६ जनामा कोरोना देखिएपछि बीमा समिति सिल, अब वर्क फ्रम होम

काठमाडौं । बीमा समितिका ६ जना कर्मचारीमा कोरोना पोजेटीभ देखिएपछि बीमा समितिको कार्यालय नै सिल गरिने भएको छ । समितिका अनुसार कार्यालयमा आएर दैनिक काम गर्ने ६ जनामा कोरोना देखिएपछि भोलि अर्थात सोमबारदेखि समितिको कार्यालय नै सिल गरिने भएको हो । कार्यालय एक साताका लागि सिल हुने बीमा समितिले जानकारी दिएको छ । बीमा समितिको कार्यालय सिल हुने भएपनि सेवाग्राहीलाई दिइने सेवा भने यथावथ रहेको बताइएको छ । अब बीमा समितिका कर्मचारीहरुले भोलिबाट वर्क फ्रम हम अर्थात घरबाटै काम गर्नु पर्ने भएको छ । बीमा समितिको भौतिक संरचना साँघुरो भएका कारण समिति सिल गर्न बाध्य भएको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए । ‘हाम्रो भौतिक संरचना साघुँरो छ, कार्यालयमा नै कोभिड देखिएको अवस्थामा काम गर्न सहज भएन, एक हप्ता हामीले कार्यालय बन्द गर्ने निर्णय गरेका छौं, अब एक हप्तापछि अवस्था हेरेर पुनः कार्यालयबाटै कर्मचारीहरुले काम गर्नु हुनेछ’, उनले भने । बीमा समितिमा विभिन्न सामाग्रीहरु प्रयोग गर्दा एक अर्कामा कोभिड–१९ सर्न सक्ने सम्भावना अत्याधिक रहेकोले कार्यालय सिल गरेर घरबाटै काम गर्नु वाहेको विकल्प नरहेको समिति बताउँछ ।

