्रयास गरिरहेका छौं तर प्रस्तावित ऐनको बिधेयकले हाम्रो मनोबल उच्च बनाउने देखिएको छैन’, अध्यक्ष चापागाइँले कर्मचारीहरुसँग भने । उनले दशैं सकिए लगत्तै समितिको स्वायत्तताका लागि संघर्ष सुरु हुने धारणा पनि राखे । बीमा समितिका सबै कर्मचारी सहभागी रहेको शुभकामना आदान प्रदान कार्यक्रममा निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि शुभकामना दिएका थिए । कर्मचारी युनियनका अध्यक्ष पदम सोडारीले स्वायत्तता प्राप्तिका लागि समितिको नेतृत्वले चाल्ने हरेक कदममा युनियनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सुर्या लाइफ इन्स्योरेन्सकाे बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं। सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बबरमहलमा रहेकाे एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले साविकका शेयरधनीहरुलाई १०ः ७ को अनुपातमा हकप्रद सेयर जारी गर्न अाफ्नाे बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेकाे हाे । उक्त नियुक्ती सम्बन्धि सम्झौतामा सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र एनआईसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले हस्ताक्षर गरेका हुन्।