सिटिजन लाइफ इन्स्योरेन्सद्वारा साढे १ करोड मृत्यु दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर शाखाले बीमा दाबी वापत रु १ करोड ५० हजार भुक्तानी गरेको छ । उक्त कम्पनीले सवारी दुर्घटनामा ज्यान गुमाएका बीमित स्व. सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई रु १ करोड ५० हजारको चेक हस्तान्तरण गरेको हो । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई, सिटिजन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीले संयुक्त रुपमा पौडेलकी श्रीमती देवका खनाल पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । बुटवल १३ बेलबास निवासी स्व. पौडेलले १५ वर्षे बीमा अन्तर्गत रु. ५० लाखको बीमा गरी पहिलो किस्ता बुझाएका थिए । ३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी यहि कार्तिक ५ गते निधन भएको थियो । कार्यक्रमका प्रमुख अतिथी चिरन्जीवी चापागाईले जीवन बीमाको आवश्यक्ता तथा महत्वको बारेमा प्रकाश पार्दै बीमितको जीवन नरहे पनि जीवन बीमाको सिद्धान्त तथा मर्म अनुरुप बीमालेखमा उल्लेखित शर्त तथा सुविधा बमोजिम कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको बताए ।
५० लाख रुपैयाँसम्मको घर बीमा गर्न पाउने योजना सहित समितिले ल्यायो घुम्ती बीमा सेवा
काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित सबै बीमा कम्पनीलाई ग्रामीण क्षेत्रमा घुम्ती बीमा सञ्चालन गर्नका लागि मार्गदर्शन दिएको छ । समितिले शाखा रहित ‘घुम्ती बीमा सेवा सम्बन्धि मार्गदर्शन, २०७६ जारी गरेर कम्पनीहरूलाई सोही बमोजिम कार्य गर्न गराउन निर्देशन गरेको हो । यहि मंसिर २५ गतेदेखि लागू हुने गरी ल्याइएको उक्त बीमा सेवाको कार्य क्षेत्र जीवन र निर्जीवन दुबै क्षेत्र हुनेछन् । ५० लाख रुपैयाँसम्म घरको बीमा गर्न पाउने गरी उक्त सेवा आरम्भ गरिएको हो । विशेषतः ग्रामीण क्षेत्रलाई लक्षित गरी ल्याइएको उक्त मार्गदर्शनमा कम्पनीहरूले सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघुबीमा, दुर्घटना बीमाको सेवा बीमितको घरदैलो पुगेर दिनु पर्ने व्यवस्था गरेकोे छ । यद्यपि मार्गदर्शनले ५ लाख रुपैयाँभन्दा बढी बीमांक कायम हुने कुनै पनि जीवन बीमा गर्न नपाउने व्यवस्था गरेको छ । त्यस्तै एकल बीमा शुल्क, वैदेशिक रोजगारी म्यादी जीवन बीमा भने यो सेवा अन्तर्गत गर्न पाइदैन । घुम्ती बीमा सेवाको निर्जीवन बीमातर्फ सामुन्द्रिक, हवाई, इन्जिनियरिङ र मोटर बीमा गर्न नपाउने व्यवस्था गरिएको छ । बीमक कम्पनीले महानगरपालिका र उपमहानरपालिकाभित्र उक्त सेवा लागू गर्न पाउँदैन । निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले भने यस अन्तर्गत रहेर तोकिएको जिल्लामा अनिवार्य कृषि