एनएलजी इन्स्योरेन्सको स्थगित हकप्रद सेयरको बिक्री खुल्ला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । लकडाउनका कारण स्थगित भएको एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरको पुनः आज(असार ९ गते) बाट बिक्री शुरु भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसअघि कम्पनीले २०७६ फागुन ११ गतेदेखि चैत १२ गतेसम्म सेयर निष्काशन गरेको थियो । तर त्यसपछि लकडाउन भएसँगै कम्पनीको सेयर निष्काशन पनि स्थगित भएको थियो । हाल सबै कार्यालयहरु खुला भएसँगै कम्पनीले स्थगित रहेको हकप्रद सेयरको पुनः बिक्री शुरु गरेको छ । यससँगै इच्छुक सेयरधनीले असार ९ गतेदेखि आगामी असार २५ गतेसम्म(बैंकिङ्ग समयभित्र) आवेदन दिन सक्नेछन् । उनीहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर मार्फत उक्त मितिसम्ममा आवेदन दिन सक्ने कम्पनीका बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।

बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके सुपर तलब खाता अन्तर्गत सात लाख रुपैयाँ दुर्घटनाजन्य मृत्युको बीमा दाबी रकम भुक्तानी गरेको छ । नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएकोमा बैंकले उक्त रकम भुक्तानी गरेको हो । निधनपश्चात् मृतक सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमा दाबी रकम सात लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । बैंकले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उक्त तलब खातामा रहेको बीमा सुबिधा उपलब्ध गराउँदै आएको छ । बैंकले बिओके सुपर तलब खातामा विभिन्न सुबिधाहरुका साथ सात लाख रुपैयाँ दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको बीमा सुबिधा दिँदै आईरहेको छ । यस खातामा रहेका थुप्रै सुबिधाहरुको प्रयोगवापत लाभ लिन नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीले कर्मचारीहरुको तलब खाता बैंक अफ काठमाण्डूको हेटौंडा शाखामा विगत केही समयदेखि संचालन गर्दै आईरहेको छ । बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रिमियम तिर्न ढिला भएपनि सिटिजन लाइफ इन्स्योरेन्सले जरिवाना नलिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्न ढिला भएमा जरिवाना नलिने भएको छ । कम्पनीले असार २१ गतेसम्म ग्राहकको प्रिमियम भुक्तानी विलम्ब भए वापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको हो । कोरोना भाइरस रोकथामका निमित्त लागू भएको लकडाउनको कारण नेपालीमा सृजना भएको अप्ठयारो परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले उक्त छुट दिने भएको हो । सिटिजन लाइफ इन्स्योरेन्सबाट जारी भएका बीमालेख मध्ये २०७७ साल आषाढ ६ गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका सबै बीमालेखहरु २०७७ साल असार २१ गतेसम्म पुनर्जागरण गराई नवीकरण बीमाशुल्क भुक्तानी गरेमा सोमा लाग्ने विलम्ब शुल्क पूर्ण रुपमा छुट दिएको जानकारी गराएको छ । यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ-आफ्नो बीमालेख सक्रिय गराई यस अवसरको फाइदा लिन कम्पनीले आफुसँग आवद्ध सबै बीमितहरुलाई आग्रह गरेको छ । देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने हुँदा यस विषम परिस्थितीमा ग्राहकलाई विलम्ब शुल्कमा पुरै छुटको सुविधा दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए ।