जनरल इन्स्योरेन्सका महाप्रबन्धक तमोटको कार्यकाल थपियो
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्यकाल थपिएको छ । महाप्रबन्धक तमोटको कार्यकाल आगामी तीन महिना अर्थात माघ १८ गतेसम्मको लागि थप भएको हो । कार्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको कार्यकाल थप गर्ने निर्णय गरेका हुन् । महाप्रबन्धक तमोटको कार्याकाल यहि कार्तिक १८ गतेसम्म रहेको थियो । सञ्चालक समितिको निर्णयसँगै उनले आगामी माघ १८ गतेसम्म यस कम्पनीमा आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।
कोरोना बीमा गर्नुभएको छ ? यसरी थाहा पाउँनुस्, तपाईंले २५ हजार पाउने हो कि एक लाख
काठमाडौ । कोरोना बीमा गर्नेले २५ हजार रुपैयाँ पाउने हो कि, ७५ हजार रुपैयाँ पाउने हो कि वा एक लाख नै पाउने हो भन्ने दुविधा उत्पन्न भएको छ । कोरोना बीमाको दाबी भुक्तानीमा समस्या र पटक पटक नीतिगत परिवर्तन गरेपछि अन्योल बढेको हो । कोरोना बीमाको सुरुमा १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बिमांक रकम तोएिको थियो । सो रकम दाबी भुक्तानी लिनको लागि पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टी भएको कागजात पेश गरे हुन्थ्यो । तर भदौ २८ गतेदेखि कोरोना बीमाको बिमांक रकम १ लाख रुपैयाँ मात्रै बनाएको तथा होम आइसोलेसनमा बसेका संक्रमितले २५ हजार र अस्पताल भर्ना भएका संक्रमितले ७५ हजार रुपैयाँ मात्रै दाबी पाउने व्यवस्था गरिएपछि दुविधा उत्पन्न भएको हो । बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार बीमा कोरोना बीमा दाबी भुक्तानीमा केही परिवर्तन भएकोले परिवर्तित व्यवस्था अनुसार दाबी भुक्तानी हुन्छ । ‘बीमा कम्पनीहरुको कारणले दाबी भुक्तानीमा समस्या आएको होइन, पहिला पीसीआर रिपोर्ट नेगेटिभ देखाएकै आधारमा दाबी भुक्तानी गर्ने व्यवस्था थियो, अहिले पीसीआर रिपोर्ट र अस्पतालको बिल दुवै हेरेर नगद र बाँकी सुविधा दिने व्यवस्था भएको छ, भुक्तानी व्यवस्थामा आएको केही परिवर्तनले बिमितलाई केही अस्पष्ट भए जस्तो लागेको होला, तर प्रक्रिया बुझ्ने खालकै छ,’ सगरमाथा इन्स्यारेसन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका संघका महासचिव क्षेत्रीले भने । सानिमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न उपाध्याय कोरोना बीमा पोलिसीमा उल्लेख भए अनुसार नै दाबी भुक्तानी पाउने बताउँछन् । भदौ २८ अघि जारी गरिएको कोरोना बीमा पोलिसीमा पीसीआर रिपोर्ट पोजेटिभ देखिने वित्तिकै बिमांक रकम बराबर (एक लाख वा ५० हजार रुपैयाँ) दाबी भुक्तानी पाइने हो । ‘दाबी भुक्तानी कति हुन्छ, कसरी हुन्छ भनेर अल्मलिनु पर्दैन, कोरोना बीमा पोलिसीमा जे लेखिएको छ, सोही अनुसार दाबी भुक्तानी पाइन्छ, कसैको कुनै बेला कुनै कारणले भुक्तानीमा ढिला भएको होला तर, भुक्तानी नपाइने भन्ने भएन, अर्थात भदौ २८ अघि बीमा गराएका व्यक्तिले १ लाख र ५० हजार रुपैयाँ नगदै पाउँछन्, त्यसपछि बीमा गराएका व्यक्तिले पछिल्लो बीमा पोलिसीमा उल्लेख भएअनुसार २५ हजार र ७५ हजार रुपैयाँ पाउँछन्,’ प्रमुख कार्यकारी अधिकृत उपाध्यायले भने ।
ज्योति लाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीको बीमा गराउने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनसँग आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुको सहुलियत दरमा सामूहिक जीवन बीमाको सेवा प्रदान गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच कार्तिक ५ गते सम्झौता भएको हाे । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र नेपाल मेडिकल एशोशिएशनको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रम नेपाल मेडिकल एशोशिएशनका महासचिव डा.विनोद रिजाल लगायत दुवै संस्थाका अन्य अधिकारीहरुको उपस्थितिमा भएको हो । उक्त सम्झौता अनुसार हाल विश्वभर महामारीको रुपमा फैलिरहेको र नेपालमा पनि तिव्रगतिमा फैलिंदै गरेको कोरोना भाइरसको महामारीको प्रतिकुल परिस्थितिमा पनि सेवामा समर्पित स्वास्थ्यकर्मीहरुले सहुलियत दरमा सामूहिक जीवन बीमा गर्न सक्नेछन् । ज्योति लाईफ इन्स्योरेन्सले उक्त सम्झौता अनुसार नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीहरुको लागि कोरोना भाइरस (कोभिड-१९), कालगति, बिरामी, हृदयघात वा कुनै पनि कारणबाट हुने मृत्यूको जोखिमका साथै १५ घातक रोगहरुको उपचार सुविधाको जोखिम रक्षावरणको सुविधा प्रदान गर्नेछ र अन्य योजनामा समेत सहजता प्रदान गर्नेछ । यो सामूहिक जीवन बीमा सरल र अनलाइन फर्मको प्रकृयाबाट भरी संघमा आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुले आफ्नो बीमा गरी, परिवारका सदस्यहरुको भविष्य सुनिश्चित गराउन सक्नेछन् । विभिन्न प्रतिकुल परिस्थितिमा पनि आफनो कर्मक्षेत्रमा निरन्तर क्रियाशिल स्वास्थ्यकर्मीहरु, यस सामूहिक म्यादी जीवन बीमाबाट बीमित सबैको मनोबल उच्च रहने कुरा नेपाल मेडिकल एशोशिएशन र ज्योति लाईफ इन्स्यारेन्सले जनाएको छ ।