सुशील चौधरीः देहातको पढाइ, बैंकको जागिर, नम्बर एक बीमा कम्पनीको डिसिइओ

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसीइओ ) हुन् सुशीलकुमार चौधरी । उनीसँग सामान्य स्कूलमा पढेर एउटा राम्रो कम्पनीमा लामो समय काम गरेकोसम्म अनुभव छ । उनीलाई देहात (तराई मधेशको दुर्गम गाउँ) को सामान्य स्कूलमा पढेर पनि ठूलो कम्पनीमा काम गर्न सकिदो रहेछ भन्ने लागिरहन्छ । यो धेरैका लागि प्रेरणा पनि हुन सक्छ । चौधरी बाल्यकालदेखि नै शान्त स्वभावका थिए । आफ्नो बाल्यकालमा अध्ययनशील स्वभाव भएको उनी बताउँछन् । अनुशासित बालकको रुपमा आफू रहेको उनी अहिले सम्झन्छन् । बाल्य अवस्था सकिएर जब उनी जागिर खाने चरणमा आइपुगे, तब उनले आर्थिक क्षेत्र नै रोज्न पुगे । जुन आजसम्म निरन्तर छ । राष्ट्रिय वाणिज्य बैकमा उनले पहिला २५ वर्ष काम गरे । त्यसपछि जीवन बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । अहिले उनको उमेर ६६ वर्ष लागि सकेको छ । आगामी दिनमा सादा जीवन बिताएर घरमै बस्ने उनी बताउँछन् । ‘नेपाल लाइफबाट बाहिरिएपछि अर्काे काम गर्दिन, उमेर छउन्जेल मेहनत गरें, अब आराम गर्न चाहान्छु’, डिसीइओ चौधरीले भने । देहातको सामान्य विद्यालयमा पढेको मान्छे नेपालको सबैभन्दा राम्रो बीमा कम्पनीको डिसिइओ र राष्ट्रिय वाणिज्य बैंकमा काम गर्न पाउनु आफ्नो लागि ठूलो विषय भएको भनाइ छ । ‘म देहातमा पढेको मान्छे हूँ, अध्ययन गरे सामान्य स्कूलमा पढेको मान्छे पनि नेपाल लाइफ जस्तो ठूलो र स्थापित कम्पनीको डिसिइओ बन्न सक्छ भन्ने आफैलाई लागिरहन्छ’, डिसीओ चौधरीले थपे । तराईको एउटा ग्रामीण क्षेत्रमा उनको जन्म भएको थियो । सामान्य स्कूलमा उनले अध्ययन गरे । जनकपुर र विराटनगरमा आफूले अध्ययन गरेको उनी बताउँछन् । उनको स्थायी घर विराटनगर नै हो । तर पहिले उनको घर सप्तरीको राजविराजमा थियो । हाल उनको बसाई राजधानी काठमाडौंको पेप्सीकोलामा छ । अवकाशपछि रिटार्यड भएपछि उनले नयाँ काम थाल्दैनन् । आगामी दिनका लागि उनले गरेको निर्णय यही हो । किनकि उमेरले अब काम गर्न नदिने उनको बुझाई छ । तर रिटायर्ड जीन्दगीमा पनि सरल जीवन बिताउदै आनन्दले बस्नु पर्ने उनलाई लाग्ने गरेको छ । मदिरा आक्कल झुक्कल मात्रै एक्लै मदिरा पिउने बानी नरहेको उनी बताउँछन् । तर, कसैले अत्यन्तै कर गरेको अवस्थामा भने साथी लाग्ने उनको बाँनी छ । उनको जन्म गाउँमै भएपनि पढाईको शिलसिलामा सानैदेखि गाउँदेखि बाहिर बसे । उक्त बेलादेखि नै अनुशासित जीवन जिउँदै आएको उनी सम्झन्छन् । आफैलाई मनपर्ने बानी उनी सानैदेखि अध्यनशील थिए । पहिले–पहिले आफ्नो कामबाट केही फुर्सद मिल्ने वित्तिकै अध्ययनमा समय विताउने गरेको चौधरीले जानकारी दिए । अहिले पनि उनलाई पढ्न साह्रै मन लाग्छ । तर, उनका आँखाले अहिले साथ दिदैन । हातमा पुस्तक राख्दा मनमा १० थोक आउँने विद्यार्थीको लागि उनको एकाग्रता एउटा उदाहरण बन्न सक्छ । पढाइमा लत भएपछि आँखाले अक्षर देख्न छोड्दा पनि हातले पुस्तक नै समाउन खोज्ने बताएका छन् । मनमा पढौंपढौं लाग्ने गरेको छ उनलाई । अध्ययन गर्ने आफ्नो बानी सबैभन्दा धेरै मन पर्छ उनलाई नै । हरेक परिस्थितिमा शान्त रहने बानीले उनलाई धेरै ठाउँमा सफलता मिलेको उनको अनुभव छ । उनी आफ्नो विगत र वर्तमानसँग खुसी छन् । आफ्नो उपलब्धीमा सन्तुष्ट छन् । आफूसँग आफै खुसी र सन्तुष्ट हुन सक्नु नै सबैभन्दा धेरै उपलब्धी हो भन्ने उनलाई लाग्छ । आफूले जाने र सकेसम्म आजसम्म कुनै केही नराम्रो व्यवहार गरेको याद छैन उनलाई । जे पायो त्यही खाएनन् । जहाँ पायो त्यही गएनन् । कसैको इष्र्या गरेनन् । सोही कारण उनले आफ्नो जीन्दगीमा आनन्द मिलेको उनलाई लाग्छ । आज एउटा सफल, राम्रो तथा बीमा क्षेत्रमा लिडिङ गरिरहेको कम्पनीले साथ दिनुमा उनलाई आफ्नो राम्रा बानीले पनि निकै हदसम्म सहयोग गरेको हो भन्ने ठानेका छन् । ‘आफ्नो काम छ, आफ्नो राम्रो परिवार छ, त्यसमा भगवानको कृपा छ भने असन्तुष्टि लिनु पनि हुँदैन,’ उनी भन्छन् । नेपाल लाइफका चुनौति सुरुवाती दिनमा कुनैपनि कम्पनीहरुले विभिन्न चुनौतिको सामना गरी त्यसलाई अवसरको रुपमा परिणत गर्नुपर्छ । यस्तै, लाइफका पनि विगतमा खास चुनौति थिए नै । तर, आज नेपाल लाइफले एउटा उचाई कायम गरिसकेको छ । अहिले नेपाली बीमा बजारमा १९ वटा जीवन बीमा कम्पनीहरु संचालनमा छन् । सो कम्पनीहरुमध्ये नेपाल लाइफले आफ्नो स्थान अहिलेको जस्तै गरी अग्रस्थानमै सुरक्षित राख्नु चुनौतिपूर्ण काम हो । नेपाल लाइफसँग बीमित, कर्मचारीहरु सबै खुशी रहेको उनी बताउँछन् । राष्ट्रिय वाणिज्य बैंक र पछि नेपाल लाइफमा कामको दौरान उनले नेपालका बढी २ जिल्ला मात्रै पुग्न बाँकी छ । उनका बुवा जनस्वास्थ्य क्षेत्रको जागिरे हुनुहुन्थ्यो । बुबा सरकारी काममा भएकाले आफूलाई पढ्न प्रेरणा मिलेको उनी बताउँछन् । आमा गृहिणीको जिम्मेवारीमा रहेर परिवारका सवै सदस्यलाई बाहिर उन्नति र प्रगति गर्न हरदम सघाइरहनु हुन्थ्यो । आमा र बाबु दुबैको कारण आफूलाई निरन्तर काम गर्न प्रेरणा समेत मिलेको उनले बताएका छन् । तराईमा १० विघा जनि जग्गा भएकाले खानपिनको लागि खासै समस्या थिएन उनको परिवारलाई । दाजु–भाइ ३ जना उनी ३ दाजु–भाइमा सबैभन्दा जेठो हुन् । माइलो भाइ पनि बीमा क्षेत्रमा नै आवद्ध छन् । आफ्नो माइलो भाइ निर्जीवन बीमा क्षेत्रमा सर्भेयरको रुपमा कार्यरत रहेको उनले बताएका छन् । कान्छो भाइ भने आफ्नै व्यापार व्यवसाय संचालन गर्दै आएका छन् । जीवन बीमा किन गर्ने ? जीवन बीमाको आफ्नै सर्वमान्य सिद्धान्त छ । जीवन बीमा गर्दा एकातर्फ बचत हुन्छ भने अर्को तर्फ जोखिमबाट पनि सुरक्षा हुन्छ । अब दुइटै कुरा पाउँन जम्मा एउटा कुरा गर्न आवश्यक हुन्छ । त्यो भनेको थोरै थोरै बीमा शुल्क बुझाएर धेरै लाभ पाउँने हो । बैकमा पैसा राख्नु र बीमा गर्नुमा फरक त्यही छ । बीमामा बचत त हुन्छ नै जोखिम पनि कभर हुन्छ । नेपाल लाईफका डिसिइओ चौधरी २०५८ सालमा बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । उनले नेपाल लाइफबाट नै बीमा क्षेत्रमा काम गर्न सुरु गरेका हुन् । नेपाल लाइफको म्यानेजरबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेका उनी अहिले सोही कम्पनीको डिसिइओ छन् ।

