आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद दुबै पारित

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद सेयर पारित भएको छ । आज (बैशाख १२ गते) सम्पन्न कम्पनीको २३औं बार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका लगानीकर्ताले चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर पाउने भएका छन् । उक्त बोनस पश्चात कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । यससँगै, कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । कम्पनीको व्यावसायमा भएको विस्तारसंगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पुँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले बोनस र हकप्रद सेयर जारी गर्ने भएको हो । बोनस तथा हकप्रद सेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । थप समाचारः आईएमई जनरलले पानीपोखरीमा आफ्नै भवन बनाउने, सीईओ भन्छन्- छिट्टै पाँचौं स्थानमा स्थापित हुन्छौं

सूर्या लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३ औं वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा आफुहरुलाई जिवन बिमाको क्षेत्रमा सवल कम्पनीको रुपमा स्थापना गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने समस्त गार्हक वर्ग, बीमित, अभिकर्ता, नियमनकारी निकाय श्री बिमा समिति, धितोपत्र बोर्ड, कम्पनी रजिस्टार कार्यालय, संचालक समिति, शेयरधनी ,कर्मचारी लगाएत सम्पुर्ण देशवासीमा आभार प्रकट गरेकाे छ । साथै कम्पनीले आगामी दिनहरुमा आफ्ना सेवाहरुलाई अझ सरल, मर्यादित,तथा विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।  

सानिमा लाईफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध, अब सबै कारोबार खाताबाट सोझै गर्न सकिने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग आवद्ध भएको छ । कम्पनीले आफ्ना भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी उक्त संस्थासँग आवद्ध भएको हो । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु रियल-टाइम तथा नन-रियलटाइममा आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । साथै सानिमा लाइफका बीमितहरुले आफ्नो बीमा (प्रिमियम) शुल्कको अनलाईन भुक्तानी कनेक्ट आईपीएसको वेब, मोबाईल एप तथा सदस्य बैंक वित्तिय संस्थाहरुको शाखाबाट गर्दै नै आएका छन् ।