बोनसपछि शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २०५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २६२२ रुपैयाँ तोकिएको छ ।
ज्योति लाईफको आईपीओ अपडेटः ३ अर्ब बढीकाे आवेदन, कतिले भरे सेयर ?
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्ममा ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज(फागुन २५ गते) दिउँसो ४ः३० बजेसम्ममा १५ लाख ७० हजार ४१४ जनाले ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ता सेयरको लागि आवेदन दिइसकेका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा ५.६३ गुणा बढी आवेदन हाे । कम्पनीले सर्वसाधारणमा ५९ लाख ४० हजार कित्ता माग गरेकाे थियाे । यससँगै कम्पनीकाे आईपीओमा आवेदन दिने भाेलि अर्थात फागुन २६ गते अन्तिम दिन रहेकाे छ । कम्पनीले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरकाे लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । फागुन २१ गतेदेखि निष्काशन हुने उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् । ज्योति लाईफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेकाे मध्यमस्तरकाे सुरक्षित कम्पनी जनाउँछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्ममा १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ भने जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ ।
एलआईसी नेपालको १०.५३ प्रतिशत लाभांश पारित, सञ्चालकमा कोमल अग्रवाल चयन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) को प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । फागुन २५ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७५/७६को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र बोनस सेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश पाउने भएका छन् । साथै, सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ । कम्पनीको साधारणसभा काठमाडौंको नक्सालस्थित एलआईसी नेपालको शिक्षालय हलमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले १ लाख ८९ हजार ३२० वटा नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत ४ अर्ब २२ करोड ८३ लाख रुपैयाँ संकलन गर्न सफल भएको थियो । त्यस्तै, २०७६ असार मसान्तसम्ममा कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७ लाख ३५ हजार ७४५ वटा र कूल जीवन बीमा कोषमा ५३ अर्ब ८७ करोड ७३ लाख रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमालेख संख्यामा ४२.०९ प्रतिशत, लगानीतर्फ २३.६५ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ प्रतिशतको बृद्धिदर रहेको थियो । कम्पनीका अध्यक्ष एम.आर. कुमारले आफ्ना बीमितहरुलाई सदैव उच्चतम प्रतिफल दिईरहने प्रतिबद्धता जनाएका छन् । सभामा संचालक समितिका अन्य संचालकहरु मुकेश कुमार गुप्ता, अशोक कुमार अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र लक्ष्मी प्रसाद दास उपस्थित थिए ।