तनहुँमा पशु बीमामा कृषकको आकर्षण: ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको बीमा

दमाैली । तनहुँ जिल्लामा पशुपक्षीको बीमा गराउने कृषकको सङ्ख्या बढेको छ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै बीमा गराउने कृषकको सङ्ख्या पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा १० हजार ७९५ पशुको बीमा गरिएकामा आव २०७६/७७ मा ३६ हजार ४२१ पशुपक्षीको बीमा गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार जिल्लामा ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको पशुको बीमा गरिएको छ । बीमावापत सरकारले एक करोड ९० लाख ८२ हजार २५० प्रिमियम शुल्क सहयोग गरेको छ भने सम्बन्धित कृषकले ४७ लाख ७० हजार ५६२ भुक्तानी गरेका छन् । गत आर्थिक वर्षसम्म पशु बीमाका लागि सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत भुक्तानी गर्नुपर्ने प्रावधान रहेको थियो । जिल्लामा सबैभन्दा बढी कुखुरामा बीमा गरिएको छ । एक करोड ३३ लाख २० हजार मूल्य बराबरका २२ हजार २०० कुखुरा, पाँच करोड ३९ लाख ९० हजार मूल्य बराबरका पाँच हजार ३९९ बाख्रा, १२ लाख ५० हजार मूल्य बराबरका पाँच हजार माछा, १७ करोड ५० लाख मूल्य बराबरका दुई हजार गाई, १३ करोड तीन लाख मूल्य बराबरका एक हजार ३०३ भैँसी र ७७ लाख ८५ हजार मूल्य बराबरका ५१९ बङ्गुरको बीमा गरिएको केन्द्रले जनाएको छ । त्यसमध्ये गाईको बीमामा कृषकले २१ लाख ८७ हजार ५००, भैंसीको बीमामा १६ लाख २८ हजार ७५०, बाख्राको बीमामा छ लाख ७४ हजार ८७५, बङ्गुरको बीमामा रु ९७ हजार ३१२, कुखुराको बीमामा एक लाख ६६ हजार ५०० र माछाको बीमामा १५ हजार ६२५ तिरेका छन् । तनहुँ जिल्लामा एनएलजी, सगरमाथा, प्रुडेन्सियल र लुम्बिनी इन्स्योरेन्स कम्पनीले पशु बीमाको सेवा दिँदै आएका छन् । बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताए । “पशुको मृत्यु भएको खण्डमा कृषकले बीमामार्फत राहत पाउँछन्”, उनले भने, “मैले सात वर्षदेखि गाईको बीमा गराउँदै आएको छु ।” यस अवधिमा उनले १२ वटा गाईको मृत्यु भएपछि बीमाबाट भुक्तानी लिएका छन् । चालु आर्थिक वर्षदेखि कृषकले बेहोर्नुपर्ने २५ प्रतिशत पनि सरकारले नै बेहोर्ने भएपछि कृषक उत्साहित भएको भट्टराईले बताए । व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले बीमा कार्यक्रम राम्रो भए पनि दाबी भुक्तानी लिने बेलामा इन्स्योरेन्स कम्पनीले दुःख दिने गरेको बताए । “मैले भैँसीको बीमा गराएको थिएँ, भैँसी मरेपछि भुक्तानी दाबी गर्न जाँदा चार महिनासम्म झुलाउने काम भयो”, पौडेलले भने । व्यास नगरपालिका–१ का कुखुरापालक कृषक खेमराज अधिकारीले पनि भुक्तानी प्रक्रिया झण्झटिलो भएकाले सहज बनाउनुपर्ने बताए । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ग्रामीण भेगमा अझै पनि पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताएको छ । रासस