सानिमा र रिलायन्स लाइफले एकैदिन डाके साधारण सभा, मर्जरको प्रस्ताव पारित गर्ने

काठमाडौं । मर्जर प्रकृयामा रहेका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन वार्षिक साधारण सभा आव्हान गरेका छन् । दुबै कम्पनीले आगामी फागुन १२ गते पाँचौं वार्षिक साधारण सभा डाकेका हुन् । जसमध्ये सानिमा लाइफले सो दिन बिहान ११ बजे धुम्बाराहीस्थित कुण्डलीनी दरबारमा र रिलायन्स लाइफले पनि बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सन्समा साधारण सभा डोकेका छन् । दुबै कम्पनीको सभाले दुई कम्पनी एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित गर्दै छ । त्यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कायम गर्ने प्रस्ताव रहेको छ । साथै, कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव रहेको छ । त्यस्तै, संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव छ । उक्त सभामा जाने प्रयोजनको लागि दुबै कम्पनीले आगामी माघ २९ गते बुक क्लोज गर्दै छन् ।

प्रिमियममा नेकोलाई पछ्याउँदै तेश्रो स्थानमा उक्लियो हिमालयन एभरेष्ट, प्रिमियर र सानिमा जिआईसीबीच टक्कर

काठमाडौं । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरु व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार अन्य कम्पनीहरुभन्दा मर्जरपछि बनेका नयाँ कम्पनीहरु बीमाशुल्क आर्जनमा आक्रामक देखिएका हुन् । प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा व्यवसायबाट कूल २० अर्ब ८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएका छन् । सञ्चालित १८ कम्पनीहरुले कूल १३ लाख ९५ हजार ३२ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क आर्जन गरेका हुन् । जुन पछिल्लो एक महिनाको तुलनामा २५.६८ प्रतिशतले बढी हो । गत मंसिरसम्ममा कम्पनीहरुले १५ अर्ब ९७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । जसमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्सको अग्रता नै रहेको छ । कम्पनीले पुससम्ममा २ अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन एक महिनाको तुलनामा ७२.१७ प्रतिशतले बढी हो । प्रतिशतको आधारमा पनि कम्पनीले सबैभन्दा बढी वृद्धि गरेको तथ्यांकले देखाउँछ । त्यस्तै, दोश्रोमा नेको इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक महिनामा २०.९० प्रतिशतले बढाएर १ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जसलाई साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भइ बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले पछ्याउँदै तेश्रो स्थानमा पर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधिमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन मंसिरको तुलनामा ३६.७९ प्रतिशतले बढी हो । यसअघि तेश्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्स चौथोमा झरेको छ । यद्पि कम्पनीको व्यवसाय भने १५.७३ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । १८ कम्पनीमध्ये ९ कम्पनीहरु अर्ब क्लबमा छन् । गत मंसिरमा करोडको क्लबमा रहेका एनएलजी, प्रिमियर र सानिमा जीआईसी यो पटक भने अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । यीमध्ये सानिमा जीआईसी हालै मर्जरपछि बनेको कम्पनी हो, जसले समीक्षा अवधिमा २२.२९ प्रतिशत बढी प्रिमियम संकलन गरेको छ । गत मंसिरसम्ममा ८३ करोड १२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको कम्पनीले पुससम्ममा एक अर्ब एक करोड ६४ लाख रुपैयाँ प्रिमियम उठाएको छ । त्यस्तै, सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा नेशनल इन्स्योरेन्स छ । इन्स्योरेन्सले ६ महिनामा ४९ करोड ४० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा १९.४५ प्रतिशतले बढी हो ।

भीमसेनथापा गाउँपालिकाका सबैको बीमा राष्ट्रिय बीमा कम्पनीमा, शाखाबाटै भुक्तानी दिन निर्देशन

काठमाडौं । गण्डकी प्रदेशको गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सम्बन्धी सम्झौता भएको छ । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीको उपस्थितिमा यही माघ १८ गते उक्त गाउँपालिका र कम्पनीबीच सम्झौता भएको हो । सम्झौतापत्रमा भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बंजरा र राष्ट्रिय बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका हुन् । सम्झौतामा गाउँपालिकाभित्रका सबै नागरिकको दुर्घटना बीमा र घरहरूको सम्पत्ति बीमा गर्ने, सरकारी सम्पत्तिहरूको बीमा गर्नका लागि आवश्यक कार्य अगाडि बढाउने, कृषि तथा पशुपन्छी बीमा र कृषि औजारहरूको बीमा क्रमिक रूपमा गर्दै जाने लगायतका विषयहरू उल्लेख गरिएको छ । त्यस्तै, बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रूपमा बीमा गरिदिने व्यवस्था गर्न गजुरी गाउँपालिकालाई आग्रह गरेका छन् । बीमा प्राधिकरणद्वारा बागमती प्रदेशको धादिङ जिल्लाको गजुरी गाउँपालिकामा बिहीबार आयोजित बीमा सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक पौडेलले आर्थिकरूपले सक्षम व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्ने वातावरण बनाउन र घर बीमालाई अनिवार्य गर्न आग्रह गरे । कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशु प्राविधिकहरूलाई बीमा सम्बन्धी तालिम दिनका लागि सहजीकरण गर्न प्राधिकरण तयार रहेको जानकारी दिए । कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बीमाप्रतिको जनविश्वास बढाउन बीमा कम्पनीहरूले दाबी भुक्तानी समयमा नै गर्नुपर्ने बताए । यसैगरी, नेपाल बीमा प्राधिकरणको आयोजनामा यही माघ १८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्थानीय वासिन्दाको आग्रह अनुसार गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न प्राधिकरणले पहल गर्ने जानकारी दिए । कार्यकारी निर्देशक पौडेलले घर र कृषि तथा पशुपन्छी बीमामा जोड दिन र शाखा कार्यालयबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले गाउँपालिकाको भौगोलिक कठिनताका कारण बीमा गर्न धेरै टाढा जानुपर्ने बाध्यता रहेकाले गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न आग्रह गरे । कार्यक्रमहरूमा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारी तथा सहायक निर्देशक केदारनाथ भट्ट, बीमा कम्पनीका प्रतिनिधि, अगुवा कृषक, कृषि तथा पशु प्राविधिक, बीमा अभिकर्ता, संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।