सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘डिजिटल सिटिजन’ सेवा शुभारम्भ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले “डिजिटल सिटिजन” सेवाको उद्घाटन गरेको छ । कम्पनीले जुम एप मार्फत डिजिटल सिटिजन सेवालाई नेपाल मै पहिलो पटक यसरी डिजिटल माध्यमबाट शुभारम्भ गरेको हाे । सिटिजन लाईफको यस भरचुअल कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसेडर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले संयुक्त रूपमा डिजिटल सिटिजन सेवा शुभारम्भ भएको घोषणा गरेका थिए । सिटिजन लाइफ इन्स्योरेन्सले “डिजिटल सिटिजन” अभियान सँगै अब अनलाईन मार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको छ । यस सुविधा अन्तरगत अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सक्नेछन् । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमवाट संचालन गर्न शुरु गरिसकेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाउन र समयको बचत हुनुको साथै ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने कम्पनीको “डिजिटल सिटिजन” अभियान अन्तरगत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी गराए । साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी ई-सेवा, फाेन-पे र कनेक्ट अाईपिएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधा उपलव्ध गराएको छ भने ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।
एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमालेख अनलाईन बाटै बिक्री हुने
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले अनलाईन बाटै जीवन बीमालेख बिक्री गर्ने सुविधा ल्याएको छ । कम्पनीले कोभिड-१९ का कारण अनलाइन माध्यमको बढ्दो प्रयोग र आवश्यक्तालाई मध्यनजर गर्दै अनलाइन मार्फत नै बीमालेखको लागि आवेदन गर्न सकिने सुविधा ल्याएको हो । यससँगै अभिकर्ताले कम्पनीको आधिकारिक वेभसाइट मा एजेण्ट पोर्टल मार्फत आवेदन दर्ता गर्न सक्ने छन् । इजाजत प्राप्त अभिकर्ताले यस कम्पनीको आधिकारिक वेभसाइटमा एजेण्ट पार्टेलमा लगइन गरी सकेपछि बीमा चाहने व्यक्तिको बारेमा सम्पूर्ण विवरण र कागजपत्र प्रविष्टी गरेर अनलाइन आवेदन गर्न सक्ने कम्पनीले जानकारी गराएको छ । बीमा समितिको निर्देशानुसार हाललाई अधिकतम ३ लाख रुपैयाँ बीमांकसम्मको बीमालेखको लागि आवेदन दिन सकिने छ । साथै, कम्पनीका बीमितले ईसेवा र फोन पे मार्फत घरमै बसेर नविकरण बीमाशुल्क भुक्तानी गर्न सकिने छ । साथै, अनलाइन लगइनबाट अभिकर्ताले कारोबार विवरण तथा बीमितले आफ्नो बीमालेख सम्बन्धी सम्पूर्ण विवरण आफैंले हेर्न मिल्ने छ ।
नेपाल इन्स्योरेन्सको बोनस सेयर पारित, चुक्ता पुँजी एक अर्ब १५ करोड नाघ्यो
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ५ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७१औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात ५ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । साथै, उक्त बोनस सेयरमा लाग्ने कर सहित चुक्ता पुँजीको २.८९ प्रतिशतले हुने ३ करोड १७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएको छ । यससँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ । साथै, उक्त नगद लाभांश रकमबाट गत आर्थिक वर्ष २०७४/०७५ मा जारी गरिएको बोनस सेयरमा तिर्नु पर्ने कर रकम चुक्ता नभएका सेयरधनीहरुका हकमा उक्त कर रकम समायोजन गरी बाँकी रकम नगद लाभांश भुक्तानी दिने प्रस्ताव समेत पारित भएको इन्स्योरेन्सले जनाएको छ । उक्त सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा असार ५ गते कम्पनीको भवन कमलादी काठमाडौंमा सम्पन्न भएको हो । आर्थिक वर्ष ०७५/०७६ मा कम्पनीको प्रगति विवरण कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको र यस महामारीले आगामी दिनमा व्यवसाय गर्ने तरिका, सुरक्षा, प्रविधिको प्रयोग र यस प्रकारका भवितब्यबाट पर्न सक्ने प्रभावलाई व्यवस्थापन गर्ने तर्फ समेत सचेत रहि आफ्नो रणनीति बनाउने कम्पनीले बताएको छ । कम्पनीले प्रधान कार्यालय सहित आफ्नो ४९ शाखा कार्यालय र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्र गरी ५३ स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा बीमाको पहुँचमा अझै अभिबृद्धि गर्न देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखा सञ्जाल विस्तार गरी देशको ग्रामिणस्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पुर्याउने कम्पनीको योजना रहेको छ ।