रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, न्यूनतम १० कित्ता आवेदन दिन पाइने
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ)को बिक्री खुला भएको छ । इन्स्योरेन्सले आज(भदौ ४ गते) देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।
जीवन बीमा कम्पनीले आर्थिक वर्ष सकिएकाे ५ महिना भित्र बीमांकीय मूल्यांकनको प्रतिलिपि पेश गर्नु पर्ने
काठमाडौ । जीवन बीमा कम्पनीले आर्थिक वर्ष अन्त्य भएको मितिले ५ महिना भित्र बीमांकीय मूल्यांकन गरेर समितिलाई प्रतिवेदन पेश गर्नु पर्ने भएकाे छ । बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको बीमांकीय मूल्यांकन सम्बन्धि निर्देशिका २०७७ जारी गरी उक्त व्यवस्था गरेकाे हाे । साथै, ताेकिएकाे समयमै प्रतिवेदन बुझाउन नसक्ने कम्पनीलाई भने समितिले कारबाही गर्ने जनाएको छ । यस्तै, बीमांकीय मूल्यांकन गर्दा गणितीय कोष निर्धारण कुल बीमाशुल्क विधि प्रयोग गरी गर्नुपर्ने भएको छ । बीमांकीय मूल्यांकन गर्दा वास्तविक बचत वा ६ प्रतिशत ब्याजदर मध्ये जुन कम हुन्छ, सोहि दरमा गर्नु पर्ने भएको छ । बीमांकीय मूल्यांकन प्रतिवेदनमा समावेश गरिएका तथ्यांकको शुद्धता तथा पर्याप्तता सम्बन्धमा बीमकको संचालन समितिको उद्घाेषण सहितको निर्णयको प्रतिलिपि समावेश गर्नु पर्नेछ । बीमांकीय प्रतिवेदनले गरेको सिफारिस बमोजिम बीमकले कायम गर्न चाहेको बोनस दर र अन्य व्यवस्थाहरु सम्बन्धमा बीमकको संचालक समितिको निर्णयको प्रतिलिपि आवश्यक हुनेछ । साथै, बीमांकीय मूल्यांकन प्रतिवेदनमा समावेश गरिएका तथ्यांकको शुद्धता तथा पर्याप्तता सम्बन्धमा बीमांकीको उद्धोषण आवश्यक हुने भएको हो । यस्तो छ निर्देशिका: [pdf id=233223]
असारको जीवन बीमा शुल्कप्रति कम्पनीहरुकै शंका, समिति भन्छः गडबढी भएको छैन
काठमाडौ । जीवन बीमा कम्पनीहरुले गत असार महिनाको बीमाशुल्कको वृद्धिप्रति शंका गरेका छन् । विगतमा अन्य महिनाको तुलनामा असार महिनामा २० प्रतिशत बीमा शुल्क बृद्धि हुने गरेको भएपनि गत आर्थिक वर्षको असारमा मात्रै ५० प्रतिशत उठेपछि शंका उत्पन्न भएको हो । गत आर्थिक वर्षमा २२ अर्ब रुपैयाँ बीमा शुल्क उठेको छ । त्यसमध्ये ११ अर्ब रुपैयाँ असार महिनामा मात्रै उठेको छ । वर्षभरी उठेको बीमा शुल्कको आधा रकम एक महिनामा मात्रै उठ्नुले शंका उब्जाएको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले बताएका छन् । जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले विकासन्यूजडटकमको वार्षिक उत्सवको अवसरमा आयोजित भर्चुलअ कार्यक्रममा चैत्र महिनामा रोकिएको बीमाशूल्क असार महिनामा एकैचोटी आएको बताएका थिए । चार महिनादेखि रोकिएको बीमा शुल्क एकैचोटी आएका कारण असारमा बीमा शुल्क संकलन बढी देखिएको उनको विश्लेषण छ । बीमा कम्पनीहरुले बीमाशुल्क बढेकोमा खुशी छन भने यस्तो बृद्धि स्वभाविक नभए आगामी दिनमा समस्या आउन सक्ने आलकन सहित चिन्ता व्यक्त गरेका छन् । विगतका वर्षहरुमा असारमा बढीमा २० प्रतिशत मात्रै बीमाशुल्क वृद्धि हुने गरेको थियो । गत आर्थिक वर्षमा भने ५० प्रतिशतको हाराहारीमा वृद्धि हुन पुगेको छ । प्राईम लाईफ इन्स्योेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईका अनुसार असार महिनाको