एनएलजी इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता सेयर सूचीकृत भएको छ । बुधबार(असाेज ७ गते) मात्रै कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा सेयर किनबेच गर्न पाइने छ ।
यूनियन लाइफ स्थापनाकाे चौथो वर्षमा
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले तेश्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । तेश्रो वार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा व्यवसाय बृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले कारोबार संचालन गरेको तेश्रो वर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको छ, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने, “कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा विस्तार गर्दै लैजाने छौं ।” कम्पनीले बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमती पाएको थियो ।कम्पनीको २ अर्ब १५ करोड जारी पुंजी रहेको छ । सो जारी पुंजीको ३० प्रतिशतले हुने साधारण शेयर चाँडै नै सर्वसाधारण समक्ष निश्कासन गर्ने तयारी कम्पनीले गरिहेको जनाएकाे छ । कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् । तेश्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण संस्थापक, संचालक, नियमनकारी निकाय बीमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बीमितहरु, संचारकर्मी लगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरु प्रति आभार प्रकट गरेको छ ।
शिखर इन्स्योरेन्सले लाभांश वितरण नगर्ने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । असोज ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । इन्स्योरेन्सले सो वर्षको नाफाबाट लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा जम्मा गर्ने जानकारी गराएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। साथै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिमको वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरी बीमा समितिमा पेश गर्ने बैठकले निर्णय गरको छ । साथै, आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरुको पनि सैद्धान्तिक स्विकृतीको लागि बीमा समितिसमक्ष पेश गर्ने सञ्चालक समितिले निर्णय गरेको छ । यससँगै, उक्त वित्तीय विवरणहरु बीमा समितिले स्वीकृत गरे पश्चात कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ दुबैको वार्षिक साधारण सभा सकेसम्म छिटो गर्ने जानकारी गराएकाे छ ।