प्रिमियर इन्स्योरेन्सकाे ११.०५ प्रतिशत लाभांश पारित

काठमाडाै । प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सकाे २९ औं वार्षिक साधराणसभाले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे । सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गरेका थिए । कम्पनीले आ.व. २०७६/७७ मा कूल बीमा शूल्क १ अर्ब ६९ करोड ७ लाख ४५ हजार आर्जन गरी खूद मूनाफा ३६ करोड ९९ लाख ४४ हजार आर्जन गरेको छ । सभाले कम्पनीको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य र समुह ‘ख’ अन्तर्गतको प्रतिनिधित्व गर्ने संचालक पदमा महेन्द्र बहादूर श्रेष्ठ नियूक्त गरेकाे छ ।

ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकले ब्लु बर्ड इन्टरनेसनल क्लिनिक २० प्रतिशत छुट पाउने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकले काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लु बर्ड इन्टरनेसनल क्लिनिक २० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको हो । ज्योति लाइफ इन्स्योरेन्सले ब्लु बर्ड इन्टरनेसनल क्लिनिकसँग विभिन्न स्वास्थ्य परीक्षण, उपचार तथा बीमाका सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ । इन्स्योरेन्सले ग्राहकलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा उक्त क्लिनिकसँग सो सम्झौता गरेको हो । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरुलाई प्रदान गरिने बिशेष कार्ड ज्योति केयर्स कार्ड बाहक ग्राहक तथा निजका परिवारका सदस्यहरुले ब्लु बर्ड इन्टरनेसनल क्लिनिकमा बिभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवामा ७ देखी २० प्रतिशतको छुट प्राप्त गर्नेछन् भने ज्योति लाईफले ब्लुबर्डका कर्मचारीको सामुहिक म्यादी जीवनको सेवा प्रदान गर्नेछ । साथै, ज्योति लाईफमा बीमा गर्न चाहने ग्राहकहरुको आवश्यक स्वास्थ्य परीक्षण समेत ब्लुबर्ड क्लिनिकमा गर्न सकिनेछ । यो सम्झौताबाट दुबै सेवा प्रदायक संस्थाका आन्तरिक तथा बाह्य ग्राहकले द्विपक्षिय लाभ लिन सकिने भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्री तथा ब्लु बर्ड इन्टरनेसनल क्लिनिकका प्रबन्धक जीतेन्द्र कारन्जितले हस्ताक्षर गरेका थिए ।

अजोड इन्स्योरेन्सको ‘इन्साइडर ट्रेडिङ’को छानबिन गर्न बोर्डले गठन गर्यो उप-समिति

काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर काराेबारमा भएकाे ‘इन्साइडर ट्रेडिङ’को छानबिन गर्न नेपाल धितोपत्र बोर्डले उप-समिति गठन गरेको छ । कम्पनीको सेयर मूल्यमा इन्साइडर ट्रेडिङ गरी मूल्य बढाएको भन्दै बोर्डले उपसमिति गठन गरी छानबिन कार्य अगाडि बडाएको बोर्ड स्रोतले बताएको हो । बोर्डले सञ्चालक अम्बिका गिरीको संयोजकत्वमा ४ सदस्यकाे छानबिन समिति गठन गरेको हो । उनीहरूलाई यथासिघ्र छानबिन गरि प्रतिवेदन बुझाउन बाेर्डले निर्देशन दिएकाे छ । र, यदि भित्री काराेबार भएकाे पाइएमा बाेर्डले  नियमअनुसार कारवाही गर्ने पनि बताएकाे छ । गत सोमबार अर्थात चैत १६ गते कम्पनीको सेयर मूल्यमा एकाएक सकारात्मक सर्किट लागेको थियो र ठूलो परिणाममा सेयर कारोबार भएको थियो । र, त्यसको भोलिपल्ट अर्थात चैत १७ गते मंगलबार मात्र कम्पनीले साधारणसभाको मिति तय गरि सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव प्रकाशित गरेको थियो । र, त्याे दिन पनि कम्पनीकाे सेयर मूल्यमा सर्किट लागेकाे थियाे । यससँगै अघिल्लो दिन बिना कुनै सूचना १० प्रतिशतले मूल्य बढ्नु र त्यसको लगत्तै हकप्रद जारी गर्ने भन्ने सूचनाले कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको पुष्टि हुने जानकारहरू बताउँछन् । त्यस्तै, कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनुअघि नै सेयर मूल्य तथा कारोबार वृद्धि भएको सम्बन्धमा बोर्डले ध्यानाकर्षण गराएको हो ।