बैंक अफ काठमाण्डूद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । बैंक अफ काठमाण्डूले मुद्दती खातामा एक लाख रुपैयाँ बराबराको बीमा दावी भुक्तानी गरेको छ । बैंकले यस कम्पनीमा मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी शुभद्रा श्रेष्ठलाई औषधी उपचारको लागत खर्च बापत उक्त रकम भुक्तानी गरेको हो । बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बैंकको निक्षेप ग्राहक शुभद्रा श्रेष्ठलाई उक्त बीमा दाबी रकम हस्तान्तरण गरेका हुन् । यस खातामा रहेका सुविधाहरुको लाभ लिन शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डूको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी छिन् । श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थिइन् । बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ । बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आईरहेको छ । बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि पाँच लाख रुपैयाँ, १८ घातक रोगहरुको लागि पाँच लाख रुपैयाँ तथा औषधी उपचारको लागि एक लाख रुपैयाँको बीमा सुविधा रहेको छ । बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सले गर्यो रक्तदान कार्यक्रम
काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो दाेश्राे वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले दुई वर्ष पार गरी ३ वर्षमा प्रवेश गरेको अवसरमा आइतबार(असार २१ गते) रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आज गरेको रक्तदान कार्यक्रममा हालसम्म ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको सुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले रक्तदान गरेका थिए । साथै, इन्स्योरेन्स कम्पनीले आगामी दिनमा अझ विश्वनीय, भरपर्दो, छिटो, छरितो, व्यवस्थित एवम् प्रविधिमैत्री बीमा सेवा प्रदान गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
गत वर्षमा प्रिमियर इन्स्योरेन्सको मुनाफा साढे २६ करोडभन्दा बढी
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष (२०७५/७६) मा खुद मुनाफा २६ करोड ५८ लाख ५ हजार आर्जन गरेको छ । २६ औं वार्षिक साधारण सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले वार्षिय प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । ‘आर्थिक वर्ष २०७५/७६ मा कुल बीमा शुल्क १ अर्ब ६४ करोड ६७ लाख ८८ हजार आर्जन गरि खुद मुनाफा २६ करोड ५८ लाख ५ हजार आर्जन गरेको छ भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रहेको छ’ अध्यक्ष श्रेष्ठले भने । सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना संचालक केदार नारायण मानन्धर तथा बलराम श्रेष्ठ पुन निर्विरोध निवाचित भएका छन् । उक्त साधारण सभा केन्द्रिय कार्यालय भवनको सभा कक्षमा समापन भएको थियो ।