अब फेरि काेराेना बीमा नहुने प्रधानमन्त्री ओलीको उद्घाेष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना बीमा नहुने नहुने संकेत गरेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न आयोजित कार्यक्रममा उनले काेराेना बीमा गर्न आवश्यक नभएकाे धारणा राखेका हुन् । उनले सरकारले कोरोना भाइरस संक्रमितकाे पीसीआर परीक्षण र उपचार निःशुल्क गरेको बताउँदै उनले त्यसमा कोरोना बीमा गर्न आवश्यक नभएको तर्क गरे । ‘हामीले कोरोना भाइरसको परीक्षण र उपचार नि:शुल्क गर्यौं, त्यसैमा कोरोना बीमा पनि ल्याऔं, परीक्षण र उपचार निःशुल्क हुन्छ भने कोरोना बीमा किन आवश्यक,’ उनले प्रश्न गरे । उनले अब यसबारे पुनर्विचार गर्नु पर्ने धारणा राखे । विभिन्न बीमा कम्पनीहरुले एक वर्ष समायाविधको लागि मात्रै कोरोना बीमा पोलिसी ल्याएका थिए । त्यसको अवधि चैत मसान्तसम्म मात्रै छ । धेरैले पुनः कोरोना बीमा सुरु हुन्छ कि भन्ने अनुमान गरेका थिए । तर, प्रधानमन्त्री ओलीले भने यस्तो तर्क दिएका हुन् । बीमा समितिले गत वर्ष बैशाखदेखि कोरोना भाइरस सम्बन्धी बीमालेख जारी गरेको थियो । कोरोना भाइरस महामारीको रुपमा आएको र सानो रकमबाट संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले बीमालेख जारी गरिएको थियो ।
परिवर्तित साधारण सेयर खातामा पठाउँदै एनएलजी इन्स्योरेन्स, सेयर अपडेट गर्न सेयरधनीलाई आग्रह
काठमाडौं । एनएलजी इन्स्योरेन्सले सर्वसाधारण समूहको सेयर सम्बन्धित सेयरधनीको खातामा पठाएको छ । कम्पनीले उक्त सेयर गत चैत ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको खातामा जम्मा गरिएिको हो । साथै, उक्त मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा क्रमशः उक्त सर्वसाधारण सेयर जम्मा हुने व्यवस्था गरिएको छ । साथै, हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले आफ्नो सेयर अभौतिकीकरण(अपडेट) गराउन कम्पनीले आग्रह गरेको छ । यससँगै, उक्त सेयरधनीले आफ्नो कायम हुने सर्वसाधारण समूहका सेयर समेत हितग्राही खातामा नै पाउने छन् । साथै, कम्पनीको चैत ५ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको संस्थापक र साधारण सेयर स्वामित्व परिवर्तन गर्ने निर्णयलाई पारित गरेको थियो । यससँगै कम्पनीले उक्त परिवर्तित साधारण सेयर सेयरधनीको सम्बन्धित हितग्राही खातामा पठाइ सेयर काराेबार गर्न याेग्य भएकाे जानकारी गराएको छ । त्यस्तै, चैत ६ गतेसम्म सेयरधितो बन्धक राखी कर्जा लिएका सेयरधनीले सेयर फुकुवा गरी आफ्नो कायम संस्थापक सेयरलाई सर्वसाधारण समूहको सेयरमा परिणत गर्न यस कम्पनीको सेयर रजिष्टार अर्थात काठमाडौंको टेकुस्थित आरबिबि मर्चेन्ट बैंकिङ्गमा सम्पर्क गर्न सक्ने छन् ।
स्याउ खेतीका किसानलाई राहत, शिखर इन्स्योरेन्सले दियाे साढे २ करोड रुपैयाँको भुक्तानी
काठमाडौं । शिखर इन्स्योरेन्सले मौसम सुचकांकमा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानलाई साढे २ करोड ५५ लाख रुपैयाँ बराबरको दावी रकम भुक्तानी गरेको छ । माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख रुपैयाँ दावी भुक्तानी हस्तान्तरण गरिएको हो । जुम्ला जिल्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बीमा गराउने पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार बराबरको भुक्तानी रकम बुझेका छन् । भुक्तानी पाएपश्चात विष्टले शिखर इन्स्योरेन्सले समग्र कर्णालीका किसानको मर्म र सहायताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै कृतज्ञता पनि व्यक्त गरेका छन् । जुम्लामा ७ सय ४७ जना किसानले ४९ हजार बिरुवाको बीमा गराएका थिए । जुम्लामा मात्र प्रतिबिरुवा २ सय ७० रुपैयाँका दरले १ करोड बीमा दावी रकम भुक्तानी पाएका छन् । यसैगरी, प्रतिबिरुवा २ सय ७० रुपैयाँका दरले कालिकोटका ३ सय २६ किसानले ७० लाख २० हजार दावी भुक्तानी पाएका छन् । कालिकोटमा ३ सय २६ जना किसानले २ हजार ६ सय बिरुवाको मौसमी सुचकांकमा आधारित स्याउ बीमा गराएका थिए । यस्तै मुगुका ३ सय १८ जना किसानले १ हजार ९ सय बिरुवाको बीमा गरे बापत ५१ लाख रुपैयाँ बराबरको भुक्तानी पाएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले बीमा गरेका किसानलाई घरदैलोमै गएर क्षतिपूर्ति रकम अर्थात दाबी भुक्तानी दिएको बीमा कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताए । कर्णालीका किसानले गत वर्ष नै स्याउ फल्ने बेला स्याउ खेतीको बीमा गरेका थिए । सोही बीमा गराएका कारण उनीहरुले अहिले दाबी भुक्तानी पाएका हुन् । असिना र सुख्खा खडेरीले क्षति पुर्याएको तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा राहत महसुस गरेका छन् । सुरुको वर्ष ४७ जना किसानले स्याउको बीमा गराएका थिए भने गत वर्ष १८ सय किसानले स्याउ खेतीको बीमा गराएका इन्स्याेरेन्सले जनाएकाे छ । इन्स्योरेन्सले ५ वर्ष अगाडि मौसमी सूचकांकको आधारमा गरिने बीमामा स्याउ खेतीका लागि नै भनेर कर्णाली प्रदेशमा यो बीमा पोलिसी शुरु गरेको थियो । गएको ३ वर्षयता हरेक वर्ष शिखर इन्स्योरेन्सले स्याउ किसानलाई दावी भुक्तानी गर्दै आइरहेको छ । आगामी दिनमा शिखर इन्स्योरेन्सले मौसम सुचकांक बीमा योजनालाई विभिन्न जिल्लामा विस्तार गर्ने योजना बनाएको छ ।