मोटर बीमापछि सम्पत्ति र हवाई बीमा शुल्कमा छुटको गृहकार्य, स्वास्थ्यमा पनि दाबी घट्यो
काठमाडौं । बीमा समितिले लकडाउनको समयमा जोखिम न्यून भएको क्षेत्रका बिमितलाई राहत दिन अध्ययन थालेको छ । जोखिम न्यून भएका क्षेत्रका बिमितलाई बीमा शुल्क कम गरी राहत दिने गृहकार्यमा समिति लागेको हो । बीमा कम्पनीहरुले पनि जोखिम कम भएका क्षेत्रमा बीमा शुल्क घटाउन सकिने जानकारी दिदै आएका छन् । इन्स्योरेन्स इस्न्टिच्युट अफ नेपालले केही दिन अघि गरेको अन्तराष्ट्रिय वेबिनारमा बोल्दै बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले हवाई बीमाको बीमा शुल्क कम गर्ने बारेमा गृहकार्य भइरहेको जानकारी दिएका थिए । सरकारले ११ चैतदेखि जारी गरेको लकडाउनका कारण सबै प्रकारका हवाइ सेवा बन्द गरिएको छ । लकडाउनको बेलामा बन्द भएका हवाई सेवाले बीमा शुल्क तिर्न नसक्ने भन्दै वायुसेवा संचालक संघले छुट हुनपर्ने माग गरिरहेको छ । यस्तै, लकडाउनको समयमा यातायातका साधन चल्न नपाएकोले दाबी कम परेको पाइएपछि नियामक निकाय बीमा समितिले मोटर बीमाको शुल्क कम गरेको छ । मोटर बीमामा शुल्क कम गरेको समिति अव अन्य क्षेत्रमा पनि शुल्क घटाउन सकिन्छ कि भनेर अध्ययनमा लागेको हो । पछिल्लो समय स्वास्थ्य बीमामा पनि दाबी कम परेको बीमा कम्पनीहरुले जानकारी दिएका छन् । लकडाउनको समयमा निजी तथा सरकारी अस्पतालहरुले नियमित सेवा प्रवाहमा समस्या आएको, नियमित र सामान्य स्वास्थ्य परीक्षणको लागि कोरोना संक्रमण नभएको पुष्टी हुने गरी पीसीआर परीक्षण रिपोर्ट देखाउनु पर्ने र कोरोना संक्रमण डरकै कारण अति आवश्यक नभइ अस्पताल नजानेहरुको संख्यामा बृद्धि भएका कारण स्वास्थ्य बीमामा दाबी कम परेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अन्य कुन कुन क्षेत्रमा के कसरी राहत र छुटका कार्यक्रम ल्याउन सकिन्छ भनेर अध्ययन भइरहेको बताए । ‘जोखिम कम देखिएपछि मोटर बीमाको शुल्क कम गरियो, हवाइ बीमाको शुल्क पनि कम गर्नुपर्ने आवाज उठिरहेको छ, अन्य क्षेत्रमा पनि यस्तो कुनै राहत वा छुट दिन सकिने ठाउँ छ कि भनेर अध्ययन गरिरहेका छौं,’ कार्यकारी निर्देशक पौडेलले भने । सम्पत्ति बीमामा कस्तो आउँला छुट ? बीमा समितिले सम्पत्ति बीमामा छुट दिनको लागि गृहकार्य सुरु गरेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा लकडाउनको अवधिमा बन्द भएका उद्योग प्रतिष्ठानलाई सम्पत्ति बीमामा राहत दिने सन्दर्भ उल्लेख गरेकोले सोही अनुसारको गृहकार्य समितिले थालेको हो । लकडाउनको समयमा साइलेन्स रिस्क कम भएकोले बीमा शुल्कमा छुट दिन समितिले गृहकार्य थालेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । अन्य समयमा उद्योग प्रतिष्ठान बन्द भएको बेलामा बिमांक रकमको प्रतिहजार रुपैयाँमा ३ रुपैयाँका दरले बीमा शुल्क छुट हुने भएपनि लकडाउनको समयमा के कसरी गर्ने भन्ने विषयमा बेग्लै गृहकार्य आवश्यक देखिएको समितिको भनाइ छ । नसोचेको जोखिम आउन सक्छः विज्ञ बीमाविज्ञ सुकल्याण पराजुलीले बीमा क्षेत्रमा नसोचिएको क्षेत्रमा जोखिम बढ्ने संकेत मिलेको बताए । मोटर तथा हवाई बीमामा जोखिम कम देखिए पनि कार्गाे बीमाको दाबी बढी देखिन थालेको उनको भनाइ छ । ‘विश्वव्यापी लकडाउनले आयात निर्यात व्यापार प्रभावित भएको छ, तोकिएको ठाउँमा समयमै नपुगेका कारण केही बस्तुहरु गुणस्तर कम हुने तथा विग्रने खतरा पनि देखिएको छ, केही यस्ता दाबी परेको बीमा कम्पनीहरुले बताउँन थालेका छन्, त्यसैले कुनै क्षेत्रमा दाबी कम परेपनि अर्काे क्षेत्रमा बढी दाबी पर्ने र नसोचिएको क्षेत्रमा दाबी परेका कारण विवाद बढ्ने र कम्पनीहरुलाई दायित्व पनि थपिने सम्भावना छ, यसको लागि नियामक निकाय र बीमा कम्पनीहरु तयार भएर बस्नुपर्ने देखिन्छ,’ बीमा विज्ञ पराजुलीले भने ।
लकडाउनमा सिद्धार्थ इन्स्योरेन्सले गर्यो १३ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी
काठमाडौं । लकडाउनको समयमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १३ करोड ११ लाख ५९ हजार २ सय ९५ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । लकडाउनको करीब तीन महिनाको अवधीमा कम्पनीले सो मात्राको दावी भुक्तानी गरेको कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठले बताएका हुन् । यसै सन्दर्भमा हालै कम्पनीले बीमित यति प्लाष्टिक ईण्डष्ट्रिज प्रा.ली.लाई ३ करोड ६७ लाख ५० हजार रुपैयाँ तथा ओम प्लाई उड एण्ड फर्निचर ईण्डष्ट्रिज प्रा.ली.को १ करोड ५९ लाख रुपैयाँ बराबरको दावीहरु फर्छयौट गरि दावी रकमको चेक हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७५/२०७६ मा कूल १ अर्ब १६ करोड १३ लाख ९८ हजार १८७ रुपैयाँ दावी भुक्तानी गरेको थियो भने आर्थिक वर्ष २०७६/२०७७ हाल सम्मको अवधिमा ७९ करोड २ लाख ८ हजार ६३९ रुपैयाँ दावी भुक्तानी गरेको छ । विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) संक्रमणको कारण सृजित असामान्य परिस्थितिले सामाजिक, आर्थिक कृयाकलापलाई दिर्घकालिन असरमा पुर्याई रहेको परिप्रेक्ष्यमा सिद्धार्थ इन्स्योरेन्स बीमा दावी भुक्तानी गर्न तर्फ केन्द्रित रहेको छ । यस विषम परिस्थितिमा समेत बीमित आकांक्षा अनुरुपको बीमा सेवा प्रदान गर्ने लक्षका साथ नेपाल सरकारले तोकेको मापडण्ड अनुरुप सुरक्षात्मक विधि अपनाई लकडाउनको समयमा सिमित कर्मचारीहरुद्धारा सामाजिक तथा भौतिक दूरी कायम गर्दै कार्यालय सञ्चालन गरि बीमा दावी फर्छयौट कार्यलाई उच्च प्राथमिकता साथ सम्पन्न गरि दावी रकम भुक्तानी गर्दै आएको उप प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिएका छन् । बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शी बनाउने तर्फ कम्पनी प्रतिवद्ध रहेको छ ।
इन्स्योरेन्स इन्स्टिच्युटले गर्यो विभिन्न देशका विज्ञसँग बीमा बारे वेबिनार
