राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः पाठक, संस्थानलाई थप प्रतिस्पर्धी बनाउने प्रतिवद्धता

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानकाे प्रशासकमा पुनः कविप्रसाद पाठक नियुक्त भएका छ्न् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई थप एक कार्यकालको लागि पुनर्नियुक्ति दिएको हो । गत जेठ ६ गते नै पहिलो कार्यकाल सकेर संस्थानबाट बिदा भएका पाठकलाई सरकारले ढिलै भएपनि पुनः नियुक्ति दिएको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले उनलाई कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा पुनर्नियुक्ति दिएको हो । बिचमा बजेटले गर्दा निर्णय गर्न ढिलो भएको हो । यसअघि ३ वर्षे कार्यकाल बिताएका पाठकले पुनः थप ३ वर्षसम्म संस्थानको प्रशासकको जिम्मेवारी सम्हाल्ने छन् । उनले आज(असार ९ गते) देखि नै आफ्नो दोश्रो कार्यकाल सम्हालेका छन् । यससँगै उनले आगामी २०८१ सालसम्म बीमा संस्थानमा प्रशासकको पदमा रहेर आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने छन् । पुननियुक्ति पाएका पाठकले आफ्नो पुरानो कार्यकाल राम्रैसँग बितेको र अबको कार्यक्राल थप राम्रो हुने बताएका छन् । साथै, बाँकी रहेका कामहरु यथाशिघ्र छिटो सम्पन्न गर्नु नै मूख्य योजना रहेको र त्यसपछि व्यापार व्यवसाय बढाउने तिर लाग्ने प्रशासक पाठकले बताए । ‘पुरानोको कार्यकाल राम्रै भयो, केही केही काम सक्नलाई बाँकी रहेका थिए, आन्तरिक रुपमा लेखापरिक्षणको काम सकेपनि फाइनल हुन सकेको थिएन, अब त्यहि सक्ने नै मूख्य प्राथमिकतामा रहेको छ, त्यसपछि व्यापार व्यवसाय बढाउने त छँदै छ’, उनले विकासन्युजसँग भने । पाठकका अनुसार आर्थिक वर्षको २०६८/६९ सालसम्मको लेखापरिक्षण स्वीकृति भएसकेको छ भने २०६९/७० सालदेखिका लेखापरिक्षणका कामहरु बाँकी रहेका छन् । अब ती कामहरु छिटै सकेर व्यवसाय विस्तारमा जोड दिँदै संस्थानलाई थप प्रतिस्पर्धी बनाएर अगाडि बढ्ने पाठकले प्रतिवद्धता जनाएका छन् ।

लाभांश पारित गर्न सगरमाथा इन्स्योरेन्सले डाक्यो एजीएम, आर्थिक सहायताको खर्चलाई अनुमोदन गर्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आगामी असार ३० गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । कम्पनीले आफ्नो २४औं वार्षिक साधारण सभा सो दिन बिहान ११ बजे काठमाडौंको नक्सालस्थित कम्पनीको प्रधान कार्यालयमा भर्च्युअल माध्यमबाट गर्न लागेको हो । सभाले लाभांश वितरणसहित विभिन्न प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ लाख रुपैयाँ रहेको छ । ११ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, कम्पनीबाट सामाजिक संघ संस्थालाई आर्थिक सहायता प्रदान गर्दा निर्धारित सिमा नाघेकोले सो खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ‘ग’ ले निर्धारण गरेको सिमा नाघेकोले सो अन्तर्गत भएको खर्च १६ लाख रुपैयाँलाई अनुमोदन गर्ने कम्पनीले जानकारी गराएउको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी असार १७ गतेदेखि असार ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै असार १६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

हिमालयन रिले असारभित्रै कारोबार सुरु गर्ने, विदेशी सीईओ खोजिँदै

काठमाडौं । बीमा समितिबाट व्यवसाय संचालनको सैद्धान्तिक अनुमति पाएको हिमालयन रिले चालु आर्थिक वर्षभित्रै व्यवसाय सुरु गर्ने भएको छ । सैद्धान्तिक अनुमति पाएको ६ महिनाभित्र व्यवसाय सुरु गर्न कानुनले छुट दिने भएपनि चालु आर्थिक वर्षभित्रै कारोबार संचालन गर्ने तयारी कम्पनीले गरेको छ । चालु आर्थिक वर्षभित्रै कारोबार सुरु गरिसक्ने गरी आन्तरिक तयारी भइरहेको कम्पनीका एक संचालकले जानकारी दिए । हिमालयन रिले महाराजगञ्जमा कार्यालय स्थापना गरेर आन्तरिक तयारी थालिसकेको छ । ‘चालु आर्थिक वर्षभित्रै कारोबार संचालन गरिसक्ने गरी आन्तरिक गृहकार्य गरिरहेका छौं, कम्पनी दर्ता भइसकेको छ, त्यसैले यो महिनाभित्र कारोबार संचालन गर्न सकिन्छ,’ कम्पनीका एक संचालकले विकासन्युजसँग भने । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । यसमध्ये संस्थापक सेयरधनीले ७ अर्ब रुपैयाँ (७० प्रतिशत) हालेका छन् भने सर्वसाधारण सेयरधनीको लागि ३ अर्ब रुपैयाँ (३० प्रतिशत) छुट्टयाइएको छ । सरकारी लगानीका २ वाणिज्य बैंकहरु नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ५०/५० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीको संचालक समिति अध्यक्ष शेखर गोल्छा छन् । यस्तै, संचालकहरुमा उद्योगीहरु साहिल अग्रवाल, अमित मोर र रोहित गुप्ता छन् । अमित गुप्ता नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोरका छोरा हुन भने रोहित गुप्ता उद्योगी रमेश गुप्ताका छोरा हुन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोजी भइरहेको ती संचालकले जानकारी दिए । कम्पनीले नेपालमा गर्ने पुनर्बीमा व्यवसाय धेरै नहुने र विदेशमा व्यवसाय खोज्नुपर्ने भएकोले विदेशी सीईओ राख्ने तयारी भएको उनको भनाई छ । ‘नेपालमा पुनर्बीमा व्यवसाय निश्चित आकारको छ, नेपालबाट जति व्यवसाय आउनु पर्ने हो, त्यति आइहाल्छ, हामीले खोज्नुपर्ने भनेको विदेशी बजार हो, त्यसको लागि विदेशी सीईओ राखेर व्यवसाय विस्तारको योजनामा छौं, विदेशी सीईओ राख्नेगरी गृहकार्य भइरहेको छ, निषेधाज्ञाको कारण अन्तराष्ट्रिय उडान नरोकिएका भए विदेशी सीईओको अन्तरवार्ता पनि भइसकेको हुने थियो, अब छिट्टै हुन्छ,’ ती संचालकले भने ।