सिटी एक्सप्रेसले ग¥यो आफ्ना अभिकर्ताहरुको कोरोना बीमा
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड-१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा गराएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी अभिकर्ताहरुको बीमा गराइएको सिटी एक्सप्रेसले जनाएको छ । सिटी एक्सप्रेसले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै यस लकडाउनको अवस्थामा पनि आफ्ना सेवाग्राहीहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया, युके, अमेरिका लगायत थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८००० भन्दा बढी सेवा केन्द्रहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ ।
अर्थमन्त्रालयको असहयोगले कोरोना बीमा अप्ठेरोमा, भोलिदेखि रोकिने
काठमाडौं । अर्थमन्त्रालयले असहयोग गरेका कारण कोरोना बीमा कार्यक्रम रोकिने अवस्थामा पुगेको छ । बीमा समितिको विशेष पहलमा सुरु भएको कोरोना बीमामा अत्याधिक आकर्षण बढेको र बीमा कम्पनीहरुको पुँजी बराबर नै दायित्व पुगेपछि तत्कालका लागि स्थगनको निष्कर्षमा समिति पुगेको हो । समितिले बैशाख ७ गतेदेखि कोरोना बीमा कार्यक्रम सुरु गरेको थियो । सो बीमामा कोरोना संक्रमणको पुष्टी हुने (पीसीआर परीक्षणमा पोजेटिभ) वित्तिकै बिमितले क्षतिपूर्ति पाउने व्यवस्था मिलाइएको थियो । कोरोना बीमामा ५० हजार र १ लाख रुपैयाँ दाबी भुक्तानी पाउने व्यवस्था गरिएको छ । यो बिमांकमध्ये ५० हजार रुपैयाँ बराबरको बीमा गर्न बार्षिक व्यक्तिगत रुपमा ५ सय र सामुहिक वा पारिवारिक रुपमा ३ सय रुपैयाँ बिमाशुल्क कायम गरिएको थियो । यस्तै, १ लाख रुपैयाँ बराबरको बीमा गर्न व्यक्तिगत रुपमा १ हजार रुपैयाँ र सामुहिक वा पारिवारिक रुपमा ६ सय रुपैयाँ बीमाशुल्क तोकिएको थियो । कोरोना बीमाको अवधि १ वर्ष तोकिएको छ । यस्तो बीमा योजना छोटो समयमा नै लोकप्रिय भएको छ । समितिले बैशाख ७ गतेदेखि संचालनमा ल्याएको यो बीमा योजनामा अहिलेसम्म ३ लाखभन्दा बढीले बीमा गराइसकेका छन् । तर, अर्थमन्त्रालयले कोरोना बीमा कार्यक्रमलाई वस्तुगत ढंगले सहयोग नगर्दा समस्यामा परेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा कोरोना बीमा गर्नको लागि बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने भनिएको छ । निर्जीवन बीमा कम्पनीहरुले ४/४ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत बीमा शुल्क लिने र सोही अनुपातमा क्षतिपूर्ति तिर्ने गरी पुलमार्फत गरिएको यो बीमा कार्यक्रममा सरकारले सहयोग गर्नुको साटो बीमा शुल्कमा अनुदान दिने कार्यक्रम ल्याएर अझ समस्या थपिदिएको सरोकारवालाले बताएका छन् । ‘सरकारले कोरोना बीमालाई सहयोग गर्न चाहेको थियो भने पुलमा निश्चित रकम अनुदान हालिदिन सक्थ्यो, यो नभएपनि कोरोना बीमा दाबी भुक्तानीमा समस्या भयो भने सरकारले भुक्तानी दिन्छ भन्ने आश्वासन मात्रै भए पनि दिन सक्थ्यो, तर बीमा शुल्क वापत उठेको रकम बीमा कम्पनीहरुले एक रुपैयाँ पनि चलाउन नपाउने गरी आएको कोरोना बीमा कार्यक्रमलाई अझ अप्ठेरोमा पार्ने र देखिने बेलामा सहयोग गरे जस्तो देखिने कार्यक्रम बजेटमा आयो, यसले कोरोना बीमा कार्यक्रम असफल पार्न अर्थमन्त्रालय नै लागेको भान मिलेको छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । कोरोना