सिटिजन्स बैंकबाट प्राइम लाइफको बीमा सेवा पाइने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवाहरु लिनसक्ने छन् । उक्त सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

बीमाको पहुँच २० प्रतिशत पुग्ने, प्रदेश ३ मा बिमित आकर्षण बढी

काठमाडौ । चालु आर्थिक बर्षको फागुनसम्म बिमक कम्पनीको शाखा संख्या प्रदेश नं ३ मा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको पाइएको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षणमा बीमाको पहुँच करिब १८ प्रतिशत जनतामा पुगेको तथा चालु आर्थिक बर्षको अन्त्यसम्ममा २० प्रतिशत जनतामा पुग्ने उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७५/७६ को फागुन महिनासम्म भने बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ३ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँ रहेको पाईन्छ । सो मध्ये जीवन बीमा व्यवसायतर्फ ३ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । निर्जीवन बीमा व्यवसायतर्फ भने ८३ अर्ब २२ करोड रुपैयाँ रहेको छ । सोही वित्तीय स्रोत तथा उपयोग आर्थिक बर्ष ०७४/०७५ को अवधीको तुलनामा ३०.५ प्रतिशतले बढी हो । बीमा कम्पनीहरुको बीमा शुल्क आम्दानी वृद्धीको क्रममा रहेको छ । आर्थिक बर्ष २०७०/७१ मा बीमा शुल्क ३० अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । यस्तै, आर्थिक बर्ष आर्थिक बर्ष २०७४/७५ मा ७७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यो कुल ग्रार्हस्थ्य उत्पादनको२.६ प्रतिशत हो । जीवन तथा निर्जीवन बीमा व्यावसाय गर्ने कम्पनीहरुको लगानीयोग्य रकममापनि क्रमशः वृद्धी हुँदै गएको पाईन्छ । आर्थिक बर्ष २०७५/७६ मा २ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँ पुग्ने अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा उल्लेख छ । सो मध्ये जीवनतर्फ ८६.२ प्रतिशत र निर्जीवन तर्फ १३.८ प्रतिशत रहेको छ । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको शाखा १२ सय ९० रहेको छ । त्यस्तै, निर्जीवनतर्फ ७ सय १९ शाखा रहेका छन् । बीमा कम्पनीहरुकै कुल शाखा भने २ हजार ९ वटा रहेका छन् । कृषी तथा पशुपक्षी बीमा शुल्क सरकारले कृषी तथा पशुपक्षी बीमा शुल्कको ७५ प्रतिशत अनुदान दिने व्यवस्था अनुुसार आर्थिक बर्ष २०७४/७५ मा १३ खर्ब २२ अर्ब बिमाङ्कीको ५७ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क रहेको थियो । सो मध्येमा अनुदान बापत ४३ करोड रुपैयाँ वितरण भएको छ । यस्तै, २०७५ फागुनसम्म भने ९ खर्ब ११ अर्ब रुपैयाँ बिमाङ्कीको ४२ करोड रुपैयाँ बीमा शुल्क रहेको थियो । सो मध्येमा ३१ करोड ८२ लाख रुपैयाँ अनुदान वितरण गरिएको छ ।

मेगा बैंकबाट युनाइटेड इन्स्योरेन्सको निर्जीवन बीमा सेवा पाइने

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र युनाइटेड इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौतापछि मेगा बैंकका ग्राहकहरुले घर, गाडी, उद्योग व्यावसाय, स्टक लगायतका निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट युनाइटेड इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।