शिवम् सिमेन्टले थप ३ हजार बढी निर्माणकर्मीकाे गरिदियाे जोखिम बीमा

काठमाडाैं । शिवम् सिमेन्टले थप ३ हजार ४५ निर्माणकर्मीकाे ५ लाख बराबरको जोखिम बीमा गरिदिएकाे छ । शिवम्ले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुकाे बीमा गरिदिएकाे हाे । शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका निर्माणकर्मीहरुसँग गरेका निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा उनीहरुलाई उक्त बीमा पाेलिसी प्रदान गरेकाे छ ।  । उक्त अन्तर्क्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एवंम अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।  

बीमा समितिमा हात हालाहाल

काठमाडौं । सोमबार दिउँसो बीमा समितिमा हात हालाहाल भएको छ । कोरोना बीमाको दावी भुक्तानी नपाएको भन्दै एक बीमित र समितिका कर्मचारीबीच हात हालाहाल भएको हो । अजोड इन्स्योरेन्समा बीमा गरेका सो बीमितले कम्पनीले पैसा नदिएको र उक्त पैसा समितिले दिनुपर्छ भन्दै समितिका डेपुटी डाइरेक्टर बिरोध भट्टमाथि खनिएका समितिले जनाएको छ । समितिका प्रवक्ता समेत राजुरमण पौडेलका अनुसार डेपुटी डाइरेक्टर भट्टले ‘तपाईंको पैसा सरकारले दिन बाँकी रहेको छ’ भन्दा सो बीमितले ‘समितिले नै दिनुपर्छ’ भन्दै उनी भट्टमाथि जाई लागेका हुन् । ‘बीमितले अजोड इन्स्योरेन्समा कारोना बीमा गरेका रहेछन्, बीमा बापतको दावी पनि कम्पनी कम्पनीले दिइसकेको रहेछ, समितिले पनि दिनुपर्ने रकम दिइसकेको छ, तर सरकारले दिनुपर्ने रकम बाँकी रहेछ, बाँकी रहेको रकम अब सरकारले दिन्छ भन्दा समितिले नै दिनुपर्छ भन्दै बीमित भट्टमाथि खनिएका हुन्,’ कार्यकारी निर्देशक तथा प्रवक्ता पौडेलले विकासन्युजसँग भने । पछि पुलिस आएपछि अवस्था सामान्य भएको उनले बताए । यसरी भएको थियो हात हालाहाल पहिला सेक्युरिटी गार्डमा काम गरेका उक्त व्यक्ति अजोड इन्स्योरेन्सका बीमित रहेछन् । उनले अजोड इन्स्योरेन्समा कोरोना बीमा गरेका रहेछन् । त्यसको केही रकम भुक्तानी हुन बाँकी रहेछ । अजोड इन्स्योरेन्सले दिएन भन्दै उनी बीमा समिति पुगेका रहेछन् । समितिमा पुगेर डेपुटी डाइरेक्टर बिरोध भट्टलाई भेटेछन् र कम्पनीले बीमाको पैसा दिएन, समितिले पैसा दिनु पर्यो भनेछन् । भट्टले ‘अजोड इन्स्योरेन्सले बीमाकाे फाइल पनि सफाइ गरिसकेकाे र समितिले पनि दिनुपर्ने रकम दिइसक्यो, सरकारले दिनुपर्ने रकम तपाईले नपाउनु भएको हो’ भनेछन् । त्यसपछि ‘बीमा गरेको रकम समितिले नै दिनुपर्छ, सरकारले होइन’ भन्दै आक्रोशित हुँदै कुर्सी उचाल्दै भट्ट माथि जाई लागेछन् ।

एशियन लाइफको लाभांश स्वीकृत

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले इन्स्योरेन्सको २७ प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो । जसलाई बीमा समितिले पुस २५ गते स्वीकृति दिएको हो । अब इन्स्योरेन्सको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्कत लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ । २५ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ नाघ्ने छ ।