कैलाश विकास बैंकबाटै जनरल इन्स्योरेन्सको बीमा सेवा पाइने
काठमाडौं । अब जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड(जिआईसी नेपाल)को निर्जीवन बीमा सेवा सुबिधा कैलाश विकास बैंकबाट पाइने भएको छ । मंगलबार दुई संस्थाबीच उक्त बैंकास्योरेन्स सेवा दिने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात अब बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा बैंकका जुनसुकै शाखा कार्यालयबाट लिन सक्नेछन् ।
सानिमा लाइफले ल्यायो ‘सानिमा जीवन श्री’ योजना, बीमाङ्कमा ७० रुपैयाँ बोनस पाइने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले “सानिमा जीवन श्री” नामक नयाँ जीवन बीमा बजारमा ल्याएको छ । इन्स्योरेन्सले कम्पनीको प्रविधिक तथा व्यवसायिक समूह र जीवन बीमाका विशेषज्ञ बीमाङ्कीको समुहबाट उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत जीवन बीमा गर्दा पुरा बीमा अवधिको लागि प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ बोनस ग्यारेन्टी गरिएको कम्पनीले जानकारी दिएको छ । योजनाको बीमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ वर्ष र बीमा अवधि १०, १५, २० र २५ वर्ष निर्धारण गरिए कम्पनीले जनाएको छ । सो योजनामा न्यूनतम बीमाङ्क ५ लाख रुपैयाँ र अधिक्तम बीमाङ्क आयश्रोतको आधारमा निर्धारण गरिने छ । कम्पनीले १६ वर्षदेखि अधिकक्तम ६० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । त्यस्तै, न्यूनतम बीमा अवधि १० वर्ष र अधिक्तम २५ वर्ष रहेको छ । बीमाङ्क रकम भुक्तानी दिने अवस्था बीमा समाप्ती मितिसम्म बीमित जीवीत रहेमा बीमा लेखको शर्तहरुको अधिनमा रही प्रत्यक वर्ष पुरा बीमा अवधिको बोनस एकमुष्ट प्रदान गरिनेछ । प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ ग्यारेण्टी बोनस समेत एकमुष्ट प्रदान गरिने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्था बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क प्रदान गरिने छ ।
एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन फिर्ता, मूल्यमा भारी गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हालै एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर मूल्यमा गरेको समायोजन फिर्ता लिएको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गरेको भन्दै लगानीकर्ताबाट दवाव आएपछि नेप्सेले कम्पनीको उक्त निर्णय फिर्ता लिएको हो । सो निर्णय फिर्तासँगै संस्थाको सोमबार(आज)देखि नियमित कारोबार शुरु भएको छ । कारोबार सेयर समायोजन हुनुभन्दा पहिलेको दिनको मूल्यमा शुरु भएको छ । साथै, कम्पनीको सेयर मूल्य समायोजन पछि भएका कारोबारहरु रद्ध भएको नेप्सेले जनाएको छ । इन्स्योरेन्सले गत कात्तिक २८ गते कम्पनीको १०५ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको थियो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६३.४१ रुपैयाँ रहेको थियो । उक्त निर्णय पछि सोमबार खुलेको कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । प्रतिकित्ता १०५० रुपैंयामा कारोबार खुलेको कम्पनीको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ६४३ रुपैयाँमा बिक्री भइरहेको छ । यस अवधिसम्म कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।