प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा, समता शैक्षिक गुठीलाई दियो ५ लाख सहयोग
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स आज (मंसिर २८ गते) देखि स्थापनाको पाचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको हो । यो अवसरमा इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गुठीलाई उक्त सहयोग गरेको हो । समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा बुधबार एक कार्यक्रमबीच गुठीका कार्यकारी निर्देशक दिपक संजेललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका थिए । गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीले नेपालका ७७ जिल्ला भरी कूल ८४ विद्यालय संचालन गरिरहेको छ । गत वर्ष पनि कम्पनीले यसै गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलाई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो । यस गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक १००) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए ।
प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पुस २४ गते, बुक क्लोज कहिले ?
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले पुस २४ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न पन्ध्रौं साधारणसभा बोलाएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरणको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ७ गते नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका इन्स्योरेन्सका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
नेपालगञ्जमा ७ तल्ले व्यापारिक भवन बनाउँदै नेशनल लाईफ, ३५ करोडको लगानी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंजको सुर्खेत रोडमा ७ तल्ले भवन बनाउने भएको छ । इन्स्योरेन्सले करिब ३५ करोडको लगानीमा अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्न लागेको हो । इन्स्योरेन्सले नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको करिब साँढे चार कट्ठा जमिनमा भवन बनाउन लागेको हो । उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङ सहितको हुनेछ भने भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सो भवन आधुनिक प्रविधिसहित नेपालगञ्जकै नमूना भवनको रुपमा सम्पन्न हुनेछ । र, भवन निर्माणपछि नेपालगंज लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणसंग पूर्व स्वीकृत लिई भवन निर्माण शुरु गरेको हो । कम्पनीको जीवन बीमा कोषको आकार ५२ अर्ब रुपैयाँ बढीको छ । बीमा क्षेत्रमै बढी लगानीमा बन्न लागेको उक्त भवनको शिल्यान्स समेत भइसकेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मीले मंसिर २२ गते नै उक्त भवन निर्माणको औपचारिक शिल्यान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरुका कर्मचारीहरु लगायत सो क्षेत्रका अभिकर्ताहरुसहित करिब १०० जनाको उपस्थिति रहेको थियो ।