नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विजय बहादुर शाह नियुक्त भएका छन् । गत असार २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाहलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त शाहाले साउन ९ गतेदेखि इन्योरेन्सको कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ । उनकाे कार्यकाल चार वर्षकाे लागि ताेकिएकाे छ । शाह यसअघि एनएलजी इन्स्याेरेन्स कम्पनीमा ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएका थिए । एउटै कम्पनीमा २ कार्यकाल मात्र बस्न पाउने नियमका कारण उनले एनएलजी छोडेका थिए । यसअघि उनी नेपाल बीमक संघको अध्यक्ष थिए ।
शिखर इन्स्योरेन्सको प्रिमियम आम्दानी २ अर्ब ७७ करोड
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.५ प्रतिशतले बढी हो । कम्पनीले आर्थिक वर्ष २०७३/७३ मा २ अर्ब प्रिमियम संकलन गरेको थियो । गत आर्थिक वर्षको नाफा भने केही दिनपछि एकिन हुने कम्पनी सचिव सुरज राजवहाकले बताए । ‘पुर्नबीमा र दावी भुक्तानीको हिसावपछि मात्र नाफा कति भयो भनेर भन्न सकिन्छ’ उनले भने । कम्पनीको चुक्ता पुँजी ८१ करोड ७६ लाख रुपैयाँ छ । १३ वर्षअघि स्थापना भएको शिखर इन्स्योरेन्स हाल बजारको लिडर कम्पनीको रुपमा स्थापित भएको छ । कम्पनीको चुक्ता पुँजी, नाफा, प्रिमियम, ग्राहक संख्या लगायत धेरै सूचकांङकमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए ।
युनाइटेड इन्स्योरेन्सद्धारा ओम कृषि फार्मलाई बीमा रकम हस्तान्तरण
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले गोकर्णेश्वर स्थित ओम कृषि फार्ममा आगलागीमा परी मृत्यु भएका ५९ वटा गाईको क्षतिपुर्ति बापत रकम प्रदान गरेको छ । कम्पनीका तर्फबाट कामु नायब महाप्रबन्धक जीवनकुमार उप्रेतीले बिमितको तर्फबाट बाबुराम कार्कीलाई ५८ लाख ९५ हजार रुपैयाँको क्षतीपुर्ति बापतको चेक रकम हस्तान्तरण गरेका छन् । बिमितिको तर्फबाट बाबुराम कार्कीले बिमा बापतको क्षतिपुर्ति रकम सहज र सरल प्रक्रियाबाट पाएकोमा बिमक कम्पनीलाई धन्यवाद दिएका छन्।