तथा पशुपन्छी बीमा सेवा सञ्चालन गर्नुपर्ने छ । घुम्ती बीमा सेवा सञ्चालन गर्ने कम्पनीले अनिवार्य रुपमा सो सेवामा सम्लग्न कर्मचारी दुर्घटना बीमा र उसले प्रयोग गर्ने सवारी साधन र नगदको समेत बीमा गराउनु पर्ने नयाँ व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘बीमक कम्पनीहरूले ग्राहकको घरदैलोमै हिडेर पुगेर भएपनि सेवा दिनुपर्ने छ,’ उनले भने ‘उक्त सेवा सञ्चालन गर्न कम्पनीको शाखा कार्यालयभन्दा छुट्टै डेस्क हुनुपर्नेछ । घुम्ती बीमाबाट संकलन भएको बीमा शुल्क सोही दिन वा सोही दिन नभ्याए बैंक खुलेको पहिलो दिननै सेवा प्रदायकले बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ । समितिले बीमा ऐन २०४९ को दफा ८ को उपदफा ‘घ’ को २ ले दिएको अधिकार प्रयोग गरी मार्ग दर्शन तयार पारेको हो । उक्त सेवा विमितको घरदैलोमा गएर दिइने सेवा हो । नेपाल इस्योरेन्सले सुरुवात गरेको घुम्ती बीमा सेवालाई बीमा समितिले मार्गनिर्देश दिएकामा कम्पनीले आफ्नो सपना पुरा भएको भन्दै खुशी व्यक्त गरेको छ । हरेक नेपालीको घर आँगनमा बीमाको पहुँच विस्तार गर्ने नेपाल इन्स्योरेन्सको अभियानलाई नियामक निकाय बीमा समितिले साथ दिएकोमा कम्पनीलाई काम गर्न अझ हौसला मिलेको नेपाल इन्स्यारेन्स कम्पनीका डेपुटी जेनेरल म्यानेजर बिक्रान्त पाण्डेले बताए । ‘सबैको घर-घरमा बीमा पोलिसी पुर्याउने यो कम्पनीले यो अभियान शुरु गरेको बताए । ‘विकट भौगोलिक अवस्थाका कारण नेपालमा यस्तो प्रकृतिको बीमा योजना बढी उपयोगी हुन्छ,’ उनले भने ‘ घुम्ती बीमा कम्पनीको सपना हो । कम्पनीले गत चैतमा उदयपुरको बेलक्का नगरपालिकाबाट घुम्ती बीमा सेवा आरम्भ गरेको थियो । घुम्ती बीमा कार्यक्रम संचालन गर्दै बीमा समिति, सातै दिन २४ घण्टा सेवा दिने तयारी
आर्थिक संकटले चरिकोट तनावमा, बैंकिङ र बीमा क्षेत्र उच्च जोखिममा
काठमाडौं । मंसिर २२ गते आईतबार दोलखा उद्योग वाणिज्य संघले चरिकोटस्थित सगरमाथा इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा ताला लगायो । कुनै पनि उद्योग वाणिज्य संघलाई अरु कुनै पनि बीमा कम्पनी, बैंक वा व्यवसायिक प्रतिष्ठानमा ताला लगाउने अधिकार छैन । कुनै पनि उद्योग वा व्यवसायिक प्रतिष्ठानमा अरुले गलत तरिकाले ताला लगाएको ठाउँमा उद्योग वाणिज्य संघले खोलाउन पहलकदमी लिनुपर्नेमा दोलखामा उल्टो भएको नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर समूह उपाध्यक्ष किशोर प्रधान बताउँछन् । ‘बीमा कम्पनीको शाखा कार्यालयमा ताला गलाउने काम सरासर गलत हो’ उपाध्यक्ष प्रधानले विकासन्युजसँग भने- ‘दोलखामा दुःखत घटना भएको मैले सुनेको छु । यो त गुण्डागर्दी हो ।’ बीमा क्षेत्रमा बीमित र बीमकबीच ठाउँठाउँमा विवाद देखिएको तर ती विवाद समाधान गर्ने विधि, प्रक्रिया, संस्थागत संरचनाहरु भएकोले त्यसैलाई पछ्याउनु पर्ने उनको भनाई छ । दोलखा उद्योग वाणिज्य संघको महासचिव हेमराज रिमाल बीमा कम्पनीको शाखामा ताला लगाउनु रहर नभई बाध्यता भएको बताउन्छन् । ‘बीमा कम्पनीहरु बीमा गराउने बेलामा घरघरमा जान्छन्, बीमा दावी गर्नुपर्दा धेरै थरि कागजपत्र माग गर्छन् । बीमित समस्यामा परेको बेलामा बीमा दावी भुक्तानी गर्न मान्दैन्’ उनले विकासन्युजसँग भने- ‘व्यवसायीबाट धेरै गुनासो आएपछि, हामीले पटक पटक भन्दा बीमा दावी भुक्तानी गर्न कम्पनीले नमानेपछि दवाव दिन संघले आधिकारिक निर्णय गरेर तालाबन्दी गरेका हौं ।’ तालबन्दी गर्ने संघको गलत निर्णय लामो समय टिकेन । जिल्ला प्रशासन कार्यालय दोलखाको हस्तक्षेपपछि मंसिर २४ गते सर्बपक्षीय बैठक बस्यो । बैठकमा बीमा दावी भुक्तानी विवाद विधिसम्मत सेटल गर्ने निर्णय भयो । र, संघ आफैले लगाएको ताला खोलिदियो । यस्तो थियो घटना सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीका अनुसार दावा लामाको निर्माण कम्पनी ला निर्माण सेवाले ‘कन्ट्याक्टर अल रिक्स’ बीमा पोलिसी लिएको छ । बीमा समितिले बीमा शुल्क नतोकेको (नटटेरिफ) क्षेत्र भएकोले यस्तो क्षेत्रमा बीमक र बीमितले मोलमाेलाई गरेर बीमा शुल्क तोकिन्छ र बीमा पोलिसी किनबेच हुन्छ । सडक निर्माण जोखिम बीमा गर्दा निमाण व्यवसायीले १ करोड रुपैयाँसम्मको क्षति हुँदा बीमा दावी नगर्ने सर्तमा बीमा पोलिसी लिएको बीमा कम्पनीको भनाई छ । हाल कम्पनीले २७ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको छ । १ करोडसम्मका क्षति दावी नगर्ने विषय प्रष्टरुपमा बीमा पोलिसीमा लेखिएकोले २७ लाखको दावीमा बीमा कम्पनीले भुक्तानी नपर्ने बीमा कम्पनीको तर्क छ । निर्माण कम्पनीले पीच गरेको सडक केही दिनमा नै भत्किएपछि सडक डिभिजन कार्यालयले पुनः पीच गर्न लगाएको थियो । पीच गरेको सडक ठेकदारले अन्तिम किस्ता भुक्तानी लिन नपाउँदै भत्किएपछि सरकारले भुक्तानी रोकेको थियो । अन्तिम किस्ता भुक्तानी रोकिएपछि ला निर्माण सेवाले पुनः पीच गरेको थियो । पुनः पीच गर्दा लागेको २७ लाख रुपैयाँ उसले बीमा बापतको क्षतिपूर्ति मागेको जानकारहरु बताउँछन् । यस विषयमा ला निर्माण सेवा कम्पनीका मालिक दावा शेर्पाले खुलस्त बोल्न चाहेनन् । ‘अहिले एउटा सहमति भईसकेको छ । सहमति भईसकेको कुरामा नबोलौ’ उनले विकासन्युजसँग भने । बीमा कम्पनीबाट आफू मात्र नभई अरु धेरै मानिस पीडित भएको उनले बताए । ‘सगरमाथा इन्स्योरेन्स मात्र होइन, दोलखामा ७/८ वटा बीमा कम्पनी छन् । सबै कम्पनीले बीमितलाई दुःख दिईरहेका रहेछन् । मेरो विषय बाहिर आएपछि पीडितहरु ‘म पनि बीमा पीडित भन्दै’ धेरै जना सम्पर्कमा आएका