जुम्ला र दैलेखमा सानिमा लाइफको शाखा बिस्तार

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले जुम्ला र दैलेखमा शाखा कार्यालय बिस्तार गरेको छ । जिल्ला समन्वय समिति जुम्लाका उपाध्यक्ष कारमा बुढाले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका महाप्रबन्धक शिवराज तिमल्सिना, मुख्यप्रबन्धक गणेश चौलागाईँ, प्रबन्धक उषा खतिवडा र शाखा प्रबन्धक रवि नेपालीको उपस्थिति रहेको थियो । त्यसैगरी जेठ ६ गते प्रदेश सभासद् अमरबहादुर थापाले दैलेख शाखा कार्यालयको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

मेटलाईफ नेपालको ग्राहक सेवा केन्द्र उद्घाटन

काठमाडौँ । मेटलाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दाले मेटलाईफ नेपालको मुख्य कार्यालय पुल्चोक स्थित ग्राहकहरुलाई सेवा उपलब्ध गराउन व्यवस्थित वान कस्टमर प्लेस (ओसिपि)को उद्घाटन गरेकी छिन् । उक्त अवसरमा रेबेकाले नेपालमा नयाँ बीमा सेवा तथा डिजिटिल अभियान भित्र्याई अग्रणी बीमा कम्पनीको रुपमा मेटलाईफ राम्रो काम गरेको बताइन् । रेवेकासँगै नेपाल, बंगलादेश तथा म्यानमारका चेयरम्यान एम.नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम. अलाउद्दिन अहमदपनि उक्त कार्यक्रम सहभागी भएका थिए । ओसिपि ग्राहकहरुलाई अझै व्यवस्थितरुपमा सेवाहरु उपलब्ध हुने स्थान हो, जसमा प्रिमियम भुक्तानी, परिपक्व भएको बीमा दावी, बीमालेख समर्पण, ऋण तथा विमालेख परिवर्तन जस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुन्छ । अमेरिकमा स्थापित अमेरिक लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ ।

ज्योति विकास बैंकबाट नेपाल इन्स्योरेन्सको निर्जीवन बीमा सेवा पाइने

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच सोमबार समारोहका बीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु बिक्री गर्ने एवम् अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो एवम् भरपर्दो सेवा पुर्याउने उद्देश्य रहेको छ । सम्झौतामा ज्योति खविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।