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले कोरोना महामारीले बीमा क्षेत्रमा पारेको असर सम्बन्धी छलफल वेविनार मार्फत सम्पन्न गरेको छ । उक्त छलफल कोरोना महामारीको बेलामा बीमा क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा गरिएको हो । छलफलमा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं, कार्यकारी निर्देशक राजुरमण पौडेल, इन्स्योरेन्स इन्स्टिच्युट नेपालका सिईओ भोजराज शर्मा, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे, जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे उपस्थित थिए । यस्तै, सेक्रेटरी जेनेरल इन्स्योरेन्स इन्स्टिच्युट अफ भारतका दिपक गडवाले तथा सिंगापूरका म्यानेजिङ डिरेक्टर स्पेसेलिस्ट रि कन्सल्टेन्सीका एन्ड्यू ह्यारिजको समेत सहभागिता रहेको थियो । यसो भने बीमा समिति अध्यक्ष चापागाईंले कोरोना महामारीका कारण हाल भइरहेको लकडाउनले सामाजिक र आर्थिक क्रियाकलापमा असर पारिरहेको छ । उक्त महामारीको असर बीमा क्षेत्रमा समेत पर्दै आएको छ । बीमा समितिले मोटर बीमामा बिमितलाई राहत दिने तथा कोरोना बीमाको समेत थालनी गरेको छ । राजुरमण पौडेल, कार्यकारी निर्देशक, बीमा समिति नेपाली बीमा क्षेत्रले विभिन्न प्रकारका समस्याहरु भोग्दै आएका छन् । विगतमा पनि भुकम्प लगायतका प्रकोपले प्रभाव पारेकोे बीमा क्षेत्रलाई कोरोना महामारीले कहिलेसम्म र कति समय यस्तो अवस्थामा रहनु पर्ने भन्ने एकिन गर्न समेत केही कठिन अवस्थामा अघि बढ्नु परेको छ । बीमा क्षेत्रले विगतका समस्याहरुमा समेत लड्दै काम गर्दै आएकाले भोलिका दिनमा थप राम्रो गर्ने निमामकीय लक्ष्य छ । यसो भने सेक्रेटरी जनरल गडवालेले आर्थिक क्रियाकलाप गर्ने संस्था तथा बीमा क्षेत्रको लागि यो एउटा परीक्षण काल हो । अहिले बीमा क्षेत्र लकडाउनपछि कत जाला भन्ने सबैको चासोको विषय छ । भोलिका दिनमा बीमा बजार बढ्ने संकेत भने मिलेको छ । अहिले मानिसहरुमा एक किसिमको भय पैदा भएको छ । साथै, बीमा क्षेत्रको महत्व पनि साथसाथै बढ्दै गएकोे छ । भोलिका दिनमा बीमा पोलिसी अनलाईनमा किन्नेहरुको संख्या बढ्दै जानेछ । बिमितहरुले बीमा किन्ने शैलीमा परिवर्तन आउँने देखिएको छ । दीपप्रकाश पाण्डे लकडाउनका सुरुवातमा बीमा क्षेत्रलाई केही कठिन भएको थियो । लकडाउनको समयमा कार्यालय आउँन सहज थिएन । केही पासको व्यवस्था भएपछि कार्यालय आउँन सहज भयो तथा फोनले नै बीमाको काम संचालन गर्न सहजिकरण गर्यो । लकडाउनको लामोे अवधिमा बिमितलाई निर्जीवन बीमाको तर्फबाट मोटर बीमामा राहत दिने व्यवस्था ल्याउँन आवश्यक भयो । नियामक निकाय बीमा समितिको सक्रियता पनि बीमा कम्पनी तथा बिमितहरुलाई सहयोग पुग्ने प्रकारको रह्यो । बिमकको तर्फबाट हेर्दा माइक्रो इन्स्योरन्समा दिइने बीमाले कोरोना बीमाको असहजतामा केही सहजिकरण दिन्छ । आर्थिक अवस्था कमजोर भएका तथा विकट ठाउँका बिमितहरुलाई समेत मिल्ने खालका पोलिसी आजको आवश्यकता हो । अनलाईनबाटै स्क्यान गरेर बिमितलाई