ज्योति लाईफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो जीवन बीमा दावी भुक्तानी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको धनगढी प्रादेशिक कार्यालयले २ लाख ९ हजार ८ सय रुपैयाँ बराबराको जीवन बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित जगदिश कुमार भट्टको २०७६ साल फागुन ८ गते उपचारको क्रममा निधन भएकोले बीमितका श्रीमती मन्जु कुमारी भट्टलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । मृतकका श्रीमती मन्जु कुमारी भट्टले बीमित भट्टको मृत्यु भएको जानकारी गराई आवश्यक कागजात पेश गरि उक्त भुक्तानी पाएकी हुन् । धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले मिति असार २२ गते दाबी रकम दुई लाख तथा बोनस रकम ९ हजार ८ सय रुपैयाँ गरी जम्मा २ लाख ९ हजार ८ सय रुपैयाँ दाबी रकम दाबीकर्ता श्रीमती मन्जु कुमारी भट्टलाई प्रादेशिक कार्यालय धनगढीबाट हस्तान्तरण गरेका हुन् ।
अजोड इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो, कति भर्न पाइन्छ ?
काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आज(असार २५ गते) बाट बिक्री शुरु भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । याे पनि पढ्नुहाेस् ः अजोड इन्स्योरेन्सको आइपीओ किन्नु कत्तिको उचित होला ?
अजोड इन्स्योरेन्सको आइपीओ किन्नु कत्तिको उचित होला ?
काठमाडौ । अजोड इन्स्योरेन्स कम्पनीले आफ्ना प्रमोटरहरु राम्रो भएको कारण लगानीकर्ताले राम्रो प्रतिफल पाउने बताएको छ । कम्पनीले स्थापनाको छोटो अवधिमा सबैको विश्वास र साथ पाएकाले आगामी दिनमा लगानीर्ताको हितमा काम गर्ने बताएको हो । प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले कम्पनीको प्रमोटर ग्रुपहरु नेपाली बजारमा रुचाइएका र बजारका ब्राण्ड भएकाले लगानीकर्ताले कुनै शंका वा दुविधा मान्न आवश्यक नरहेको बताए । ‘कम्पनी आफैमा राम्रो छ, व्यवस्थापन तहमा अब्बल कर्मचारी साथीहरु हुनुहुन्छ, ग्राहकहरुको वर्षाैंदेखि सेवामा समर्पित रहनु भएका प्रमोटर रहेकोले लगानीकर्ताको लागि आकर्षण बन्छ भन्ने हाम्रो अनुमान पनि हो’, प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । कम्पनीले गत चैत्र मसान्तसम्ममा ३ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । सो कम्पनीको बीमा बजारमा ३ प्रतिशत हिस्सा छ । २० वटा निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स १५ औं स्थानमा छ । स्थापनाको छोटो अवधिमा पाएका यस्ता सफलताले थप उर्जा प्राप्त भएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए । इन्स्योरेन्सको कुल प्रिमियम ८३ करोड रुपैयाँ छ । इन्भेष्टमेन्ट १ अर्ब ७ करोड रुपैयाँ रहेको छ । प्रमोटर ग्रुपमा को को छन् ? भाटभटेनी सुपर मार्केट, सेन्चुरी बैक, हाथवे इन्भेष्टमेन्ट, रियल स्टेटलयातका क्षेत्रका लगानीकर्ता नै सो कम्पनीको प्रमोटर छन् । त्यस्तै, नेपाल सरकारको विशिष्ट तहबाट अवसकास पाएका अनुभबी व्यक्तिहरुको समेत यस कम्पनीमा सहभागिता रहेको छ । के भन्छ कम्पनी ? प्रमोटर गु्रप राम्रो भएकाले कम्पनी लगानीकर्ताहरुको आकर्षण रहने कम्पनी बताउछ । यस्तै, नेपालमा प्रसिद्ध रहेका प्रमोटरहरुमा लगानीकर्ताको विश्वास रहदै आएको छ । कम्पनी आफैले पनि समिक्षा गर्दा छोटो अवधिमा कम्पनीको नेटवर्क राम्रो छ । कम्पनीले आफ्नो इन्भेष्टमेन्ट राम्रो रहेको भन्दै त्यसमा सन्तुष्टी जनाउदै आएको छ । इन्स्योरेन्स कम्पनीको अर्को साल लगानीकर्तालाई १० प्रतिशत डिभिडेन्ट दिने लक्ष्य रहेको छ । समयमै सिइओ पाउँदा सहजता कम्पनीले आफ्नो व्यवस्थापन पक्ष बलियो रहेकाले काम गर्न सहज भएको बताउँदै आएको छ । बीमा बजारमा लामो समयसम्म कतिपय कम्पनीहरु प्रमुख कार्यकारी अधिकृत विहिन अवस्थामा गुज्रनु परेको थियो । तर अजोडले भने समयमै प्रमुख कार्यकारी अधिकृत (सिइओ) पाएको थियो । त्यसैकारण पनि कम्पनीलाई फड्को मार्न सहज भएको बताइएको छ । कम्पनीले सुरुवाती चरणमा नै ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतको छनोट गर्न सफल भयो । अन्य बीमा कम्पनीकै तुलनामा पनि आफ्ना परिसुचकहरु बलियो रहनुमा कम्पनीले आफ्नो मात्र योगदान नभइ यसमा ग्राहकहरुको समेत माया जोडिएको बताएको छ । उक्त इन्स्योरेन्स कम्पनीले भोलिका दिनमा मध्यम आयस्तरदेखि न्यून आयस्तर भएका जनतासम्म बीमा सेवा प्रवाह गर्ने जानकारी दिएको छ । मुख्य कुरा भनेको छोटो समयमा नै सबैको साथ पाएकाले भोलिका दिनमा समेत लगानीकर्ता, बीमित तथा शुभचिन्तकहरुको हितमा काम गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत खत्री बताउँछन् । अजोड इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि १ सय रुपैयाँ बराबरको ३० लाख कित्ता (३० करोड रुपैयाँ बराबरको) साधारण सेयर (आइपीओ) जारी गर्दैछ ।