एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशत छुट दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीलेले बीमालेख नवीकरण गर्दा लाग्ने व्याजमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा ५० प्रतिशत व्याज मिनाहा गर्ने भएको हो । समयमा बीमाशुल्क भुक्तानी नगरेको अर्थात अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखमा ५० प्रतिशत व्याज छुट दिन लागेको हो । यससँगै बीमितले २०७९ फागुन १५ गतेदेखि चैत ३० गतेभित्र पुर्नजागरण गराएमा मात्रै उक्त छुट पाउने कम्पनीले जनाएको छ । यो छुट २०७७ फागुन १४ गतेदेखि व्यतित भएका बीमालेखहरुमा मात्रै पाइने छ । जसको लागि कम्पनीले विभिन्न तीन वटा शर्त राखेको छ । फागुन १४ गतेसम्ममा नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरुलाई मात्र ब्याज छुट दिइने छ । तर सो मितिभन्दा अघि परिपक्व हुने बीमालेखहरुमा भने यो छुट पाइदैन । त्यस्तै, जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भएपश्चात एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट नदिने कम्पनीले जनाएको छ ।
आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौं : मन्त्री गिरी
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्ने बताएका छन् । सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री गिरीले अहिलेको स्वास्थ्य बीमाभित्र देशभरका मानिसहरु समेटिन नसक्ने बताउँदै उनले सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको जानकारी दिए । ‘अहिलेको १ लाखकाे बीमाले केही हुँदैन, यसले कोही यहाँ आउँदैनन्, जस्तोसुकै दीर्घ रोग लागोस् त्यसको निःशुल्क उपचार हुनेगरी त्यसको आधार निर्माण गर्नुपर्छ, आउने आर्थिक वर्षको बजेटसम्म पुग्दा कम्तिमा ५ लाख सम्मको बीमा गर्नेगरी त्यसको आधार निर्माण गर्छौं,’ उनले भने । उनले स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भएपनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरु फर्किंदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताएका छन् ।
फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
काठमाडौं । मर्जर प्रकृयामा रहेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले आगामी फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । दुई कम्पनीले मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । दुबै कम्पनीले गत फागुन १ गतेदेखि नै एकीकृत कारोबार गर्ने गरी प्रकृया अघि बढाएका थिए । तर यो बीचमा परेको विभिन्न सार्वजनिक बिदासँगै कम्पनी रजिष्ट्रारको काम समयमै हुन नसक्दा एकीकृत कारोबारको मिति लम्बिन पुगेको कम्पनी श्रोतले बतायो । मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री रहने छन् । यता सञ्चालक समितिको अध्यक्ष र डीसीईओ भने हालसम्ममा तय भइ नसकेको कम्पनीले जनाएको छ । यो विषयमा एकीकृत कारोबार हुनुभन्दा अघि बस्ने सञ्चालक समितिको बैठकले निर्णय गर्ने जनाइएको छ । दुई कम्पनीबीच बराबरी हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो । सो अनुसार मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । मर्जरमा जानको लागि दुबै कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव समेत पारित गरिसकेको छ । उक्त सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश समेत पारित गरिसकेको छ । यससँगै प्रस्तावित ९ प्रतिशत बोनसपछि सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३९ करोड रुपैयाँ र १४.२५ प्रतिशत बोनसपछि प्रिमियरको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनीले गत असार २७ गतेनै एक आपसमा मर्ज हुन प्रारम्भिक सम्झौता गरेर मर्जरको प्रकृया अघि बढाएका थिए ।