बीमा शुल्क वृद्धि अस्वभाविक छ । ‘कोरोना महामारीको कारण लकडाउन भयो, सोही कारण केही व्यवसाय एकैपटक भित्रिएको हुनसक्छ, अर्को, महामारी आएपछि मानिसहरुमा बीमा आपतको साथी रहेछ भन्ने हिसाबले पनि वृद्धी भएको हुनसक्छ, तर कारण जेसुकै भएपनि एक महिनामा वर्ष भरीकै तुलनामा ५० प्रतिशत व्यवसाय भित्रिनु भनेको असाध्यै अस्वभाविक कुरा हो’, प्राईम लाईफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले विकासन्यूजसँग भने । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले दिएको जानकारी अनुसार गत असार महिनाकोे बीमा शुल्कले जीवन बीमा कम्पनीहरुले कतिको अनुपातमा बीमा शुल्क संकलन गर्छन् भन्ने आफ्ना पूराना आँकलनहरु फेल खाएको छ । ‘गत असारमा बीमा शुल्क यसरी आर्जन भयो कि अब विगतका परिसूचक हेरौं न भन्नुपर्ने अवस्था आयो, मासिक बीमा कम्पनीहरुले संकलन गर्ने बीमा शुल्क कति हो भनेर आकलन गर्न पहिलेको अनुपातले काम नगर्ने जस्तो देखिएको छ, व्यवसाय वृद्धि हुनु निकै राम्रो कुरा हो तर अस्वभाविक रुपमा व्यवसाय बढ्दा यसमा गम्भीर हुनुपर्ने अवस्था देखियो’,सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । स्वभाविक नै होः समिति नियामक निकाय बीमा समितिले भने असार महिनाका संकलन भएको बीमा शुल्कलाई लिएर चिन्ता गरिहाल्नुपर्ने अवस्था नभएको बताएको छ । यद्यपि बीमा कम्पनीहरुले नै शंका व्यक्त गरेपछि समिति पनि केही गडबढी भएको छ कि भनेर सचेत भएको छ । पछिल्लो समय कोरोना महामारीका कारण भएको लकडाउनका कारण जीवन बीमा क्षेत्रमा असारमा एकैपटक व्यवसाय भित्रिएको समितिको अनुमान छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार जीवन बीमामा त्रयमास अनुसार बीमा शुल्कमा भिन्नता रहने तथा अन्तिम त्रयमासमा भने सबैभन्दा धेरै आर्जन गर्ने विगतको तथ्यांकले देखाएका छ । ‘कुनैपनि आर्थिक वर्षका पहिलोे त्रयमासमा बीमाशुल्क आर्जन राम्रै हुन्छ, बीचमा दशै तिहारले गर्दा केही कमी हुन्छ, त्यसपछि चैत्रतिर पनि सामान्य नै हुन्छ, असार महिनामा भने सबैभन्दा बढी संकलन हुन्छ, असार भनेकोे अभिकर्ताले १८ प्रतिशत इन्सेन्टिभदेखि विभिन्न पुरस्कार लागि काम गर्ने बेला हो, अझ यसपालिको असार त कडाउनले रोकेको पैसा आउने बेलापनि रह्यो, यसरी बीमाशुल्क बढेको हामीले विगतमा पनि देखेका छौं,’ कार्यकारी निर्देशक पौडेलले भने । किन बढ्यो होला ? जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कप्रति शंका बढेपनि अस्वभाविक नै हो भन्ने मान्न नियामक निकाय तयार छैन । बीमा समितिले गत जेठ १७ गतेबाट सिंगल प्रिमियममा कर्जा लिन मिल्ने व्यवस्थालाई रोकेको छ । सिंगल प्रिमियमबाट कर्जा लिएर बीमा गर्न बन्द भएको अवस्थामा बीमा शुल्क बृद्धिलाई सकारात्मक रुपमा नै लिनुपर्ने समिति बताउँछ । बीमा कम्पनी, बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु, अभिकर्ताहरु सबैले एउटा तार्गेट राखेर काम गर्ने तथा सो तार्गेट पूरा गर्ने समय असार नै भएकाले बीमाशुल्क ह्वात्तै बढेको हुनसक्ने समिति बताउँछ । यस्तै, कोरोना भाइरस संक्रमणले धेरैको ज्यान लिन थालेपछि स्वास्थ्य सचेतना बढेका कारण जीवन बीमा गर्नेहरुको संख्या बढेको र सोही कारण बीमा शुल्क बढेको हुन सक्ने समितिको भनाइ छ ।