सिन्धु विकास बैंकबाट युनाइटेड इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौँ । सिन्धु बिकास बैंक लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले युनाइटेड इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सहितका सम्पूर्ण सुविधाहरु सिन्धु बिकास बैंकका शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।

नेपाल इन्स्योरेन्सको १ लाख ४७ हजार कित्ता सेयर लिलामीमा, मूल्य १०० मा बढाबढ

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको १ लाख ४७ हजार कित्ता हकप्रद सेयर लिलामीमा आएको छ । कम्पनीले १ लाख ४४ हजार ५९१ कित्ता साधारण सेयर र २ हजार ५११ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा पर्याप्त आवदेन नपरेपछि उक्त सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटले जनाएको छ । सेयरको प्रतिकित्ता न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । आगामी जेठ १९ गतेसम्म आवेदन गर्न सकिनेछ ।

वैदेशिक रोजगारीमा जानेले दोहोरो बिमा गर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारका लागि म्यादी जीवन बिमा गर्दै आएका कामदारले अब अनिवार्य रूपमा सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा पनि गर्नुपर्ने भएको छ । यससँगै अब वैदेशिक रोजगारीमा जाने कामदारले दोहोरो बिमा गर्नुपर्ने भएको हो । सरकारले स्वास्थ्य बिमा नियमावली जारी गर्दै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गर्न निवेदनसाथ स्वास्थ्य बिमाको परिचयपत्र पनि पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तर, कार्यक्रम लागू नभएका जिल्लाका हकमा भने यो व्यवस्था अनिवार्य छैन । कामदारले दोहोरो बिमा गर्दा झन्झटिलो हुनुका साथै आर्थिक रूपमा पनि भार पर्ने बिमाविज्ञ भोजराज शर्मा बताउँछन् । उनका अनुसार प्रक्रियागत रूपमा पनि २-२ वटा बिमा गर्नु कामदारका लागि अव्यावहारिक हुन्छ । तर, वैदेशिक रोजगार विभागका महानिर्देशिक भीष्मकुमार भुसालले भने दोहोरो व्यवस्थाले समस्या नहुने दाबी गर्छन् । ‘दुईवटा बिमाको अवधारणा फरक-फरक छ,’ उनले भने, ‘स्वास्थ्य बिमाले कामदारको परिवारको रक्षावरण गर्छ । वैदेशिक रोजगार बिमाले कामदारको सुरक्षण गर्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।