बीमाबाट सिर्जना भएको दायित्व बीमा कम्पनीहरुको चुक्तापुँजी बराबर भइसकेपछि स्थगन गर्ने निर्णयमा समिति पुगेको छ । ‘कोरोना बीमा गर्नेहरुको संख्या ३ लाख पुगेको छ, अधिकांशले १ लाख रुपैयाँ बराबरको नै बीमा गरेका छन्, यसरी हेर्दा कोरोना बीमाको दायित्व ३० अर्ब रुपैयाँ जतिको भइसक्यो, २० वटा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब र नेपाल पुनर्बीमा कम्पनीको १० अर्ब गरी जम्मा ३० अर्ब रुपैयाँ मात्रै हो, त्यसैले बीमा कम्पनीहरुको चुक्ता पुँजी बराबरको दायित्व सिर्जना भइसकेकोले स्थगन गर्नुपर्ने अवस्था आएको हो,’ समितिका एक अधिकारीले भने । यस्तो गरे विदेशी पूनर्बीमा कम्पनीले महामारीकै लागि बीमाले जोखिम बहन कही कतै गर्दैन । यो कुरा बीमा समितिले पहिलेदेखि नै उठाउदै आएको पनि थियो । तर पनि देशमा महामारी फैलिदा विश्वव्यापी समस्या महशुस गर्दै समितिले बीमितका हितका लागि कोरोना बीमा योजना अघि सार्यो । साथै, उक्त कोरोना बीमाको हकमा पनि बीमा शुल्क पनि महङ्गो नरहेको बीमा समिति बताउँछ । बीमा समिति यसरी ल्याइएको बीमा रोक्नकोलागि नभएको दाबी समेत गरेको छ । कुनैपनि देशमा बीमा कम्पनीहरुले जोखिम धारण गर्न नसक्दा स्वदेशी पूनर्बीमा कम्पनी मार्फत काम भएको छ । नेपालको हकमा पनि बीमा समितिले नेपाल पूनर्बीमा कम्पनीसँग छलफल गर्दा ठ्याक्कै कसरी अघि बढ्ने भन्ने कार्ययोजना भने तयार हुन सकेको छैन । तर समितिले आफ्नो तर्फबाट आफूहरु लागिरहेको र सरकारको निर्देशन नपाइ सकेको बताएको छ । जर्मनका बीमा कम्पनीलाई म्युनिक री, स्वीजरल्याण्डको बीमा कम्पनीलाई स्विस री, भारतका बीमा कम्पनीलाई जीआईसी पुनर्बीमा कम्पनीले जोखिम कभरमा सघाएका छन् । नेपालको हकमा पनि नेपाली बीमा कम्पनीलाई नेपाल रीले कसरी सघाउने भन्ने विषमा समितिले गृहकार्य गरिरहेको छ । तर अन्य देशको तुलनामा नेपालको री इन्स्योरेन्सले महामारी धान्ने अवस्था नरहेको बताइन्छ ।
सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले घरमै बसेर आफ्नो विवरण हेर्न सक्ने
काठमाडाैं । सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले आफ्नो विवरण घर मै बसेर हेर्न सक्ने भएका छन् । उनीहरूले इन्स्याेरेन्सकाे मोबाइल एप मार्फत आफ्नो विवरण हेर्न सक्ने भएका हुन् । इन्स्योरेन्सले लकडाउनको अहिलेको परिस्थितिमा आफ्ना बीमितहरुले घर बसेर सानिमा लाईफको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सुविधा(युजर पाेर्टल) को शुभारम्भ गरेको छ । सानिमा लाइफको एप सजिलै गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यहाँबाट सर्चमा गएर आफ्नो पोलिसी नम्बर र प्रस्तावकको जन्म मिति राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ । यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ । साथै, सानिमा लाईफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, सानिमा एडभाइजर्स पाेर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ । बीमा योजना खरिद गरिसकेपछि आफ्न विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । यसका साथै कम्पनीले घरमै बसेर इ-सेवा, खल्ती, कनेक्ट आइपीएस, सेल-पे लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने गरी आफ्नो एपमा नयाँ सुविधा थप गरेको छ ।