मिसन हातहातमा बीमा, प्रविधि मैत्री बन्न सबै कम्पनी एप बनाउँदै
काठमाडौं । ‘टेलिभिजन विज्ञापनमा बीमा कम्पनीहरुले हात हातमा बीमा भनेको देख्छु । स्मार्ट सर्भिसका कुरा गरेको देख्छु । तर व्यवहारमा त्यस्तो देख्न पाईदैन’ कात्तिक २१ गते साँझ बीमा समिति र बीमा कम्पनीहरुका अध्यक्ष तथा प्रमुख कार्यकारीहरु सहभागी एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले भने–‘अहिले बीमा सेवा पुरानै शैलीमा चलेको छ । बीमा गराउन अनुनय विनय गर्दै बीमा एजेन्टहरु घर घरमा पुग्छन् । परम्परागत फारम भरेर ल्याप्छे लगाउँनै पर्छ । नोट खटखटी गनेर भुक्तानी गर्नुपर्छ ।’ ‘त्यति मात्र होइन, बीमा दाबी गर्नुपर्दा पुरा गर्नुपर्ने प्रक्रियाहरु धेरै छन् । ती सबै प्रक्रिया पुरा गर्न झन्झटिलो छ । त्यसपछि पनि बीमा दाबी पाइदैन भनेर अर्थमन्त्रालय तहसम्म गुनासो आउने गरेका छन्’ अर्थमन्त्रीले भने–‘तपाईहरुको कार्यशैलीमा सुधार गर्नुहोस् । प्रविधिको क्षेत्रमा भएको विकास एडप्ट गर्नुहोस् । जुन दिन अनलाईनबाटै बीमा पोलिसी छनौट गर्न सकिन्छ, डिजिटल्ली पेमेन्ट गर्न सकिन्छ, आवश्यक पर्दा बीमितले अनलाईनबाटै बीमा दाबी गर्न सक्छन् र बीमा कम्पनीहरुले बीमितको खातामा पैसा पठाउँछन् । बीमितको खातामा पैसा आएको सन्देश आफ्नो मोबाइलबाट हेर्न सक्छन्, त्यो दिन बीमा सेवा स्मार्ट भएको मान्न सकिन्छ ।’ बीमकहरु अर्थमन्त्रीको भनाईमा पूर्ण सहमत छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचार प्रमुख मेघेन्द्र प्रकाश गिरीले बीमालाई प्रविधिसँग जोड्न आवश्यक रहेको बताए । अधिकांश बीमाका पोलिसीहरु एप मार्फत हेर्न मिल्ने भइसकेकोे जानकारी दिदै भुक्तानी समेत डिजिटल्ली हुने बनाउन सके बीमितलाई कारोबार गर्न सहज हुने उनको भनाई छ । सरकारी नीतिका कारण पनि डिजिटल्ली भुक्तानी प्रक्रिया जटिल भएको देखिन्छ । सरकारले एक दिनमा २५ हजार रुपैयाँ मात्र अनलाईनबाट भुक्तानी गर्न सकिने सीमा तोकेकाले थोरै बीमा शुल्क हुने प्रकृतिका बीमा पोलिसीलाई मात्र अनलाइनमा राखिएको सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकीकुँवर क्षेत्रीले बताए । गत बैशाखमा सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको क्षेत्रमा पहिलो पटक ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा शुभारम्भ गरेको थियो । हाल मोटरसाइकलको तेश्रो पक्ष बीमालेख, घर बीमालेख, दुर्घटना बीमालेख र ट्राभलर्स मेडिक्लेम बीमा लेखलाई अनलाइनबाटै लिन र भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले विकास गरेको मोबाइल एपका माध्यमबाट कम्पनीका ग्राहकहरुले आफुसँग रहेको मोबाइलबाट एप डाउन लोड गरी आफूलाई चाहिएको बीमालेख खरिद गर्न सक्ने गरी इन्स्योरेन्स डिजिटल्ली सेवा दिईरहेको छ । अनलाईन सेवाप्रति ग्राहकको रुची बढ्दो क्रममा रहेको तर कारोबार भने कम हुने गरेको उनले सुनाए । अनलाईनबाट नयाँ बीमा पोलिसी बिक्री भन्दा पुराना बीमा पोलिसी नवीकरण बढी हुने गरेको उनले जानकारी दिए । ‘दैनिक ५/६ जनादेखि १५० जनासम्मले अनलाईनमा लग इन गरेको देखिन्छ । तर कारोबार उल्लेख्य छैन’ उनले भने–‘नयाँ सेवा हो । मानिसहरुको चासो छ तर अभ्यस्त भएका छैनन् ।’ इन्स्योरेन्स डिजिटल्ली सेवाबाट बीमाको पहुँच पुग्न नसकेको स्थानीय निकासमा समेत कम्पनीको पहुँच पुग्ने र कृषक तथा न्यून आय भएका व्यक्ति, लघु बीमा तथा बाली तथा पशुपन्छी बीमा गर्ने व्यक्तिलाई यो सेवा बढी प्रभावकारी हुने उनले बताए । पछिल्लो समय बीमा कम्पनीहरुले आफ्ना सेवाहरुलाई प्रविधिमैत्री बनाउने कसरत गरिरहेका छन् भने एकपछि अर्को बीमा कम्पनीहरुले एप बनाउने, अनलाईन सिस्टम बनाउने र डिजिटल पेमेन्ट सुविधा दिने कामलाई प्राथमिकतामा राखेका छन् । युनाइटेड इन्स्योरेन्स कम्पनीका दाबी शाखाका प्रमुख रविन्द्रराज श्रेष्ठले डिजिटल पेमेण्टलाई प्राथमिकतामा राख्दै आएको बताए । ‘हामीले केही समय अघि डिजिटल एपको नैे सुरुवात गरेका छौँ, सो एपको उदेश्य पनि बीमा कारोबारलाई सहज बनाउनु हो’–उनले भने । राष्ट्रिय बीमा संस्थानले समेत गत असोज ३ गते संविधान दिवसको अवसरमा एप लन्च गरेको थियो । सो एप मार्फत बीमितहरुले बीमा कारोबार गर्दै आएका छन् । राष्ट्रिय बीमा कम्पनीले पनि एप लन्च गर्न आफ्नो तयारी अन्तिम अवस्थामा पुगेको दाबी गरेको हो । कम्पनीका मुख्य व्यवस्थापक सुबास कोइरालाले छिट्टै बजारमा आफ्नो नयाँ एप आउने बताए । अन्य कम्पनी समेत प्रविधिमैत्री बीमामा जोडिने क्रममा रहेको बीमा समितिले जानकारी दिएको छ । बीमितसम्म प्रविधिको पहुँच बढाउन सकेमा त्यसले बीमा बजार विस्तारमा सहयोग पुग्ने विश्वास सरोकारवालाको छ । बाधक डिजिटल पेमेण्टकाे सीमा डिजिटल पेमेण्ट सहजीकरण गर्न हाल आइएई पे, इ–सेवा, तथा प्रभु–पे, सेलपे, नेपाल क्लियरिङ्ग हाउस लगायत कम्पनीहरु व्यवसायिक प्रतिस्पर्धामा छन् । तर राष्ट्र बैंकले डिजिटल पेमेन्टको सीमा साँघुरो बनाउँदा सेवाग्राही हतोत्साही बनेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्रले बीमितहरुले दाबी/भुक्तानीका लागि २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाउने बताएका छन् । ‘वालेट तथा बैकको इ पेमेण्ट भनेकोे एटिएम जस्तै हो । कुनै पनि प्रयोजनका लागि पैसा निकाल्दा २५ हजार रुपैयाँसम्म एक दिनमा राख्न/तिर्न मिल्छ र सो कुरा बीमाका लागि पनि लागू हुन्छ’–उनले भने ।
आईएमई लाइफ इन्स्योरेन्सको एजीएम सम्पन्न, बीमाको पहुँच जनमानसमा पुर्याउने प्रतिबद्धता
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा(एजीएम) सम्पन्न भएको छ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा बुधबार काठमाडौंको चन्द्रागिरी हिल्स लिमिटेडमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । साथै, उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्ति गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । सभामा बोल्दै अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतना र बीमाको पहुँच न्यून भन्दा न्यून आय स्रोत भएका जनमानसमा समेत पुर्याउन कम्पनी कटिबद्ध रहेको प्रतिबद्धता जनाएका छन् ।
अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सेवा प्रदान गर्ने सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै एनआईसी एसिया बैंकबाट अजोड इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा एनआईसी. एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जानकारी दिएको छ ।