बीमा समितिको कर्मचारी युनियनमा नयाँ नेत्तृत्व चयन, अध्यक्षमा पूर्ण बहादुर थापा
काठमाडौं । बीमा समितिमा बुधबार कर्मचारी युनियनको चुनाव सम्पन्न भएको छ । सो चुनाव मार्फत समितिले नयाँ कार्य समति प्राप्त गरेको हो । नयाँ कार्य समितिमा पूर्ण बहादुर थापा अध्यक्ष पदमा चयन भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा सुन्दर प्रसाद शर्मा, उपाध्यक्षमा बैकुण्ठ घिमिरे महासचिवमा ऋषिराज पण्डित, सचिवमा दिपम ज्ञवाली, कोषाध्यक्ष निश्चल बाँनिया चयन भएका छन् । साथै, सदस्यहरुमा सुनिता कुमारी कार्की प्रिति देव र निर्मतला मल्ल चयन भएको बीमा समितिले जनाएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम संचालन गरिएको हो । उक्त कार्यक्रममा रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
आइएमई जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा शरण रेग्मी नियुक्त, वित्तीय क्षेत्रमा २७ वर्षको अनुभव
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा शरण रेग्मी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले नायव महाप्रवन्धक पदमा कार्यरत रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गरेको हाे । रेग्मीले मंसिर १० गतेदेखि कम्पनीको डेपुटी सीईओको जिम्मेवारी सम्हालेका छन् । स्नातकोत्तर तह उतीर्ण गरेका रेग्मी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत छन् । रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि(हाल सनराईज क्यापिटलमा) २ वर्ष, युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)मा ७ वर्ष, सगरमाथा इन्स्योरेन्समा ८ वर्ष, सिद्धार्थ डेभलपमेन्ट बैंक(हाल जनता बैंक)मा ६ वर्ष र आइएमई जनरल इन्स्योरेन्समा ४ वर्ष काम गरी बैंक तथा बीमा क्षेत्रको लामो अनुभव बटुलिसकेका छन् । बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको सुक्ष्म अध्ययन गरी सहायक स्तरबाट विभिन्न पद र विभागमा काम गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गरेका छन् ।