जति धेरै बीमा गरेपनि दाबी एउटा मात्र

काठमाडौ । एक जनाले दुई वा धेरै ठाउँबाट कोरोना बीमा गराए पनि दाबी भुक्तानी भने एक ठाउँबाट मात्रै पाइने नेपाल बीमक संघले जनाएको छ । पछिल्लो समय कोरोना बीमा गराउने एकै जना बीमितले विभिन्न ठाउँबाट बीमा गरी दाबी भुक्तानीको माग गरेकोमा गम्भिर ध्यानाकर्षण भएकाे जनाउँदै संघले काेभिड बीमा दावी भुक्तानी एक ठाउँबाट र एक जनाले एक पटक मात्र लिन सक्ने बताएकाे छ । पछिल्लो समय एउटै व्यक्तिले विभिन्न ठाउँबाट भुक्तानी लिने प्रयास गरिरहेकाे बीमक संघका महासचिव एवम् सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए । एकजना बीमितले आफू आवद्ध विभिन्न कम्पनी तथा संघ संस्थाबाट कोरोना बीमा गराउने र पीसीआर पोजेटिभ देखिएको अवस्थामा एउटै बीमाका लागि विभिन्न कम्पनीहरुमा धाउने क्रम बढेको क्षेत्रीको भनाई छ । एक ठाउँमा बीमा गराएका बीमितले त्यही बीमा अर्को कम्पनीमा गराउँदा दोहोरो लाभ पाउन नसक्ने उनले बताए । एउटै बीमा लेखका लागि २ ठाउँमा बीमाशूल्क बुझाए पनि बीमाले एउटा कम्पनीबाट मात्रै भुक्तानी गर्ने र त्यसका लागि एकद्धार प्रणाली समेत लागू भएको उनले बताए । एउटै बीमितले दुईतर्फी बीमा दाबी माग गर्नु गैर कानुनी र दण्डनीय काम भएको उनले बताए । विभिन्न संघ संस्थाले सदस्य तथा ग्राहकको कोरोना बीमा गराई रहेकोले दोहोरिने सम्भावना बढिरहेको जानकारहरु बताउँछन् । यसरी संस्थागत रुपमा हुने बीमामा अधिकांश बीमित आफैले बीमाशूल्क बुझाउँदैनन् । अहिले कोरोना बीमाको दावी भुक्तानीमा जानकारहरुले नै बढी पैसा धुत्ने प्रयत्न गरेको उनले बताए । यस्तो जोखिम प्रति बीमा कम्पनी सचेत भई एकद्धार प्रणाली लागू गरेको उनले बताए ।

सरकारी कर्मचारीले कोरोना बीमा गर्दा ५० प्रतिशत अनुदान पाउने नियम लागू

काठमाडौ । सरकारी कर्मचारीले कोरोना भाइरस (कोभिड–१९) बीमा गराउँदा ५० प्रतिशत अनुदान पाउने व्यवस्था कार्यान्वयन भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा भएको व्यवस्था कार्यान्वयनमा आएको हो । बजेटमा सरकारी कर्मचारीले कोरोना बीमा गराउँदा बीमा शुल्कको ५० प्रतिशत अनुदान सरकारले दिने व्यवस्था थियो । यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब कुनैपनि निर्जीवन बीमा कम्पनी मार्फत कोरोना बीमा गराउँदा सरकारी कर्मचारीले बीमा शुल्कमा अनुदान पाउने भएका हुन् । नेपाल बीमक संघले सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई सरकारी कर्मचारीहरुको कोरोना बीमाका लागि आवश्यक सहजीकरण गर्न अनुरोध समेत गरेको छ । कोरोना बीमा मापदण्ड २०७७ लागु भएपश्चात बीमक संघले सबै कम्पनीलाई त्यस्तो अपिल गरेको हो । कोरोना बीमा गराउँदा व्यक्तिगत र सामुहिक गरी २ प्रकारले गर्न पाउने व्यवस्था थियो भने बिमांक रकम ५० हजार र एक लाख रुपैयाँ गरी दुई प्रकारको छ । बीमा समितिले कोरोना बीमा मापदण्ड संशोधन गर्दै व्यक्तिगत रुपमा कोरोना बीम गराउन नपाइने व्यवस्था गरिसकेको छ । समितिले तोकेको बीमा शुल्क अनुसार ५० हजार रुपैयाँको सामुहिक (पारिवारिकसमेत) कोरोना बीमा गराउँदा ४ सय रुपैयाँ र एक लाख रुपैयाँ बिमांकको कोरोना बीमा गराउँदा ६ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । अहिले गरिएको कोरोना बीमा आगामी चैत मसान्तसम्मको लागि कायम रहनेछ ।

समीट लघुवित्तका सेयरधनीले लाभांश नपाउने

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाका सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश नपाउने भएका छन् । संस्थाले आज(असार २ गते) एक सूचना जारी गर्दै सेयरधनीले गत वर्षको लाभांश नपाउने जानकारी गराएको हो । उक्त निर्णय असोज १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरणहरु नियमक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । तर, सेयरधनीका लागि बोनस तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव भने नगरिएको संस्थाले जानकारी गराएको छ । सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई समीट लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने भएको छ । आगामी असोज ६ गतेदेखि दुबै संस्थाको एकीकृत कारोबार शुरु हुने भएको छ ।