आइएमई जनरल र बिदुर नगरपालिकाबीच सम्झौता, पशुपन्छी तथा कृषि बीमा गरिने

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बिदुर नगारपालिका, नुवाकोटबीच बिदुर नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशुपन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्रकुमार ठाकुर र बिदुर नगरापालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर चापागाईले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बिदुर नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरपालिकाले आफ्ना नगरबासीहरुको पशुधन, कृषि तथा नगरबासीहरुको दुर्घटना बीमा गराई नुवाकोट जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको जनाएको छ । सोही अवसरमा नगरपालिकाका मेयर सञ्जु पण्डितले आफूले नगरावासीहरुको पशुपन्छी, बालीनालीको बीमा पश्चात पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लि.संग संझौता गरेको बताए ।

एलआईसीकाे बोनस दर सर्वाधिक, ६६-८५ को बोनस दरलाई कसरी बुझ्ने ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसीएन)ले सार्वधिक बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमा लेखमा प्रतिहजार वार्षिक न्युनतम ६६ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर घाेषणा गरेको हाे। जुन नेपालको जीवन बीमा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा उच्च दर हो । कम्पनीले ३ र ५ वर्ष अवधिको जीवन आस्था योजनामा क्रमशः प्रतिहजार ८० र ८५ रुपैयाँ बाेनस सुनिश्चित भएकाे जनाएकाे छ ।  कम्पनीले आव २०७४/७५ का लागि नयाँ बोनस दर कायम गरेको हो । कम्पनीले ५ देखि १९ वर्षसम्मको सावधिक जीवन बीमालेखमा प्रतिहजार ६६ रुपैयाँ, २० देखि २४ वर्षसम्म ७०, २५ वा सोभन्दा माथि प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ । त्यस्तै, १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार ६६, २० वर्षेमा ६७ रुपैयाँ र २५ वर्षेमा ६८ रुपैयाँ बोनस दर तोकेको छ । साथै, १०, १५ र २० वर्षे जीवन तरङ्ग बीमालेख रहेको छ । जसमा क्रमशः प्रतिहजार ६६, ६८ र ७७ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो बोनसदर बीमा व्यवसायको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मको लागि कायम हुने छ । यसअघि नेपाल लाईफ इन्स्योरेन्स प्रतिहजार अधिकतम् ८२ रुपैयाँसम्म बोनसदर सहित पहिलाे स्थानमा थियाे । के हो बोनस दर? कुनै पनि बीमा कम्पनीले आफ्नो नाफाबाट बीमितलाई दिइने प्रतिफललाई बीमा बोनस दर भनिन्छ । जुन बीमितले नभई कम्पनी आफैले घोषणा गर्छ । बीमा समितिको नीति अनुसार कुनै पनि कम्पनीले आम्दानी गरेको कूल नाफाको ९० प्रतिशत रकम बीमितलाई र बाँकी रहेको १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्ने व्यवस्था रहेको छ । यसको मतलब जुन कम्पनीको नाफा जति बढी छ उसले त्यति नै बढी बोनसदर निर्धारण गर्छ । यो बोनसदर प्राय वार्षिक रुपमा परिवर्तन भइरहेको हुन्छ । यदि वर्षेनी परिवर्तन भएन भने अर्को वर्षको बोनसदर पनि त्यही अघिल्लो वर्षकै बोनसदर कायम हुने व्यवस्था रहेको छ । किन आवश्यक छ त बोनसदर ? यदि कुनै पनि व्यक्तिले आफ्नो वा जो कोहीको जीवन बीमा गर्न चाहेको छ वा गरिरहेको छ भने उसले उक्त कम्पनीको बोनसदर के-कस्तो छ सम्पूर्ण बुझ्न आवश्यक देखिन्छ । किनभने जुन कम्पनीको बोनसदर उच्च हुन्छ, उक्त कम्पनीबाट जीवित लाभ, कर्जा लगायत मृत्यु दावी भुक्तानी लिँदा राम्रो प्रतिफल पाइन्छ । बीमा शुल्क २६ प्रतिशतले वृद्धि कम्पनीले चालु आवको चैत मसान्तसम्म खुद बीमा शुल्क आर्जनमा २६.४१ प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्ष (आव)को चैत मसान्तमा ६ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा आठ अर्ब ७९ करोड रुपैयाँ कमाएको हो । इन्स्योरेन्सले २०७५ चैतमा १० करोड ७१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । उक्त नाफा गत पुस मसान्तको तुलनामा साढे तीन करोड रुपैयाँले बढी हो । याे नाफा बीमाङ्कीय मुल्याङ्कन अघिकाे हाे । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट दुई अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत चैत मसान्तको तुलनामा ५२ करोड ६२ लाख रुपैयाँ बढी हो । त्यस्तै, कम्पनीले बीमा लेखको धितोमा कर्जाबाट ६० करोड ९९ लाख र अन्य प्रत्यक्ष आय ११ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ५८ करोड, जीवन बीमा कोषमा ५१ अर्ब ४८ करोड र महाविपत्ति जगेडामा १४ करोड ३९ लाख रुपैयाँ संचित रहेको छ । हालसम्म ८ अर्ब ८३ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले बीमा लेखको संख्या ७१ करोड कायम गरेको छ । हालसम्म कम्पनीले ११ हजार ४१७ दाबी भुक्तानी मार्फत कूल २ अर्ब २४ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । त्यस्तै, ४० हजार दाबी बापत ३ करोड ६६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको कम्पनीको विवरणमा उल्लेख छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७.१७, प्रतिसेयर नेटवेर्थ १४७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य ३७६७.२३ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात २३७ रहेको छ ।

कामना सेवाबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच आइतबार संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसायप्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।