सहयोग र सहजीकरण गर्न सकिने भएकोले यसलाई सकारात्मक पक्ष मान्न सकिन्छ । अब भनेको डिजिटलाईजेसनबाट नै काम गर्न आवश्यक छ । बीमा क्षेत्रमा तेस्रो त्रैमासको सबै हिसाब किताब भइसकेको अवस्था छ । नेपालको अफ्नो रिटेन्सन क्षमता त्यति बलियो छैन । विदेशी कम्पनीहरुसँगको समन्वयमा बीमा काम हुँदै आएको थियो । हवाई बीमामा समेत बीमाशुल्क केही महंगो भएकाले त्यसमा बीमा समिति तथा बीमा कम्पनीहरुले सोच्दै आएका छौं । अर्को भनेको कर्मचारी व्यवस्थापनमा समेत समस्या सिर्जना भएको छ । अहिले भनेकोे कर्मचारीहरुलाई प्रोत्साहन गर्न तथा पुरस्कृत गर्न सक्नु पर्ने बेला पनि हो । आजको दिनमा मेहनत गरेका कर्मचारीहरुले भोलिका दिनमा संस्थालाई सघाउँन सक्छन् । हामीले सरकारले लागू गरेको लकडाउनको मोडालिटी अनुसार बिमितको सेवा गर्दै आएका छौं । कोरोना पोलिसीले सुरुमा केही भय सिर्जना गरेपनि अहिले मुख्यतः निर्जीवन बीमा कम्पनीहरुले संचालन गर्न सकिन्छ भन्ने आत्मवल बढेको छ । शिवनाथ पाण्डे, अध्यक्ष, जीवन बीमक संघ एकातिर बैकको व्याजदर घटेको अवस्था भने अर्काेतिर कोरोना महामारीले बीमा क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ । बीमा क्षेत्रका क्रियाकलापमा ठूलै प्रभाव परेको छ । सबै काम जीवन बीमामा अभिकर्ता मार्फत हुने भएकाले यो क्षेत्र प्रभावित हुन पुगेको छ । सामाजिक दूरी कायम गर्नु पर्ने अहिलेको अवस्था र अभिकर्ताविना जीवन बीमामा काम गर्न नसकिने भएकाले असहज अवस्था सिर्जना भएको हो । डिजिटल्ली नै काम गर्नु अबको विकल्प हो । सोही कारण इन्टरनेट मोवाइल र कम्प्यूटरबाट बीमा व्यवसाय अघि बढाउने योजना अघि बढिरहेको छ । भुक्तानी सेवा प्रदायक डिजिटल एपहरुले बीमा क्षेत्रलाई अहिले सघाइरहेका छन् । एन्ड्यू ह्यारिज लक डाउनको समयमा सिंगापूरमा सरकारी नीति निर्देशन अनुसार नै काम भयो । अन्य छिमेकी देशहरुमा कोरोना भाइस फैलन थालेपछि यहाँ पनि सतर्कता अपनाइयो । बीमा क्षेत्र पनि कोरोना महामारीका कारण प्रभावित हुन पुग्यो । नियामकसँगको संचारले कोराना महामारीमा बीमा क्षेत्रलाई अघि बढ्न मद्दत गर्ने हाम्रो अनुभव रह्यो । बीमा क्षेत्रमा अहिले जताजतै डिजिटल्ली किनबेच नै बढेको छ । कहीकतै बीमा क्षेत्रलाई बिमितहरुले केही प्रश्न समेत गर्ने गरेको पाइन्छ । अहिलको अवस्था अनुसार त्यस्ता कुरा आएको हो । किनभने कोरोना महामारीको असर पनि प्रत्यक्ष नै देखिएको छ । चर्चामा एक जनाबाट सयौ जनामा कोरोना भाइस फैलिएका समाचारहरु आइरहेको बेलामा पुनर्बीमा कम्पनीहरुले पनि बीमा कसरी कुन मोडलमा गर्ने भन्ने कुरा सोच्न पर्ने अवस्था छ । वेबिनारलाई दुई चरणमा विभाजन गरिएको थियो । उक्त वेविनारमा पहिलो चरणमा सबैले आफ्नो विचार तथा प्रिजेन्टेसन राखेका थिए । यस्तै दोस्रो चरणमा केही समीक्षा समेत गरिएको थियो । सोमवारको वेविनारलाई इन्स्योरेन्स इन्टीच्युट नेपालका सिईओ भोजराज शर्माले सहजिकरण (संचालन) गरेका थिए ।