बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बीमा कम्पनी सञ्चालन गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आइतबार एक निर्देशिका जारी गर्दै बीमा कम्पनीलाई सोमबार(असार १ गते)देखि दुई सिफ्टमा कम्पनी सञ्चालन निर्देशन दिएको हो । सरकारले गरेको निणर्य बमोजिम बीमा कम्पनीहरुलाई बिहान ८ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट र दिउँसो १ देखि बेलुकी ६ बजेसम्म अर्को सिफ्टमा आफ्नो कार्यालय सञ्चालन गराउने व्यवस्था मिलाउन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बताएका छन् । साथै, जीवन बीमा प्रिमियम बापतको रकम भुक्तानी गर्ने म्याद थप गरी लकडाउन अवधी सकिएको १५ दिनसम्म कायम गर्न समितिले निर्देशन दिएको छ । यस अघि उक्त रकम भुक्तानी गर्ने समय जेठ मसान्तसम्म तोकिएको थियो । त्यस्तै, गत बैशाख १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार सबै बीमा कम्पनीका कार्यालय प्रमुखहरुले सबै कर्मचारीहरुलाई खाई पाई आएको तलव भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ । ।  

लकडाउनपछिको बीमा क्षेत्रः डिजिटलाइजेसनमा नगई हुँदैन, जाँदा अभिकर्ता अट्दैनन्

काठमाडौं । लकडाउनले बीमा क्षेत्रलाई डिजिटल्ली काम गर्न तथा नयाँ किसिमका बजार सुहाउने बीमालेख जारी गर्नु पर्ने पाठ सिकाएको सरोकारवालाले बताएका छन् । बीमा समिति तथा कम्पनीहरुले दिएको जानकारी अनुसार बीमा क्षेत्रले अब प्रविधिमैत्री वातावरणमा जोड दिनु पर्छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार लकडाउनले बीमा क्षेत्रलाई डिजिटल्ली अघि बढ्न तथा नयाँ किसिमका बीमा प्रोडक्ट अहिलेको आवश्यकता हो भन्ने पाठ सिकाएको छ । ‘लकडाउनले बीमा क्षेत्र डिजिटलाईजेसनमा जानुपर्छ, अब नयाँ–नयाँ किसिमको बीमालेख बेच्नुपर्छ, पुराना मात्र बेचेर हुँदैन, हाम्रा सिस्टमलाई पनि पहिले प्रविधिमैत्रीमा रुपान्तरण गर्नु पर्छ भन्ने सिकाएको छ, यस्तै विश्वभरी लकडाउन हुँदा मलेसियाको मार्केटमा कुनै असर देखिएन, यसरी हामी ठूला जोखिममा हामी कसरी बाच्ने र बचाउँने तथा व्यवसायलाई सँगसँगै लैजाने भन्ने पनि हामीले सिकेका छौं,’ कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार लकडाउनका कारण बीमा क्षेत्रमा अन्य क्षेत्रमा जस्तै केही समस्या देखिएका पनि अब नयाँ ढंगबाट अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । ‘हामीले हाल संचालनमा रहेका बीमा पोलिसीहरु नवीकरण गर्न पाएनांै, ल्याप्सेसहरु बढे, सरेन्डर गर्ने पनि बढ्ने अवस्था देखिन्छ, कोरोना महामारीले जीवन बीमामा मृत्यु दाबीको मात्रा बढ्ने सम्भवना पनि छ, हामीले जे छ त्यही वास्तविकतालाई स्वीकारेर अघि बढ्नु पर्छ भन्ने पाठ सिकायो’, प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । डिजिटलाइजेसनमा अभिकर्ताको भूमिका के ? बिमितको ढोकासम्म पुगेर बीमा चेनता फैलाउने तथा सहजिकरण गर्ने अभिकर्ताहरु सक्रिय रुपमा काम गर्न पाएनन् । लकडाउनको कारण समाजिक दूरी कायम गर्नुपर्ने भएकाले अभिकर्ताहरुले आफूले गर्दै आएको काम रोकियो । यसबाट अभिकर्तालाई मात्र नभई बीमा क्षेत्रलाई व्यवसायिक प्रभाव परेको छ । आगामी दिनमा डिजिटल रुपमा बीमा व्यसाय संचालन हुने कुराहरु आइरहेका छन् । यस्तो अवस्थामा बीमा अभिकर्ताहरुको अनलाईनमा भुमिका के हो भन्ने त्यति प्रष्ट छैन । साथै, अभिकर्ताविना नै बीमा बजार संचालन हुन्छ त भन्दा बीमा कम्पनीहरुले त्यस्तो सम्भव नभएको बताएका छन् । एकातिर अभिकर्ताले अनलाईनबाट के गर्ने र कति गर्ने भन्ने टुङ्गो छैन भने अर्कोतर्फ बीमा व्यवसाय अनलाइन मार्फत नै अघि बढाउदा राम्रो हुने जानकारहरु बताउछन् । नयाँ प्रोडक्टमा आर्कषण बीमा क्षेत्रमा जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले विभिन्न किसिमका बीमा सेवा प्रवाह गर्दै आएका छन् । पछिल्लो समय कोरोना बीमामा बीमितको आकर्षण बढ्नुले बीमितहरुले नयाँ किसिमका प्रोडक्ट पर्खिरहेका छन् कि भन्नेपनि देखिन्छ । कोरोना त्रासको समयमा बीमा समितिले ल्याएको कोरोना बीमामा अत्याधिक आकर्षण बढ्नुले पनि दुःखको साथी बीमा हो भन्ने पुष्टी गरेको सरोकारवाला बताउँछन् । नेपाली बीमा क्षेत्रले भूकम्पबाट एउटा पाठ तथा कोरोना महामारीबाट अर्को पाठ सिकेको सरोकारवालाको भनाइ छ । तर बीमा क्षेत्र आफैमा भविष्यको जोखिम लागि रक्षावरण गर्ने क्षेत्र भएकाले पाठ सिक्ने मात्रै भन्दापनि अप्रत्यासित किसिमका जोखिमका लागि तयार हुनु पर्ने देखिएको छ । डिजिटल्ली अघि बढ्न आवश्यक सम्भव कति ? कोरोना महामारीले विश्वलाई नै भीडभाडबाट टाढा रहनु पर्ने पाठ सिकाइरहेको छ । यस्तो बेलामा जनुकुनै क्षेत्रले सामाजिक दूरी कायम गर्नु अनिवार्य नै हो । त्यसको उत्तम विकल्पका रुपमा बीमा क्षेत्र पनि डिटिल्ली अघि बढ्नुको विकल्प देखिदैन । तर, घरबाटै बीमितले बीमा पोलिसी किन्ने वातावरण अहिले सिर्जना भइ नसकेको बीमा कम्पनीहरु बताउछन् । बीमितले पोलिसी खरिद गर्न तथा अनलाइनबाटै दाबी भुक्तानी पाउँने अवस्था अहिलेसम्म छैन ।