छन् । हामी पत्रकार सम्मेलन गरेर सबै समस्या सार्वजनिक गर्छौ’ उनले भने । दोलखाका व्यवसायीहरु बीमा कम्पनीहरु प्रति यसरी आक्रोशित हुँदै गर्दा काठमाडौं मुख्यालय रहेका सबै बीमा कम्पनीहरुको ध्यानाकर्षण भएको छ । बीमकहरुको संस्था नेपाल बीमक संघले सगरमाथा इन्स्योरेन्सको शाखा बन्द गरेको, कर्मचारीलाई थर्काउने, धम्क्याउने काम गरेको भन्दै खेद व्यक्त गरेको छ । यस्ता गतिविधिले शाखा विस्तारको कार्यलाई निरन्तर्ता दिन, भएको शाखाबाट नियमित सेवा सञ्चालन गर्न तथा आमजनतालाई अतिआवश्यक बीमा सेवा प्रदान गर्न कठिन हुने संघले जनाएको छ । भूकम्पपछिको बीमा दावीमा पनि बीमा कम्पनीले बीमितलाई सन्तुष्ट बनाउन नसकेको दोलखाबासीको दुःखेसो छ । ‘भूकम्पपछि मात्रै १६ अर्ब रुपैयाँ बराबरको बीमा दावी परेको थियो । बीमा कम्पनीहरुले १४ अर्ब रुपैयाँ भुक्तान गरिसकेका छन्’ बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाई भन्छन्- ‘हरेक वर्ष बीमा कम्पनीहरुले अर्बौ रुपैयाँ दावी भुक्तानी गर्दै आएका छन् । कुनै बीमा कम्पनीले बीमितलाई नियमअनुसार दावी भुक्तानी नगरेको भए पीडित पक्षले बीमा समितिमा उजुरी गर्न सक्छन् । बीमा समितिले जहिले पनि बीमितको पक्षमा काम गर्दै आएको छ ।’ बीमाको बारेमा सर्वसाधारणमा उचित जानकारीको कमी र बीमा करारको अध्ययन नगर्ने बीमितको कमजोरीका कारण पनि धेरै विवाद हुने गरेको उनले बताए । चरिकोट आर्थिक संकटमा पछिल्लो समय दोलखाको सदरमुकाम चरिकोटमा आर्थिक संकट देखिएको छ । संघीयतासँगै चरिकोटमा रहेको डिभिजन कार्यालयहरु रामेछाप र सिन्दुपाल्चोक सारिएका छन् । सडक, सिंचाई, शिक्षा, खानेपानी, महिला, सहकारी डिभिजन कार्यालयहरु अरु जिल्लामा स्थान्तरण भएपछि दोलखा जिल्लाको सदरमुकाममा मानिसहरुको आवतजावत निकै कम भएको छ । त्यस्तै, दोलखाको सबै गाउँपालिकामा सडक जोडिएको, गाडी पुगेका, हरेक गाउँपालिकामा बैंक पुगेकोले व्यवसायिक कारोबार पनि गाउँपालिका तहका बिकेन्द्रित भएको छ । संघीयता आएपछि चरिकोटको आर्थिक कारोबार ७० देखि ८० प्रतिशतले कमी आएको दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमालले बताए । ‘चरिकोटको मुख्य व्यवसाय भनेको होटल र व्यापार हो । पहिला सदरमुकाममा आएर गर्नुपर्ने काम मध्ये धेरै काम गाउँपालिकामै हुन्छन् । मान्छे सदरमुकाम आउन छोडे । होटल पनि सुके, व्यापार पनि सुक्यो’ उनले भने । खाडी चौरदेखि चरिकोटसम्म मोटर बाटो खराब भएकोले पनि चरिकोटको व्यवसायमा धक्का लागेको उनले बताए । चरिकोटमा आर्थिक संकट देखिएकोले बीमा कम्पनी मात्र होइन, बैंकिङ सेवा पनि घाटामा गएको बैंकर्सहरुको भनाई छ । चरिकोटका शाखाबाट प्रवाह भएको कर्जाको सावा व्याज भुक्तानी नियमितता समस्या भएको बैंकर्सको भनाई छ ।