यूनाइटेड इन्स्योरेन्सको बीमा शुल्क ४४ प्रतिशतले वृद्धि

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ प्रतिशत बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आवको पहिलो तीन महिनाको आवधिमा २६ करोड ७४ लाख बीमा शुल्क आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.३० प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७को पहिलो त्रैमासमा १८ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । युनाइटेड इन्स्योरेन्सले गत वर्ष बिमा क्षेत्रमा खारिएका व्यक्तिहरु भित्र्याएपछि कम्पनीको पर्फमेन्समा सुधार आएको हो । उनीहरुकै अथक प्रयासपछि चालू आवको पहिलो त्रैमासमा बिमा शुल्क आर्जनमा वृद्धि भएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४४ दशमलव ३० प्रतिशतले बिमा शुल्क आर्जन बढेको युनाइटेडकी डेपुटी सीईओ उपासना पौडेलले बताइन् । यूनाइटेडले ग्राहकलाई सन्तुष्टी दिलाउँदै र विश्वास जित्दै अघि बढेकाले चालु आवको पहिलो महिनामा ठूलो सफलता मिलेको पौडेलको भनाइ छ । कम्पनीले वर्तमान समयमा ग्राहक सेवा, दाबी भुक्तानी प्रक्रियाका साथै ग्राहकमुखी बजार क्रियाकलापमा व्यापक सुधार गरेको पाैडेले बताइन। कम्पनीले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि सरल र सहज सेवा प्रदान गर्ने जनाएको छ ।

२ लाख ७३ हजारले पाए सानिमा जनरल इन्स्योरेन्सको सेयर, करिब ६ लाखकाे हात खाली

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) को आज(असाेज ३० गते) बाँडफाँड भएको छ । उक्त आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार भाग्यमानी २ लाख ७३ हजारले मात्र कम्पनीको सेयर हात पारेका छन् । उनीहरुले गोलाप्रथाबाट १०/१० कित्ताको दरले कम्पनीको सेयर हात पारेका हुन् । आईपीओमा कूल ८ लाख ६६ हजार ९ सय ५ जना आवेदकहरुबाट एक करोड ८५ लाख ९१ हजार ५ सय २० कित्ताको लागि सेयर आवेदन परेको थियो । जसमध्ये ३३ सय ६० जना आवेदकहरुबाट ६२ हजार २ सय ८० कित्ताको लागि परेको आवेदन दोहोरो भएकाले उक्त आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रितपूर्वक प्राप्त ८ लाख ६३ हजार ५ सय ८५ वटा आवेदकबाट एक करोड ८५ लाख २९ हजार २ सय ४० कित्ताका लागि आवेदन प्राप्त भएको छ । जसमध्ये गोलाप्रथाबाट २ लाख ७३ हजार जनालाई १०/१० कित्ताको दरले बाँडफाँड गरिएको हो । यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ५ लाख ९० हजार बढीकाे हात खाली भएको छ । कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ।

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, कति बजे ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर (आईपीओ) भोलि शुक्रबार (असोज ३० गते) बाँडफाँड हुने भएको छ । आईपीओ भोलि बिहान साढे ८ बजे बाँडफाँड हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जानकारी गराएको छ । क्यापिटलका अनुसार कम्पनीले निष्काशन गरेको आईपीओमा ८२ हजार ७ सय ३ जनाले एक करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जुन कम्पनीले माग गरेको भन्दा ६.९५ गुणा बढी हो । कम्पनीले  (असोज २१ गते) देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ।