सीए रिमालले पाए राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी
काठमाडाैं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । उनले शुक्रबार सो जिम्मेवारी पाएका हुन् । बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै चार्टर्ड एकाउन्टेण्ट रिमालले सो जिम्मेवारी पाएका हुन् । संस्थानमा हाल उप महानिर्देशक रहेका रिमाल निमित्त प्रमुख प्रशासक तोकिएका हुन् । संस्थानको सञ्चालक समितिले हिजोबाट लागू हुने गरी रिमाललाई अर्को व्यवस्था नहुँदासम्मको लागि कामु प्रमुख प्रशासकको जिम्मेवारी तोकेको हो । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा अवस्थामा नियुक्ती प्रक्रिया असहज भएकोले तत्कालका लागि सो जिम्मेवारी उनलाई अख्तियारी दिएकाे बुझिएको छ । कामु प्रशासकको जिम्मेवारी तोकिएका रिमालले आजैबाट जिम्मेवारी लिएर कार्य प्रारम्भ गरेका छन् ।
सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । बैठकले जेठ ७ गतेदेखि नै लागू हुने गरी संस्थापक सेयर समूहतर्फको प्रतिनिधित्व गर्ने गरी झालाई भिजे इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधित्वको रुपमा नियुक्त गरेको हो ।
प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी एक अर्ब नाघ्यो
काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । जेठ ६ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, १० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका वाबजुद यस प्रभु इन्स्योरेन्सले बीमा क्षेत्रमा एक सफल तथा फरक पहिचानलाई निरन्तरता दिन सक्षम रहेको बताएको छ । साथै, व्यवसाय वृद्धि, दावी भुक्तानी तथा खर्चको सफल व्यवस्थापन गर्दै आम्दानी वृद्धि गरेका कारण सेयरधनीलाई प्रतिफल दिन सक्षम भएको कम्पनीले बताएको छ । कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्दै आइरहेको छ । नयाँ नयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरी सेयरधनीलाई उच्चतम प्रतिफल प्रदान गर्नुका साथै सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने नीति लिएको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ । उक्त सभा तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा विद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको हो ।