अब एउटा कम्पनीको मात्रै एजेन्ट बन्न पाइने, बीमा प्राधिकरणले गर्यो कडाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र अर्थात लाइसेन्समा कडाई गरेको छ । बीमा ऐन, २०७९ लागू भएसँगै प्राधिकरणले निर्देशन जारी गर्दै उक्त व्यवस्थामा कडाई गरेको हो । उक्त निर्देशन अनुसार अबदेखि एउटा बीमा कम्पनीको मात्रै एजेन्ट बन्न पाइने भएको छ । प्राधिकरणले जीवन तथा निर्जीवन सबै बीमा कम्पनीहरुलाई एउटा मात्रै कम्पनीको अभिकर्ता बनाई काम गराउने व्यवस्था मिलाउन निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘बीमा ऐन, २०७९ को दफा ९१ को उपदफा (७) बमोजिम बीमा अभिकर्ताको इजाजतपत्र दिदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ भन्ने व्यवस्था रहेको हुँदा त्यस बीमकमा आवद्ध बीमा अभिकर्ताहरूलाई स्वेच्छिक छनौट गराई कुनै एक मात्र बीमकको अभिकर्ता भई कार्य गराउनुहुन र सोको जानकारी प्राधिकरणमा गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ उक्त निर्देशिकामा उल्लेख छ । यसअघि एक जनाले विभिन्न कम्पनीको अभिकर्ता भई काम गर्न पाउने व्यवस्था थियो । अब भने स्वेच्छिक रुपमा एउटा कम्पनीमा मात्रै काम गर्न पाइने भएको छ । यद्दपि, जीवन बीमा कम्पनीको अभिकर्ताले निर्जीवन बीमा व्यवसाय गर्ने कुनै एक कम्पनीको अभिकर्ता भई काम गर्न र निर्जीवन बीमा कम्पनीको अभिकर्ताले जीवन बीमा व्यवसाय गर्दै आएका कुनै एक कम्पनीको अभिकर्ता भई काम गर्न भने पाउने छन् ।
नवलपरासीमा एक सय परिवारको निःशुल्क स्वास्थ्य बीमा
नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ । स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम थालनी गरेको वडाध्यक्ष विनोद मल्लले बताए । उक्त वडामा पहिलो चरणमा सय विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिने कार्यक्रम सोमबारबाट सुरु भएको वडाध्यक्ष मल्लले जानकारी दिए । वडा कार्यालयले निःशुल्क एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिदिने भएको हो । स्वास्थ्य बीमा कार्डबाट बिमितले तोकिएको स्वास्थ्य संस्थाबाट उपचारसँगै एक हजार एक सय प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने वडाध्यक्ष मल्लले बताए । स्वास्थ्य बीमाबाट बिरामीले समयसमयमा सम्पूर्ण शरीरको परीक्षण गर्न सक्ने बीमा सहजकर्ता नारायणीदेवी पौडेलले बताए । सरकारले तोकेका स्वास्थ्य संस्थाबाट बीमाको लाभ लिन सकिने पौडेलको भनाइ छ । सो वडाले चालु आर्थिक वर्ष २०७९/८० मा स्थानीयको स्वास्थ्य बीमाका लागि चार लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष मल्लले बताए । आगामी दिनमा वडाका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने योजना रहेको वडाध्यक्ष मल्ल बताउँछन् । वडामा रहेका सम्पूर्ण घरपरिवारलाई आगामी पाँच वर्षभित्र बीमा कार्यक्रममा जोडेर निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको प्रत्याभूत गराउन पहल गर्ने मल्लले बताए । वडाको विकासका लागि शिक्षा र स्वास्थ्यमा सहज पहुँच नभएसम्म वडावासीको जीवनस्तरको सूचकाङ्क माथि उठाउन नसकिने मल्लको भनाइ छ । उक्त वडामा छ सय १६ घरधुरी रहेका छन् । यहाँका करिब दुई सय ५० परिवारले स्वास्थ्य बीमाको लाभ लिएका छन् । वडाले सुरु गरेको विपन्न परिवारलाई स्वास्थ्य बीमा गर्ने अभियानले थप एक सय परिवार स्वास्थ्य बीमा कार्यक्रमबाट लाभान्वित हुने वडाध्यक्ष मल्लले बताए । रासस
नेपाल लाइफको बीमालेख नवीकरण गराउने म्याद थपियो, ३५ प्रतिशत छुट पाइने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गराउने म्याद थपेको छ । कार्त्तिक २४ गतेसम्म रहेको उक्त म्याद थपेर कार्त्तिक ३० गतेसम्म पुर्याएको हो । यससँगै बीमितले सो अवधिभित्र व्यत्तित बीमालेख नवीकरण गराउन सक्ने छन् । र, सो समयभित्र नवीकरण गराउँदै बीमाशुल्क ब्याजमा ३५ प्रतिशत छुट समेत पाइने कम्पनीले जानकारी गराएको छ । कम्पनीले २०७७ कात्तिक १५ गतेदेखि २०७९ कात्तिक १४ गतेसम्मको बीमालेख नवीकरण गराएमा लाग्ने बीमाशुल्क ब्याजमा बीमितलाई ३५ प्रतिशत छुट दिने भएको हो । यससँगै उक्त अवधि अर्थात विगत २ वर्ष यताको व्यतित बीमालेख आगामी कार्त्तिक २४ भित्रमा नवीकरण गराउँदा बीमितले सो मात्राको छुट पाउने छन् । तर दुई वर्षभन्दा बढी समयदेखि निष्क्रिय भएका बीमालेखमा भने यो छुट लागू नहुने कम्पनीले स्पष्ट खुलाएको छ । त्यस्तै, बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भए पश्चात एक पटक छुट लिइसकेका बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः छुट नदिइने इन्स्योरेन्सले जानकारी गराएको छ ।