सिंहदरबार अगाडिको जग्गा प्रति राेपनी ५२ हजारमा किनबेच, केही दिनभित्रै पास हुने

काठमाडौं । सिंहदरवारकाे मुल ढाेका अगाडिको १५ रोपनी जग्गा प्रति राेपनी ५२ हजार रुपैयाँमा नै काराेबार हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई बेचेको उक्त जग्गा केही दिनभित्रै नामसारी गर्ने तयारी भैरहेकाे राष्ट्रिय बीमा संस्थानका नायव महाप्रबन्धक महेश रिमालले जानकारी दिए । ४५ वर्षअघि नै जग्गा किनबेचकाे पैसा लेनदेन भएको जग्गा अहिलेसम्म नामसारी हुन सकेको थिएन ।सो जग्गा विवाद उत्पन्न भएकोले बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले करिब साढे ३ अर्ब रुपैयाँको जग्गा आफ्नो सम्पत्तिका रुपमा देखाउन पाएका थिएनन् । तर, सो जग्गामा यी दुबै बीमा कम्पनीले भोगचलन भने गर्दै आएका छन् । सो जग्गा विवाद सम्बन्धि विषय विकासन्युजले गत ६ माघमा २ बीमा कम्पनीको साढे ३ अर्बको सम्पत्ति विवादमा, गाँठो फुकाउन मन्त्रिपरिषद् गुहारिँदै शिर्षकमा समाचार प्रकाशित गरेको थियो । ४५ वर्षअघि तत्कालिन खाद्य संस्थानले प्रति राेपनी ५२ हजार रुपैयाँका दरले १५ रोपनी जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । राष्ट्रिय बीमा संस्थानले पनि कबोल गरेको रकम त्यतिबेला नै भुक्तानी गरेको थियो । विभिन्न कारण नामसारीमा ढिला भएपछि संस्थानले जग्गाको मूल्य बढाएर बेच्न खोजेको थियो । सिंहदरवार अगाडिको जग्गा प्रति राेपनी ५२ हजार रुपैयाँ बेच्न नसकिने बताउँदै खाद्य संस्थानले जग्गा पास गर्न अस्वीकार गर्दै आएकाे थियो । उक्त जग्गा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नामसारी गर्न नमान्दा सरकारी लगानीको दुई बीमा कम्पनीले १५ रोपनी जग्गा गुमाएको समाचार विकासन्युजमा प्रकाशित भएपछि समस्या समाधान गर्न सबै पक्ष जुर्मुराएका थिए । उक्त जग्गाको लागि ४५ वर्षअघि नै भुक्तानी गरिसकेकोले सोही मूल्यमा जग्गा पाउनु पर्ने भन्दै बीमा संस्थानले सरकारसँग सहयाेग मागेकाे थियाे । ‘जगाको विवाद मिल्ने क्रममा छ, क्षेत्रफलको आधारमा राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले आधा–आधा भाग लगाउँदै छौं । जग्गाको नापजाँचको कामहरु भईरहेको छ’ रिमालले भने । पहिले बीमा संस्थानले नै जीवन तथा निर्जीवन दुबै प्रकारका बीमा व्यवासय गर्दै आएको थियो । गत २०७१ सालबाट भने बीमा कम्पनीबाट निर्जीवन बीमा व्यवसाय गर्ने किसिमले विभाजन गरिएको थियो । सोही कारण संस्थानले पाउने जग्गा जीवन तथा निर्जीवन तर्फका कम्पनीका लागि भाग लाग्छ । सम्बन्धित सामग्री २ बीमा कम्पनीको साढे ३ अर्बको सम्पत्ति विवादमा, गाँठो फुकाउन मन्त्रिपरिषद् गुहारिँदै